कोरोनाभाइरस: विदेशीको आवागमन नियन्त्रण गर्ने नेपालको निर्णयपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५३ जना विदेशी फिर्ता

नेपाल विमानस्थल

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, सन् २०१९ मा दैनिक औसतमा ११ हजारभन्दा बढी यात्रुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग गरेका थिए

कोरोनाभाइरसको जोखिम न्यूनीकरणका लागि अध्यागमन नियन्त्रण गर्ने सरकारले निर्णय लिएयता ५३ जना विदेशीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता पठाइएको अधिकारीहरूले बताएका छन्।

त्यसरी फिर्ता हुनेमध्ये ४४ जनालाई स्वाब टेस्टको प्रमाणपत्र नल्याएको कारण र नौ जनालाई 'अन अराइभल भिसा' अर्थात् नेपाल प्रवेश गरेपछि तत्कालै प्रवेशाज्ञा नदिने सरकारी निर्णयका कारण फिर्ता गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यलयका प्रमुखले बीबीसीलाई बताए।

शनिवार मध्यरातबाट लागु हुने गरी नेपाल सरकारले विदेशीहरूलाई 'अन अराइभल भिसा' नदिने र नेपाल प्रवेश गर्नका लागि स्वास्थ्य प्रमाणपत्र पेश गर्नुपर्ने निर्णय गरेको थियो।

उक्त निर्णय भएयता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आउने विदेशीहरूको सङ्ख्या ह्वातै घटेको छ र नेपाल प्रवेश गरेका केही सय विदेशीमध्ये अधिकांश भारतीय नागरिक छन्।

विमानस्थलबाटै फिर्ता

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका प्रमुख सागर आचार्यका अनुसार मार्च १५ देखि कार्यान्वयन भएको नयाँ व्यवस्था पालना नगरेका ५३ जनालाई विमानस्थलबाट फिर्ता गरिएको छ।

उनले स्वाब टेस्टको प्रमाणपत्र नल्याएकोमा विमानस्थलबाट फिर्ता गरिएका ४४ विदेशी नागरिक चीन, इटली, हङ्‌कङ, जापान, फ्रान्स, अस्ट्रेलिया, ब्रिटेन, अमेरिका, मेक्सिको, इजरेल र भुटानका रहेको बताए।

त्यसैगरी अन अराइभल भिसा नदिने निर्णय अनुसार द नेदरल्याण्ड्स, चीन, फ्रान्स, इजरेल, चेक गणतन्त्र र ब्रिटेनका नागरिकलाई फिर्ता गरिएको उनले उल्लेख गरे।

अन्तर्राष्ट्रिय विमानस्थल

तस्बिर स्रोत, Reuters

आचार्य भन्छन्, "कतिपयलाई सम्बन्धित वायुसेवाले नै फर्काएको देखिन्छ। जुन फ्लाइटबाट आएको हो त्यसैमा हामी फर्काउन सक्छौँ। कतिपयले चाहिँ आफैँ टिकट काटेर गएका छन्।

न्यून आगमन

मार्च १५ यता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत्‌ बुधवारसम्म तेस्रो देशबाट १७४ जना र भारतबाट ६०६ जना नेपाल आएका उनले बताए।

बुधवार अन्तर्राष्ट्रिय विमानस्थलमार्फत्‌ अन्तराष्ट्रिय विमानका चालक दलका सदस्यसहित जम्मा २२ जना मात्रै यात्रु नेपाल भित्रिएका थिए।

भारतबाट नेपाल आउने र नेपालबाट भारत जाने यात्रुका हकमा भने स्वास्थ्य जाँचको प्रमाणपत्र हालसम्म हेर्ने व्यवस्था लागु नगरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका प्रमुख आचार्य बताउँछन्।

यसअघि अधिकारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन कक्षबाट सन् २०१९ मा दैनिक औसतमा ११ हजारभन्दा बढी यात्रुहरूको आवतजावत हुने बताएका थिए।

त्यसमध्ये दैनिक ६ हजारभन्दा बढी नेपालबाट बाहिरिने र ५ हजार १ सयभन्दा बढी नेपाल भित्रिने गरेको जनाइएको थियो।

कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

स्वयं क्वारान्टीनबारे प्रश्न

कोरोनाभइरस

तस्बिर स्रोत, Reuters

गत शुक्रवार जारी गरिएको सूचनामा अध्यागमन विभागले मार्च १४ तारिखबाट नेपाल भित्रिने विदेशीहरूले दुई सातासम्म स्वयं क्वारान्टीनमा बस्नुपर्ने भनेको थियो।

तर त्यसको कार्यान्वयन र अनुगमनको ताजा अवस्थालाई लिएर प्रश्नहरू उठिरहेका छन्।

अध्यागमन विभागका निर्देशक रामचन्द्र तिवारी भन्छन्, "नेपाल आउनेहरूको सङ्ख्या दैनिक २० जना/३० जनामा घटेको छ, स्वास्थ्य प्रमाणपत्र नभएसम्म वायुसेवाले नै विमान चढ्न दिइरहेका छैनन्।"

"स्वयं क्वारान्टीनको विषयमा पनि हामीले एउटा सम्झौता गरेर पठाउने गरेका छौँ जसमा विदेशीहरूले म बस्छु भनेर प्रतिबद्धता जनाएका छन्। त्यो एउटा विश्वास हो। यदि कसैले नगरेको भए के भएको छ भन्नेबारे म आश्वस्त पार्न सक्दिनँ।"

सरकारले शुक्रवार मध्यरातिबाट लागु हुने गरी १५ एप्रिलसम्म युरोपका सबै मुलुक, पश्चिम एशिया लगायत खाडी देशहरू इरान, टर्की, मलेशिया तथा दक्षिण कोरिया र जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाई अन्य जुनसुकै मुलुकबाट आउने सबै यात्रुको नेपाल आगमनमा प्रतिबन्ध लगाउने निर्णय बुधवार गरेको थियो।