अमेरिका निर्वाचनः बर्नी स्यान्डर्सले अभियान त्यागेपछि डोनल्ड ट्रम्पको प्रतिद्वन्द्वीमा जो बाइडेन

तस्बिर स्रोत, Reuters
अमेरिकामा नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक पार्टीबाट उम्मेवार बन्ने प्रतिस्पर्धाबाट बर्नी स्यान्डर्स पछाडि हटेपछि रिपब्लिकन पार्टीबाट पुनः उम्मेदवार बन्न लागेका राष्ट्रपति डोनल्ड ट्रम्पको प्रतिद्वन्द्वीमा भूतपूर्व उपराष्ट्रपति जो बाइडेन हुने निश्चितजस्तै भएको छ।
बुधवार आफ्ना समर्थकहरूलाई ७८ वर्षीय स्यान्डर्सले पार्टीबाट उम्मेदवार बन्न आवश्यक मत प्राप्त गर्ने सम्भावित बाटो बाँकी नरहेको भन्दै आफ्नो निर्वाचन अभियान परित्याग गरेको घोषणा गरेका थिए।
प्रारम्भिक अभियानका बेला युवा मतदातामा रहेको आकर्षणका कारण स्यान्डर्स अगाडि देखिए पनि केही सातायता बाइडेनले उनलाई पछाडि पारेका थिए।
आफूलाई 'प्रजातान्त्रिक समाजवादी' भन्ने स्यान्डर्सले सबैका लागि स्वास्थ्यसेवा, सार्वजनिक कलेजमा नि:शुल्क शिक्षा, धनीहरूका लागि धेरै कर र न्यूनतम आयमा वृद्धिका विषयलाई आफ्नो चुनावी मुद्दा बनाएका थिए।
स्यान्डर्स सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा पनि उम्मेदवार बन्न खोजेका थिए तर हिलारी क्लिन्टनले उनलाई पराजित गरेकी थिइन्।
स्यान्डर्सले अभियान छोडेपछि अगस्टमा हुने डेमोक्र्याटिक पार्टीको अधिवेशनले ७७ वर्षीय बाइडेनलाई उम्मेदवार छान्ने अपेक्षा गरिएको छ। त्यसपछि उनले रिपब्लिकन पार्टीका ट्रम्पसँग निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन्।
इन्टरनेटमार्फत् गरिएको सम्बोधनमा स्यान्डर्सले निर्वाचन अभियान अन्त्य गर्नु धेरै गाह्रो र दुःखद भएको बताएका छन्।
"मैले उम्मेदवार हुन कुनै बाटो बाँकी देखेको भए म रोकिने थिइनँ," उनले भने।
उनले आफ्नो अभियानले अमेरिका कस्तो देश बन्न सक्छ भन्ने विषयमा जनमत फेरेको र देशमा कहिले नसकिने आर्थिक न्याय, सामाजिक न्याय, जातीय न्याय र वातावरणीय न्यायको सङ्घर्षमा देशलाई एक कदम अगाडि बढाएको बताए।

तस्बिर स्रोत, AFP via Getty Images
स्यान्डर्सले आफ्नो अभियानले ३० वर्षमुनिका मात्र नभई ५० वर्षमुनिका मानिसबाट पनि महत्त्वपूर्ण मत प्राप्त गरेको बताउँदै भने, "यो देशको भविष्य हाम्रो विचारसँग छ।"
स्यान्डर्सले बाइडेनलाई बधाई दिए र उनीसँग आफ्नो प्रगतिशील विचारहरू अगाडि बढाउन मिलेर काम गर्ने बताए।
"मिलेर र सँगै उभिएर हामीले अमेरिकी इतिहासकै सबैभन्दा खतरनाक राष्ट्रपति डोनल्ड ट्रम्पलाई पराजित गर्न सक्छौँ।"
स्यान्डर्सको घोषणाको केही बेरमा नै बाइडेनले ट्वीट गर्दै भने, "म बर्नीलाई राम्ररी चिन्छु। उनी राम्रा व्यक्ति हुन्, एक महान् नेता हुन् तथा देशमा परिवर्तनको लागि बोल्ने सबैभन्दा शक्तिशाली आवाज हुन्।"
उनले स्यान्डर्सले सबैभन्दा देशको स्वार्थ माथि राखेकोमा आभार व्यक्त गर्दै उनलाई सम्पर्क राख्ने बताए।
"म तपाईँलाई सुन्नेछु। तपाईँले भनेजस्तै 'म होइन, हामी'," बाइडेनले भने।
ट्रम्पले के भने?
ह्वाइट हाउसमा बुधवार राष्ट्रपति डोनल्ड ट्रम्पले किन बाइडेन उपराष्ट्रपति हुँदाका राष्ट्रपतिले उनलाई समर्थन नगरेको होलान् भनेर कटाक्ष गरे।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त
"राष्ट्रपति ओबामाले किन निन्द्रालु जोलाई समर्थन नगरेको भनेर मलाई अचम्म लाग्छ," उनले भने।
"यो भएको छैन। यो कहिले हुन्छ? यस्तो किन - उनलाई त्यो थाहा छ जुन तपाईँलाई थाहा छैन। मलाई लाग्छ मलाई थाहा छ, तर तपाईँलाई थाहा छैन।"
ओबामाले अहिलेसम्म कसैलाई पनि समर्थन गरेका छैनन्। तर अमेरिकी सञ्चारमाध्यमका अनुसार अब उनी बाइडेन र उनको अभियानलाई समर्थन गर्न इच्छुक छन्।
तर उनी अहिलेको अवस्थामा आफ्नो निर्णयले कोरोनाभाइरस समस्याबाट देशको ध्यान हटाउन चाहेका छैनन्।
यो पनि हेर्नुहोस्









