कोरोनाभाइरस: नेपाल-भारत नाकामा कतै कडाइ, कतै बेवास्ता

नेपाल-भारत सीमा नाका

तस्बिर स्रोत, Umakanta Khanal/BBC

तस्बिरको क्याप्शन, नेपालको पूर्वी नाका काँकडभिट्टामा ज्वरो मापन गरिँदै

भारतले आइतवारदेखि लागु हुनेगरी नेपालसँगको सीमामा चारवटा नाकाबाट मात्र यात्रुहरूको आवतजावत हुन दिने निर्णय गरेपछि तिनमा उच्च सतर्कता अपनाइएको नेपाली अधिकारीहरूले बताएका छन्।

नेपाल-भारत सीमाका विभिन्न नाका पुगेका बीबीसी संवाददाताहरूका अनुसार आवतजावत खुला रहेका नाकामा शरीरको तापक्रम नापेर मात्र मानिसहरूलाई आवतजावत गर्न दिइएको छ।

त्यस्तै बन्द गरिएका भनिएका केही नाकामा पनि मानिसहरूको आवतजावत नरोकिएको पाइएको बीबीसी संवाददाताहरूले जनाएका छन्।

भारतको गृह मन्त्रालयले शनिवार राति एउटा सूचना जारी गर्दै नेपाल र भारतबीचका चारवटा नाकाबाट मात्र मानिसहरूको आवतजावत हुन दिने जनाएको थियो।

उक्त सूचनाअनुसार रानीगन्ज (काँकडभिट्टा), रक्सौल (वीरगन्ज), सुनौली (भैरहवा) र बनबासा (महेन्द्रनगर) बाट मात्र मानिसहरूले आवतजावत गर्न पाउनेछन्।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

भारतले तोकिएकाबाहेक नेपाल, बाङ्ग्लादेश र म्यान्मारसँगका अन्य नाका आइतवार र पाकिस्तानसँगका नाका सोमवारदेखि मानिसहरूका लागि बन्द गर्ने निर्णय गरेको हो।

भारतमा अहिलेसम्म १०२ जनामा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको छ। तीमध्ये दुई जनाको मृत्यु भइसकेको छ।

के छ काँकडभिट्टा नाकाको अवस्था?

मानिसको आवतजावतका लागि खुला राखिएको नेपालको पूर्वी नाका काँकडभिट्टा पुगेका बीबीसीका झापा संवाददाता उमाकान्त खनालका अनुसार त्यहाँ दुवै पक्षले उच्च सतर्कता अपनाइएको पाइएको छ।

भारतबाट नेपाल आउँदा र नेपालबाट भारत जाँदा दुवै देशका सीमामा तापक्रम अनिवार्य नापेर मात्र आवागमन गराउन थालिएको छ।

भारत तथा अन्य देशबाट आउने सामान ल्याउने सवारीसाधनको सङ्ख्या ह्वात्तै घटेको छ।

त्यसले गर्दा भन्सार कार्यालयका कर्मचारीलाई समेत भारतबाट नेपाल आउने मानिसहरूको ज्वरो नाप्नका लागि व्यवस्था मिलाउन खटाउन लागिएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले जानकारी दिएका छन्।

भारतबाट नेपाल आउने मानिसहरूलाई अनिवार्य तापक्रम नाप्न लगाउन प्रहरी खटाइएको छ।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

सशस्त्र प्रहरीको राजस्व गस्ती तथा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरीहरूले ज्वरो नाप्नका मानिसहरूलाई मेचीनगर नगरपालिकाले स्थापना गरेको हेल्थ डेस्क पठाउने गरेका छन्।

प्रमुख जिल्ला अधिकारी रानाले भने, "हामीसँग अहिले भएका स्रोत परिचालन गरेर सकेसम्म कोरोनाभाइरस छिर्न नदिनका लागि खटिएका छौँ। बढी तापक्रम देखिए हामी सीधै आइसोलेशनमा पठाउँछौँ।"

नेपाल-भारत सीमा नाका

तस्बिर स्रोत, Umakanta Khanal/BBC

तस्बिरको क्याप्शन, काँकडभिट्टामा तापक्रम नाप्न लागेको भिड

कसरी जाँचिन्छ तापक्रम?

नाकामा स्वास्थ्य सहायता कक्ष भए नि पर्याप्त स्रोत र जनशक्ति नहुँदा तापक्रम नाप्नेहरूको भिड लाग्ने गरेको छ।

तर एक पटकमा दुईजना मात्र स्वास्थ्यकर्मी काममा खटेको देखिन्छ।

सामान्य एप्रन, चस्मा र सर्जिकल पन्जा लगाएर उनीहरूले थर्मल स्क्यानरबाट तापक्रम (ज्वरो) नाप्ने गरेका छन्।

तर पर्याप्त स्वास्थ्य उपकरण र सामग्रीहरू नपाइएको गुनासो स्थानीय सरकारका अधिकारीहरूले गरेका छन्।

मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले प्रदेश सरकारलाई गुहार्दा पनि समस्या समाधान नभएको बताइन्।

उनले भनिन्, "तर हामी व्यवस्थित गर्दै लान्छौँ।"

के छ विराटनगर नाकाको स्थिति?

नेपाल-भारत सीमा नाका

तस्बिर स्रोत, Bikram Niraula/BBC

तस्बिरको क्याप्शन, विराटनगर-जोगबनी नाकामा मानिसहरू निर्वाध रूपमा आवतजावत गरिरहेका छन्

विराटनगरस्थित बीबीसी संवाददाता विक्रम निरौलाका अनुसार भारतले मानिसहरूको आवागमन बन्द गरेको भनिए पनि उक्त नाकामा निर्वाध रूपमा मानिसहरू आवतजावत गरिरहेका छन्।

उनका अनुसार विराटनगर-जोगबनी नाकामा मानिसहरूको चहलपहल पहिलेभन्दा कम देखिए पनि आवतजावत रोकिएको छैन।

जोगबनीतर्फ भारतीय भूमिमा समेत पुगेर फर्किएका निरौलाका अनुसार सीमाका दुवैपट्टि राखिएका स्वास्थ्य सहायताकक्षमा आवातजावत गर्ने सबैको अनिवार्य स्वास्थ्य परीक्षण गरिएको छैन।

नेपालतर्फको स्वास्थ्य सहायता कक्षमा रहेका स्वास्थ्यकर्मीहरूका अनुसार रेलबाट यात्रा गरेर आउनेहरूलाई मात्र अनिवार्य ज्वरो नाप्ने गरिएको छ।

मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले चाहिँ भारतले उक्त नाकाबाट मानिसहरूको आवतजावत रोकेको भन्ने खबर सुने पनि आधिकारिक जानकारी नआएकाले कडाइ नगरिएको बताएका छन्।

उनले तेस्रो मुलुकका नागरिकका हकमा भने आवतजावत रोकिएको तर भारतीय र नेपालीका हकमा त्यो लागु नभएको बीबीसीलाई बताएका छन्।

के छ वीरगन्ज नाकाको स्थित?

वीरगन्जस्थित बीबीसी संवाददाता माधुरी महतोका अनुसार वीरगन्ज नाकामा बिहान ४ बजेदेखि राति १२ बजेसम्म आवतजावत गर्ने मानिसहरूको ज्वरो नाप्ने गरिएको छ।

उक्त नाकाबाट नेपाल प्रवेश गर्ने भारतीय र नेपाली दुवैलाई ज्वरो नापेर मात्र छाड्ने गरिएको वीरगन्ज महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख अरुणकुमार महतोले बताए।

नेपाल-भारत सीमा नाका

तस्बिर स्रोत, Madhuri Mahato/BBC

तस्बिरको क्याप्शन, वीरगन्ज नाकामा खटिएका स्वस्थ्यकर्मीहरूले पर्याप्त उपकरण र मास्कको अभाव रहेको गुनासो गरेका छन्

उक्त नाकाबाट दैनिक १०,००० भन्दा बढी मानिस नेपाल प्रवेश गर्ने गरेका छन्।

नाकामा आलोपालो काम गर्न सात स्वास्थ्यकर्मी खटाइएको छ।

धेरै मानिसहरूको आवतजावत हुने तर एक पटकमा दुई स्वास्थ्यकर्मीले मात्र तापक्रम नाप्नुपर्दा समस्या भएको स्वास्थ्यकर्मीले गुनासो गरेका छन्।

त्यस नाकामा खटिएका स्वास्थ्यकर्मीले पनि मास्क र अन्य उपकरणको अभाव रहेको बताए।

बीबीसी संवाददाता महतोले आइतवार दिउँसो उक्त नाकाबाट सवारीसाधन चढेर नेपाल प्रवेश गरेका कतिपय मानिसको तापक्रम नजाँचिएको देखिन्।

कतिपयले भने ज्वरो नाप्न अस्वीकार गर्ने गरेकाले प्रहरीले दबाव दिएरै भए पनि जाँच गराउने गरेको सुरक्षाकर्मीहरूले बताए।

केहीले भने विभिन्न पहुँचका आधारमा चेकजाँच नै गर्न नमानेको सीमामा खटिएका सुरक्षाकर्मीले बीबीसीलाई बताएका छन्।

के देखियो भैरहवा नाकामा?

भैरहवा-सुनौली नाकामा भने भारतले दशगजा क्षेत्रमै जाँचकेन्द्र राखेर नेपालबाट भारततर्फ जानेहरूको जाँच गर्न थालेको बीबीसी संवाददाता माधव नेपालले जनाएका छन्।

यसअघि नाकाभन्दा एक किलोमिटर टाढाको जाँचकेन्द्रमा मात्र मानिसहरूको ज्वरो नाप्ने गरिएको थियो।

नेपाल-भारत सीमा नाका

तस्बिर स्रोत, Madav Nepal/BBC

तस्बिरको क्याप्शन, भैरहवा नाकाको दशगजा क्षेत्रमै भारतले स्वास्थ्य जाँचकेन्द्र राखेको छ

शनिवारदेखि नेपालबाट सुनौलीतर्फ किनमेलका लागि जाने नेपालीहरूको पनि तापक्रम अनिवार्य रूपमा नाप्न थालिएको छ।

स्थानीयवासी मधु पन्थीका अनुसार ज्वरो नाप्न नमान्नेहरूलाई भारतीय अधिकारीहरूले सुनौलीतर्फ जान दिएका छैनन्।

नेपालतर्फ पनि स्वास्थ्य सहायताकक्ष राखिएको छ।

उक्त कक्षबाट नेपाल भित्रने भारतीय र नेपालीहरूलाई पनि अनिवार्य रूपमा ज्वरो नाप्ने गरिएको अध्यागमन कार्यालय बेलहिया प्रमुख गिरिराज खनालले बीबीसीलाई बताए।

उक्त कक्षमा अहिले थर्मल स्क्यानर पनि राखिएको छ।

मालवाहक सवारीसाधनहरू बिनारोकतोक आइरहेको अधिकारीहरूले बताएका छन्।

के हुँदैछ नेपालगन्जमा?

नेपालगन्जस्थित बीबीसी संवाददाता विमला चौधरीका अनुसार भारतले मानिसहरूको आवतजावतमा बन्देज लगाएको उक्त नाकामा पनि आवतजावत जारी रहेको छ।

आइतवार दिउँसो उक्त नाका पुगेकी चौधरीका अनुसार दुवैतर्फ स्वास्थ्य सहायताकक्षहरू राखिएका छन्।

नेपाल-भारत सीमा नाका

तस्बिर स्रोत, Bimala Chaudhary/BBC

तर नेपालतर्फ भने भारतमा काम गरेर फर्किएकाहरूलाई मात्र जाँच गर्ने गरिएको छ।

किनमेल गर्न जाने र आउनेहरूको ज्वरो पनि मापन गरिएको छैन। यसैबीच दुवैतर्फका सीमा अधिकारीहरूको बैठक बसेको छ।

सीमा अधिकारीहरूको नियमित बैठक भए पनि यसपाली नाकामा अनपाउनु पर्ने सतर्कताबारे छलफल भएको छ।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले नियमित बैठक भए पनि कोरोनाभाइरसबारे छलफल भएको बताए।

के छ सुदूरपश्चिमका नाकाको स्थिति?

धनगढीस्थित बीबीसी संवाददाता उमीद बागचन्दका अनुसार सुदूरपश्चिमका साना र ठूला सबै नाकाहरूमा खासै सतर्कता अपनाइएको छैन।

नेपाल-भारत सीमा नाका

तस्बिर स्रोत, Umid Bagchand/BBC

भारतले बनबासा (महेन्द्रनगर) नाकाबाट मात्र आवतजावत गर्न दिने भने पनि अन्य नाकाहरूबाट पनि मानिसहरूको आवतजावत जारी छ।

अधिकारीहरूका अनुसार कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, बेलौरी‚ बैतडीको झुलाघाट र दार्चुला खलङ्गामा मानिसहरूको तापक्रम नाप्ने व्यवस्था मिलाइएको छ।

अन्य साना नाकामा आवतजावत जारी रहेको र खासै सतर्कता नअपनाइएको पाइएको छ।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले अनुसार मुख्य नाकामा स्वास्थ्यकर्मी सहितको सहायताकक्ष राखेर नियमित ज्वरो नापिएको बताएका छन्।

राष्ट्रिय समाचार समितिका अनुसार कञ्चनपुरको भीमदत्तनगरबाट सञ्चालन हुँदै आएको नेपाल-भारत मैत्री बससेवा आइतवारदेखि बन्द भएको छ।

भारतको उत्तराखण्ड प्रदेशले कोरोनाभाइरस महामारीको कारण देखाउँदै बस सञ्चालन नगर्न अनुरोध गरेपछि सेवा बन्द गरिएको महाकाली यातायातका अध्यक्ष डम्बर पन्तले राससलाई बताएका छन्।