फेरि एकजुट भएका 'पूर्व पञ्च'को एकताको नयाँ आधार यस्तो छ

राप्रपा अध्यक्ष

तस्बिर स्रोत, RSS

लामो समयपछि पूर्वपञ्चहरूको बाहुल्य रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले आफूहरू एक भएको औपचारिक घोषणा गरेका छन्।

घोषणासभामा उनीहरूले पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन धर्म, साक्षेप हिन्दूराष्ट्र र साझा संस्थाको रूपमा राजसंस्था सहितको प्रजातन्त्र उल्लेख गरिएको आधारपत्र आदानप्रदान गरे।

टुक्रिने र जुट्ने विषय राप्रपाका लागि कुनै नौलो नभए पनि विगतमा यसले संसदमा निर्णायक अर्थ राख्नेगर्थ्यो।

तर पछिल्लो आमनिर्वाचनमा प्रत्यक्षतर्फ एक सिटमात्र जितेपछि यो दलले राष्ट्रिय दलको हैसियतसमेत जोगाउन सकेन।

मतदातामा प्रभाव

तर बुधवारको एकता घोषणा सभामा एकीकृत भएको राप्रपाका तीनजनामध्येका एक अध्यक्ष पशुपति शमशेर राणाले २०५१ सालको मध्यावधि चुनाव सम्झिए।

दुई ठूला दलले बहुमत ल्याउन नसक्दा उनीहरूबीचको आपसी प्रतिस्पर्धाले २० सीट जितेको राप्रपाको पोल्टामा दुईपटक प्रधानमन्त्री पुगेको थियो।

तर राणाले यसपटक आफ्नो उद्देश्य त्योभन्दा ठूलो रहेको बताए।

उनले भने, "एक हुँदाखेरी हामीले दुईपटक प्रधानमन्त्री बनायौँ। यसपालि त्योभन्दा ठूलो उद्देश्य लिएर हामी एक भएका छौँ। सर्व धर्मसापेक्ष, सनातन, हिन्दुराष्ट्र यो मुलुकमा पुनर्स्थापित गर्छौँ।"

तर जानकारहरूका भनाइमा ठूलो महत्त्वकाङ्क्षा पूरा गर्नका लागि राप्रपाका लागि अहिले अर्को चुनाव कुर्नुको विकल्प छैन।

हिन्दू राष्ट्रको मुद्दाले आम मतदातामा प्रभाव पार्न सकिने बुझाइ एकीकृत राप्रपाका नेतामा देखिन्छ।

बहिष्कार

अर्का अध्यक्ष कमल थापाले कार्यकर्तालाई अब पुन: फुटको त्रास नपाल्न आश्वास्त पार्ने गरी हातमा गीता समातेर नफुट्ने दाबी गरे।

"पार्टीलाई माया गर्ने साथीहरूलाई साक्षी राखेर प्रतिज्ञा गर्दछु, म कहिल्यै पनि पार्टी फुटाउने छैन। तपाईँहरूलाई विश्वास लागेन, मैले गीता ल्याएको छु।"

तर कतिपयले यस एकतालाई पछिल्लो चुनावको परिणाम पछिको बाध्यात्मक एकताको रूपमा औँल्याएका छन्।

तीन अध्यक्ष रहको पार्टीमा पहिलो नम्बरमा पशुपति शमशेर जबरा, दोस्रोमा कमल थापा र तेस्रोमा डा. प्रकाशचन्द्र लोहनीको नाम राखिएको छ।

हिन्दूराष्ट्र र राजतन्त्रको उसको मुद्दा पुरानै र एकपटक परीक्षण भइसकेकाले त्यसले ठूलो प्रतिफल दिनेमा संशय व्यक्त गर्नेको सङ्ख्या उल्लेख्य छ।

पार्टी नेता एवं पूर्वमन्त्री सुनिलबहादुर थापा लगायतका केही नेताले राजतन्त्र फर्काउने विषयमा असहमति राख्दै एकता सभामा सहभागी भएनन्।