कोरोना भाइरस: भारतमा क्वारन्टीनबाट मानिसहरू भाग्न थाले

हजारौँ मानिस फर्किएका छन् तर तिनलाई राखिएका क्वारन्टीन स्थलहरूको अवस्था खराब छ

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, हजारौँ मानिस फर्किएका छन् तर तिनलाई राखिएका क्वारन्टीन स्थलहरूको अवस्था खराब छ
    • Author, गीता पाण्डे
    • Role, बीबीसी न्यूज, दिल्ली

भारतमा सरकारले कोरोनाभाइरस सङ्क्रमण रोक्न 'लकडाउन' लागु गरेपछि शहरहरूबाट भागेर गाउँतिर पुगेका हजारौँ भारतीयहरू तिनलाई राखिएका क्वारन्टीन स्थलबाट भाग्न थालेका छन्।

उत्तर प्रदेश तथा बिहारजस्ता राज्यहरूमा त्यसरी फर्किएका आप्रवासीलाई राख्न सरकारी स्कुल तथा गाउँ परिषद्‌का भवनहरूमा क्वारन्टीन स्थल खडा गरिएका थिए।

तर तीमध्ये कैयन् स्थलमा आधारभूत सुविधा पनि उपलब्ध थिएनन्।

बिहारका केही क्वारन्टीन स्थलमा मानिसहरू रातिराति भाग्ने अनि दिउँसो फेरि नि:शुल्क भोजनका निम्ति फर्कने गरेको पाइएको छ।

उत्तर प्रदेश र बिहार भारतका सबैभन्दा धेरै जनसङ्ख्या भएकामध्येका दुई राज्य हुन्। ती दुई राज्यमा गरी ३५ करोड जनसङ्ख्या छ।

सघन बस्ती भएका यस्ता राज्यमा महामारी फैलियो भने भयङ्कर दुर्घटना हुने ठानिएको छ।

मानिसहरू किन गाउँतिर भागेका थिए?

यी राज्यका भारतकै अतिविपन्न वर्गमा पर्ने दशौँ लाख मानिसहरू दिल्ली, मुम्बई र कोलकाताजस्ता महानगरमा कामको खोजीमा पस्ने गर्छन्।

कैयन् मानिस गुजरात राज्यको कपडा तथा हिरा उद्योगमा काम गर्न पुगेका हुन्छन्।

जब प्रधानमन्त्री नरेन्द्र मोदीले मार्च २४ मा कोभिड-१९ को सङ्क्रमण रोक्न देशव्यापी 'लकडाउन' घोषणा गरे तब अचानक कामविहीन एवम् जीविकोपार्जनविहीन बन्न पुगेका लाखौँ मानिस शहरबाट भाग्न थाले।

क्वारन्टीन स्थल

तस्बिर स्रोत, Getty Images

हजारौँ मानिस घर फर्कन थालेपछि यी दुई राज्यले फर्किएकाहरूका निम्ति अनिवार्य १४ दिने क्वारन्टीनको घोषणा गरेका थिए।

स्कुल एवम् परिषद् भवनहरूलाई त्यस्ता मानिसहरूलाई राख्ने क्वारन्टीन बनाइयो।

अधिकांशलाई कोभिड-१९ का लक्षण परीक्षणपश्चात् घर फिर्ता पठाइयो।

के भइरहेका छन् क्वारन्टीन केन्द्रहरूमा?

विवरणहरूका अनुसार आफ्ना गाउँ छेउछाउमा खडा गरिएका क्वारन्टीन केन्द्रहरूबाट मानिसहरू या भागेका छन् या लुकीछिपी गाउँघर आउजाउ गरिरहेका छन्।

उत्तर प्रदेशका विभिन्न जिल्लाबाट त्यस्ता क्वारन्टीन उल्लंघनका विवरण आएका छन्। त्यहाँका स्थानीय पत्रकार तथा बासिन्दाले पनि त्यस्तै बताएका छन्।

प्रतापगढस्थित एकजना स्थानीय पत्रकार अमितेन्द्र श्रीवास्तवले उनको गाउँ बाबुपट्टिमा पाँचजना त्यसरी फर्किएका मानिस स्थानीय स्कुलमा रहेको क्वारन्टीन केन्द्रमा नबसेको जानकारी दिए।

गाउँलेहरूले यसबारे प्रहरी तथा कन्ट्रोल कक्षमा फोन गरेर बताउँदा कसैले ध्यान नदिएको भन्दै त्यसपछि पत्रकार भएको प्रभाव प्रयोग गरेर आफूले उच्च प्रशासनिक तथा स्वास्थ्य अधिकारीलाई जानकारी दिएको उनले बताए।

"तीस घण्टापश्चात् डाक्टरहरूको एउटा टोली गाउँमा तिनको परीक्षण गर्न आयो तर तिनलाई पछि घरमै बस्न दिइयो," उनले भने।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर
Presentational white space

कसको जिम्मेवारी?

"मानिसहरू क्वारन्टीन स्थलमै रहुन् भन्ने निश्चित गर्ने जिम्मा गाउँप्रमुखहरूलाई दिइएको छ तर उनीहरूसँग नियम लागु गराउन र मानिसहरूलाई भाग्न नदिन आवश्यक प्रहरी वा सुरक्षाकर्मी छैन," नोयडास्थित बीबीसी हिन्दीका समिर आत्मज मिश्राले बताए।

उनका अनुसार यसै वर्षको अन्त्यतिर उत्तर प्रदेशका गाउँमा चुनाव हुने भएकाले ती प्रमुखहरू कसैलाई चिढ्याउन चाहँदैनन्।

गत साता मानिसहरू भागेको विवरण आएपछि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले क्वारन्टीन स्थलबाट कोही भागेको पाइए उच्च प्रहरी तथा प्रशासनका अधिकृतलाई जिम्मेदार ठहर्‍याइने बताएका थिए।

त्यसैले केही दिन यता भागेकाहरूलाई खोज्न प्रहरी र प्रशासनले तदारुकता देखाएको छ।

क्वारन्टीन स्थल

तस्बिर स्रोत, Getty Images

तर पनि समस्या ज्यूँका त्यूँ छ।

छिमेकी बिहारमा 'लकडाउन'पश्चात् करिब एक लाख ८० हजार मानिस फर्किएको र तीमध्ये २७,००० लाई क्वारन्टीनमा राखिएको बताइएको छ।

तर विवरणहरूका अनुसार कोरोनाभाइरस सङ्क्रमण भएका आशङ्का गरिएकाहरू बारम्बार भागिरहेका छन्।

तिनले समुदायमा भाइरस सङ्क्रमण फैलाउने त्रास बढेको छ।

कैयन् गाउँप्रमुखहरूका अनुसार ती मानिस रातिराति घर जाने र दिउसो नि:शुल्क भोजनका निम्ति क्वारन्टीन स्थलमा फर्कने गरेका छन्।

किन भागिरहेका छन् मानिसहरू?

दुई दिन अगाडि उत्तर प्रदेशको बुलन्दशहर जिल्लास्थित केन्द्रबाट झ्याल फुटाएर १६ जना भागेका थिए।

महिला तथा शिशुसमेत रहेको उक्त समूहले आफूहरूलाई खाना नदिइएको गुनासोको भिडिओ बनाएका थिए।

केही घण्टापछि तिनलाई समातेर पुन: क्वारन्टीनमा राखिएको प्रहरीले बताएको छ।

भाग्नेहरूमध्ये धेरैले क्वारन्टीनमा भिडभाड भएको र सुविधा नभएको बताएका छन्। केहीले खाना नपाएको अनि केहीले साबुन र स्यानिटाइजर नपाएको गुनासो गरेका छन्।

केहीले भने फोहोर शौचालय र लामखुट्टेको गुनासो गरेका छन्।

बिहारस्थित पत्रकार अमरनाथ तिवारीले कैयन् केन्द्रहरूमा बिजुली, शौचालय र खाटजस्ता आधारभूत सुविधा नभएको अनि कैयन्‌मा झ्याल वा ढोका नभएको बताएका छन्।

साँझपरेपछि लामखुट्टेले सताएर बस्न नसकिने अवस्था हुने उनले बताए।

केही गाउँप्रमुखहरूले त्यस्तो अवस्थामा मानिसहरूलाई बसिरहन बाध्य पार्न नसकिने बताएका छन्।

तर घातक कोरोनाभाइरस बोकेका हुनसक्ने मानिसहरू त्यसरी खुला भागेका विवरणले चिन्ता बढाएको छ।

"मेरो गाउँमा कैयन् मानिस गुजरात र दिल्लीबाट फर्किएका छन्। उनीहरू क्वारन्टीनमा बसेका छैनन्। बजारतिर हिँडडुल गरिरहेका छन्," बिहारको राजधानी पटनाको बाहिरी भागमा बस्ने मनोज कुमारले बताए।

"कसैले पनि सामाजिक दूरीको ख्याल गरेका छैनन्। स्थानीय ब्याङ्कमा अनि तरकारी बजारमा भिड छ," उनले भने।

"यदि हामी जीवित छौँ भने त्यो सरकारको कदमले होइन, हाम्रो आफ्नै सजगताले हो," उनले बताए।