कोरोनाभाइरस: कोभिड-१९ फैलन नदिन नेपाल-भारत सीमामा यसरी हुँदैछ थप कडाइ

सुनौली
    • Author, नेत्र केसी
    • Role, बीबीसी न्यूज नेपाली

सशस्त्र प्रहरीले सीमाक्षेत्रमा दुइदेशीय आवतजावतमा थप कडाइ गर्नका लागि जाँच चौकीहरूबीचको दूरी घटाउने तयारी भइरहेको जनाएको छ।

कोरोनाभाइरसको विश्वव्यापी महामारीबीच देश भित्रनमा लगाइएको रोक र बन्दाबन्दीको अवज्ञा गर्दै भारतबाट मानिसहरू नेपाल प्रवेश गरिरहेका विवरणहरू सार्वजनिक भइरहेका बेला सीमा सुरक्षाको जिम्मेवारी पाएको सुरक्षा बलका एक बरिष्ठ अधिकारीले सम्भावित कडाइबारे बोलेका हुन्।

शिक्षालय एवम् तालिम केन्द्रमा मौजुद सुरक्षाकर्मी प्रयोग गरेर त्यस्ता अस्थायी जाँच चौकीहरू स्थापना गरिनेछन्।

कतिपय अधिकारवादी संस्थाहरूले भने सीमामा रोकिएका नेपालीहरूलाई आफ्नै देशमा ल्याएर क्वारन्टीनमा राख्न सरकारलाई आग्रह गर्दै आएका छन्।

कस्तो कडिकडाउ?

अहिले भारततर्फका सीमामा झन्डै १५ किलोमिटरको दूरीमा दुईवटा सुरक्षा विन्दुहरू रहेकोमा अब त्यसलाई २ देखि ३ किलोमिटरमा झार्नेगरी काम भैरहेको अधिकारीहरूको भनाइ छ।

सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी प्रविणकुमार श्रेष्ठ भन्छन्: "त्यस्तो थप मद्दतका लागि हामीले दुई हजार तीन सयको हाराहारीमा शिक्षालय, तालिम केन्द्र र गणहरुमा रहेका सशस्त्र प्रहरी परिचालन गरेका छौँ।"

सोमवार ती सुरक्षाकर्मीहरू सीमाका जिल्लाहरूमा पुगिसकेको बताइएको छ।

र त्यहाँ उनीहरूले आवश्यकता मूल्याङ्कन गरेर अस्थायी चौकीहरूको सङ्ख्या निक्यौल गर्नेछन्।

नाका
तस्बिरको क्याप्शन, सीमा क्षेत्रमा लकडाउनभन्दा अगाडि नेपाल प्रहरीको १२२ जाँचविन्दूहरू रहेकोमा त्यसयता भने १८६ थप गरिएका छन्।

प्रवक्ता श्रेष्ठ थप्छन्: "सशस्त्रका मात्र ६ सयभन्दा बढि सङ्ख्यामा त्यस्ता चौकीहरू सीमाभर स्थापना हुनेछन्।"

नेपाल प्रहरीले समेत आफ्नो सुरक्षा संयन्त्रलाई विस्तार गरेको र सीमाक्षेत्रमा गस्ती बढाएको बताएको छ।

नेपाल प्रहरीको सीमा क्षेत्रमा लकडाउनभन्दा अगाडि १२२ जाँचविन्दुहरू रहेकोमा त्यसयता भने १८६ थप गरिएका छन्।

प्रहरी प्रवक्ता एसएसपी उमेशराज जोशी भन्छन्: "जाँचविन्दुभन्दा पर समेत गस्तीलाई निकै बढाइएको छ। हामीले सशस्त्र प्रहरीसँग समन्वय गरेर त्यस्ता चौकी राखेका हौँ।"

आवश्यकता

नेपाल सरकारले सीमासम्म आइपुगेका नेपाली नागरिकहरुलाई लकडाउनको अवधिभर भारतमै बस्ने, खाने व्यवस्था गरिएको भन्दै उनीहरुलाई त्यहीँ बस्न आग्रह गर्दै आएको छ।

तर कोही नदीमा हाम फालेर त कोही सुरक्षाकर्मी अनुपस्थित रहने अनौपचारिक विन्दुबाट नेपाल पसिरहेका विवरणहरु सार्वजनिक भैरहेका छन्।

सीमा

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, लकडाउन सुरु भएपछि सशस्त्र प्रहरीले दुई हजार तीन सयको हाराहारीमा शिक्षालय, तालिम केन्द्र र गणहरुमा रहेका सुरक्षाकर्मीलाई सीमामा खटाएको छ।

यसरी नाकाबाट आएकाहरू राज्यको सम्पर्कमा नआउने र उनीहरु कोरोनाभाइरस सङ्क्रमण फैलाउने माध्यम बन्न सक्ने चिन्ता सरकारी अधिकारीहरूको छ।

तर हालै एक रिट निवेदनमा अन्तरिम आदेश सुनाउँदै सर्वोच्च अदालतले स्वदेश फर्कन चाहनेहरूलाई 'सकेसम्म फर्काउन र क्वारन्टीनमा राख्न' भनेको थियो।

सीमामा कति छन्?

सरकारी तथ्याङ्क अनुसार नेपाल-भारत सीमा क्षेत्रमा अहिले २,१४७ जना नेपाली प्रवेश नपाएर रोकिएका छन्।

अधिकारकर्मीले उनीहरूलाई त्यहाँ राख्नु अधिकारको हनन् भन्दै नेपालमा आउन दिएर क्वारन्टीनमा राख्ने व्यवस्था गर्न सरकारलाई आग्रह गर्दै आएका छन्।

भारत
तस्बिरको क्याप्शन, महाकालीपारि झण्डै एक हजार नेपाली कामदारलाई भारतीय पक्षले नै खाने बस्ने व्यवस्थापन गरिदिएको छ

जसमा सरकार लचिलो हुने सङ्केत अहिलेसम्म देखिएको छैन।

तेस्रो सातामा लकडाउन लम्बिरहेका बेला मङ्गलवार एक सम्बोधनमार्फत् प्रधानमन्त्री केपी ओलीले देशमा अझै जोखिम कायम रहेको बताएका थिए।

उनको भनाइ थियो: "आउने दुई साता सायद हाम्रा लागि थप चुनौतिपूर्ण हुन सक्छन्। यो अवधि कोरोनाभाइरसको लक्षण प्रकट हुने अवधि मात्रै होइन, समुदायमा फैलिने उच्च जोखिमको अवधि पनि हो।"

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर