केपी शर्मा ओली: 'प्रधानमन्त्री एक-दुई दिनमै डिस्चार्ज हुन सक्ने, तर आराम आवश्यक'

तस्बिर स्रोत, PM's Secretariat
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सन्तोषजनक सुधार भइरहेको र उनलाई एक-दुई दिनमै अस्पतालबाट डिस्चार्ज गर्न सकिने उनको उपचारमा संलग्न एक चिकित्सकले बताएका छन्।
ओलीको गत बुधवार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराउन उनी सोमवार अस्पताल भर्ना भएका थिए।
उनको पछिल्लो स्वास्थ्यस्थिति सामान्य रहेको प्रत्यारोपणको नेतृत्व गरेका प्रा. डा. प्रेमराज ज्ञवालीले बीबीसीलाई बताए।
"उहाँको रगत, रक्तचाप, पिसाबलगायत सबै सूचकाङ्क राम्रो स्थितिमा छन्," डा. ज्ञवालीले भने, "उहाँ भोलि वा पर्सिसम्म डिस्चार्ज हुन सक्नुहुन्छ।''
ओलीलाई मिर्गौला दिने महिलाको स्वास्थ्यस्थिति पनि राम्रो भएको अस्पतालले जनाएको छ।
आराम आवश्यक
चिकित्सकहरूका अनुसार प्रत्यारोपित मिर्गौलाले राम्ररी काम गरेपछि ओली अहिले आराम गरिरहेका छन्।

तस्बिर स्रोत, RSS
उनलाई सन्तुलित आहार दिन थालिएको र नियमित हिँडडुल गराउन थालिएको अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्गाले आइतवार अपराह्ण बताएका थिए।
त्यसअघि ओलीलाई साधारण खाना दिइएको र फिजिओथेरपी गराइएको बताइन्छ।
सङ्क्रमणको जोखिम घटाउन उनलाई धेरै भेटघाट नगर्न सुझाव दिइएको छ। सबै कुरा सुधारोन्मुख भए पनि प्रधानमन्त्री ओली तत्काल काममा भने फर्किन नहुने डा. ज्ञवालीको भनाइ छ।
डा. ज्ञवालीले भने, "उहाँले कम्तीमा पनि एक-डेढ हप्ता आराम गरेको राम्रो हो। शल्यक्रिया सफल भयो भनेर काममा गइहाल्नु राम्रो होइन।"
तर प्रधानमन्त्री ओलीले सामान्य 'टेबलवर्क' भने गर्न समस्या नहुने उनको भनाइ छ।
बाह्र वर्षअघि भारतमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गराएका ओलीको शरीरमा अब चारवटा मिर्गौला भएका छन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त








