कोरोनाभाइरस: चीनमा सङ्क्रमित मानिसका आफन्तलाई क्वारन्टीनमा राखिएको होटल भत्कियो, १० जनाको मृत्यु

तस्बिर स्रोत, Getty Images
दक्षिणी चीनको फुजिएन प्रान्तमा कोरोनाभाइरस सङ्क्रमण भएका व्यक्तिहरूको सम्पर्कमा आएका मानिसलाई क्वारन्टीनमा राख्न प्रयोग गरिएको एउटा होटल भत्किँदा कम्तीमा १० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। तेइस जना अझै हराइरहेका छन्।
च्वान्जू नगरस्थित उक्त पाँचतले होटल शनिवार साँझ भत्किँदा भग्नावशेषमा ७१ जना फसेका थिए।
उनीहरूमध्ये ५८ जना क्वारन्टीनमा राखिएका मानिस भएको बताइएको छ।
उद्धारकर्मीहरूले भग्नावशेषमा खोजी हराएका मानिसको खोजी जारी राखेका थिए।
भवन भत्किनुको कारण अझै स्पष्ट भएको छैन।
उक्त घटना स्थानीय समयानुसार शनिवार अपराह्ण ७:३० बजे भएको थियो।

तस्बिर स्रोत, AFP

तस्बिर स्रोत, EPA

तस्बिर स्रोत, EPA
कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण गर्ने उद्देश्यले सङ्क्रमित व्यक्तिहरूसँग प्रत्यक्ष सम्पर्कमा आएका तिनका आफन्तलाई त्यहाँ अलग्गै निगरानीमा राखिएको थियो।
उक्त होटल सन् २०१८ मा खुलेको र त्यसमा ८० वटा अतिथिकक्ष भएको बताइन्छ।
आफ्ना आफन्त र परिवारका सदस्यलाई त्यहाँ क्वारन्टीनमा राखिएको बताउने एक महिलाले बेइजिङ न्यूज वेबसाइटसँग भनिन्, "मेरो उहाँहरूसँग सम्पर्क हुन सकेको छैन। उहाँहरूले फोन उठाइरहनुभएको छैन।"
"म पनि [अर्को होटलमा] क्वारन्टीनमा छु र मलाई धेरै चिन्ता लागेको छ। के गर्ने त्यो मलाई थाहा छैन," उनले भनिन्, "उहाँहरू स्वस्थ हुनुहुन्थ्यो, दिनैपिच्छे तापक्रम पनि जाँच्नुहुन्थ्यो। अनि सबै परीक्षणले सबै सामान्य भएको देखाएका थिए।"
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त
शुक्रवारसम्म फुजिएनमा झन्डै ३०० जनामा सङ्क्रमण भएको पुष्टि भएको थियो।
त्यहाँ झन्डै ११,००० जनालाई निगरानीमा राखिएको थियो।
शनिवार चीनमा सङ्क्रमण पुष्टि हुने मानिसको सङ्ख्या ४४ मा सीमित भयो। अघिल्लो दिन कुल ९९ जनामा नयाँ सङ्क्रमण भएको पुष्टि भएको थियो।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभरि सङ्क्रमित मानिसको सङ्ख्या एक लाख नाघिसकेको छ। कोभिड-१९ भएर मृत्यु हुने बिरामीको सङ्ख्या पनि ३,००० कटेको छ।
अधिकांश सङ्क्रमण र मृत्यु चीनको हुबे प्रान्तमा भएको तथ्याङ्कले देखाउँछ।

यो पनि हेर्नुहोस्












