कोरोनाभाइरस: महामारी नियन्त्रण गर्न स्पेनमा सङ्कटकाल, फ्रान्समा थप प्रतिबन्ध

प्यारिस्थित आईफल टावर बन्द भएको छ

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, प्यारिस्थित आईफल टावर बन्द भएको छ

युरोपका दुई ठूला राष्ट्र स्पेन र फ्रान्सले इटलीको अनुसरण गर्दै कोरोनाभाइरस महामारी अझ फैलिन नदिने उद्देश्यले आपत्कालीन प्रतिबन्धहरू लागु गरेका छन्।

स्पेनले सर्वसाधारण नागरिकहरूलाई अत्यावश्यक सामग्री र औषधि किन्न वा काममा जाँदाबाहेक घरबाहिर निस्किन प्रतिबन्ध लगाएको छ।

स्पेनमा अहिलेसम्म १९१ जनाको कोरोनाभाइरस सङ्क्रमण अर्थात् कोभिड-१९ बाट मृत्यु भइसकेको छ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले युरोप अहिले कोरोनाभाइरस महामारीको केन्द्रबिन्दु बनेको जनाएको छ।

महामारीबाट सर्वाधिक प्रभावित देशमध्ये इटलीपछि स्पेन आउँछ।

फ्रान्समा ९१ जनाको मृत्यु भएको छ। त्यहाँ क्याफे, रेस्टुराँ, चलचित्रघर र अधिकांश पसलहरू बन्द भएका छन्।

इटलीमा १,४४० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ। सोमवारदेखि त्यहाँ देशव्यापी प्रतिबन्ध लागु गरिएको छ।

मड्रिड

तस्बिर स्रोत, Getty Images

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले महामारी नियन्त्रण गर्न आक्रामक कदम चाल्न, समुदायलाई परिचालन गर्न र मृत्यु हुन नदिन मानिसहरूबीच दूरी कायम राख्न आग्रह गरेका छन्।

यूकेमा २४ घण्टामा मृत्यु हुने मानिसको सङ्ख्या दोबर भएको छ। अहिलेसम्म त्यहाँ २० जनाको मृत्यु भएको पुष्टि भएको छ।

दुई सय जनाभन्दा बढी वैज्ञानिकहरूले सरकारलाई महामारी नियन्त्रण गर्न कडा उपायहरू अवलम्बन गर्न आग्रह गरेका छन्।

कोरोनाभाइरस सङ्क्रमणको उद्गमस्थल मानिएको चीनमा स्थानीय मानिसमा भन्दा बाहिरबाट आउने मानिसमा सङ्क्रमण बढी देखिन थालेको छ।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

स्पेनमा कस्ता उपाय?

चार करोड ६७ लाख जनसङ्ख्या भएको स्पेनमा ६,३०० जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएको छ।

शनिवार राति प्रधानमन्त्री पेद्रो सान्चेजी पत्नी बेगोना गोमेजलाई पनि सङ्क्रमण भएको पुष्टि भयो।

प्रधानमन्त्री सान्चेज र पत्नी गोमेज

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, प्रधानमन्त्री सान्चेज र पत्नी गोमेज

सरकारका अनुसार दुवै जना मड्रडस्थित प्रधानमन्त्रीको निवासमा बसिरहेका छन् र उनीहरू अवस्था ठिकै छ।

शुक्रवार साँझ थप १,८०० जनामा सङ्क्रमण भएको पुष्टि भयो।

तीमध्ये अधिकांश मानिस राजधानीमा छन्।

स्पेनमा खाद्यपदार्थ तथा अन्य दैनिक उपभोग्य वस्तु बेच्ने पसल खुला रहनेछन्

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, स्पेनमा खाद्यपदार्थ तथा अन्य दैनिक उपभोग्य वस्तु बेच्ने पसल खुला रहनेछन्

सङ्कटकाल घोषणा भएकाले सरकारले नागरिकहरूलाई आवश्यक उपभोग्य सामग्री र औषधि किन्न वा काममा जानबाहेक घरबाहिर निस्किन प्रतिबन्ध लगाएको छ।

सबै सङ्ग्रहालय, सांस्कृतिक केन्द्र, खेलकुदस्थल बन्द हुनेछन्। रेस्टुराँ र क्याफे होम डेलिभरी मात्र गर्न पाउनेछन्।

ब्याङ्क र इन्धन भर्ने स्टेशनहरू खुला रहनेछन्। देशभरि विद्यालयहरू बन्द भइसकेका छन्।

प्रधानमन्त्रीले सबैलाई आफ्ना सैद्धान्तिक मतभिन्नतालाई बिर्सेर एकजुट हुन र नागरिकलाई प्राथमिकता दिन आह्वान गरेका छन्।

सङ्कटकाल दुई हप्ताका लागि लगाइएको हो। आवश्यक परे संसद्को स्वीकृतिमा लम्बिन सक्छ।

स्पेनमा सन् १९७५ मा राजनीतिक परिवर्तन सुरु भएयता दोस्रो पटक सङ्कटकाल लगाइएको हो। पहिलो पटक सन् २०१० मा हवाई सेवामा कार्यरत एअर ट्राफिक कन्ट्रोलरहरूले हडताल गरेको बेला लगाइएको थियो।

फ्रान्समा के हुँदैछ?

झन्डै छ करोड ३५ लाख जनसङ्ख्या भएको फ्रान्समा ४,४०० जनाभन्दा बढी मानिसमा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको छ।

प्रधानमन्त्री इन्वार फीलीपले कोभिड-१९ का कारण सघन उपचार गराउनुपर्ने बिरामीको सङ्ख्या दिनानुदिन बढिरहेको बताएका छन्।

शनिवार रातिदेखि फ्रान्समा रेस्टुराँ, क्याफे, चलचित्रघर र रात्रिक्लब तथा अत्यावश्यकबाहेकका व्यवसायहरू बन्द भएका छन्।

तर खाद्यपदार्थ बेच्ने पसल, औषधि पसल, ब्याङ्क, चुरोट पसल र इन्धन बेच्ने स्थानहरू भने खुल्नेछन्।

प्रधानमन्त्री फीलीपले सकेसम्म कम यात्रा गर्न आग्रह गरेका छन्।

उनले महामारीको गतिलाई सुस्त बनाउन मानिसहरूबीच दूरी घटाउनुपर्ने सुझाव दिएका छन्।

तर पूर्वनिर्धारित योजनाअनुसार आइतवार स्थानीय निर्वाचन हुने उनले बताए।

धार्मिक स्थलहरू खुला रहनेछन् तर तिनमा भेला र अन्य समारोह स्थगित गरिएको छ।

सोमवारदेखि देशैभरि विद्यालयहरू बन्द हुनेछन्।

फ्रान्समा शनिवार सङ्क्रमित व्यक्तिको सङ्ख्या ३,६६२ बाट ह्वात्तै बढेर ४,४९९ पुग्यो तथा १२ जनाको मृत्यु भयो।

फ्रान्समा अहिलेसम्म कुल ७९ जनाले कोभिड-१९ का कारण ज्यान गुमाएका छन्।

Presentational grey line

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, रोगबाट जोगिन हात मात्र हैन, फोन पनि सफा गर्नुपर्छ