कोरोनाभाइरस: भारतमा कोभिड-१९ बाट पीडित एक व्यक्तिको मृत्यु भएको पुष्टि

भारतले मास्क निर्यातमा रोक लगाएको छ

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, भारतले मास्क निर्यातमा रोक लगाएको छ

भारतमा कोरोनाभाइरस सङ्क्रमण भएका एक व्यक्तिको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

मृत्यु हुने व्यक्ति दक्षिण भारतको कर्नाटक राज्यका एक ७६ वर्षीय पुरुष हुन्।

उनी साउदी अरबमा एक महिना बसेर फेब्रुअरी २९ मा स्वदेश फर्किएका थिए।

राज्यका स्वास्थ्यमन्त्रीका अनुसार ती व्यक्तिको सम्पर्कमा आएका सबै मानिस पत्ता लगाउने र तिनलाई क्वारन्टीनमा राख्ने प्रयास भइरहेको छ।

कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

भारतमा अहिलेसम्म ७३ जनामा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको सरकारले जनाएको छ।

ती वृद्धको मृत्यु मङ्गलवार भएको थियो। तर उनको परीक्षणको प्रतिवेदन बिहीवार सार्वजनिक गरियो।

अधिकारीहरूका अनुसार साउदी अरबबाट फर्किँदा विमानस्थलमा उनलाई जाँचिएको थियो। तर त्यति बेला उनमा कोभिड-१९ का कुनै लक्षण देखिएको थिएन।

तर एक हप्तापछि अर्थात् मार्च ५ मा उनमा श्वासप्रश्वाससम्बन्धी समस्या देखा पर्‍यो। त्यसपछि उनलाई अस्पताल लागियो।

भारतको स्थिति के छ?

भारतले कोरोनाभाइरस सङ्क्रमणको प्रकोप नियन्त्रण गर्न विभिन्न उपायहरू अवलम्बन गरेको छ।

भारत

तस्बिर स्रोत, Getty Images

बुधवार राति प्रकाशित सूचनाअनुसार शुक्रवारदेखि लागु हुनेगरी अधिकांश प्रवेशाज्ञा स्थगित गरिएको छ। एक महिनापछि यो निर्णयको समीक्षा गरिनेछ।

भारत प्रवेश गर्न पाउने मानिसले पनि १४ दिन क्वारन्टीनमा बस्नुपर्नेछ। सरकारले अनावश्यक यात्रा नगर्न सुझाव दिएको छ।

कोरोनाभाइरस फैलिन नदिन राजधानी दिल्लीमा मार्च महिनाको अन्त्यसम्म सबै शैक्षिक संस्था र चलचित्रघर बन्द हुने घोषणा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले गरेका छन्।

प्रकोप नियन्त्रण गर्न विभिन्न सरकारी निकायहरूले समन्वय गरिरहेका छन्।

बिहीवार आयोजित पत्रकार सम्मेलनमा आत्तिनुपर्ने स्थिति नभएको अधिकारीहरूले बताएका छन्।