कोरोनाभाइरस: रोग फैलिएर मानिसहरूको मृत्यु भएपछि दक्षिण कोरियामा एउटा धार्मिक सम्प्रदायका प्रमुखमाथि छानबिन

दक्षिण कोरिया कोरोनाभाइरस

तस्बिर स्रोत, Getty Images

दक्षिण कोरियामा कोरोनाभाइरसका कारण भएका केही मृत्युका सन्दर्भमा एउटा धार्मिक सम्प्रदायका नेतामाथि छानबिन हुने भएको छ।

राजधानी सोलको स्थानीय सरकारले सिन्चन्जी चर्चका संस्थापक ली मान-ही र अन्य ११ जनाविरुद्ध मुद्दा दायर गर्न निर्देशन दिएको छ।

उनीहरूलाई कोभिड-१९ को प्रकोप फैलिनुअघि नै सङ्क्रमण भएका मानिसको परिचय लुकाएको आरोप लागेको छ।

चीनबाहिर दक्षिण कोरियामा सर्वाधिक सङ्ख्यामा सङ्क्रमित मानिस फेला परेका छन्।

त्यहाँ अहिलेसम्म ३,७३० जनाभन्दा बढीमा सङ्क्रमण भएको पुष्टि भएको छ भने २१ जनाको मृत्यु भइसकेको छ।

सङ्क्रमण भएकामध्ये अधिकांश व्यक्ति सिन्चन्जी चर्च अफ जीजस नामक एउटा सानो सम्प्रदायका अनुयायी हुन्।

अधिकारीहरूका अनुसार उक्त सम्प्रदायका मानिसले एकअर्कालाई दक्षिणी सहर डेगुमा कोरोनाभाइरस सारेका थिए। उनीहरूबाटै उक्त भाइरस अन्यत्र फैलिएको बताइन्छ।

दक्षिण कोरिया कोरोनाभाइरस

तस्बिर स्रोत, Getty Images

Presentational white space

उक्त सम्प्रदायका वरिष्ठ सदस्य किम शिन-चाङले बीबीसीलाई भाइरस फैलिएकोमा उक्त चर्च दु:खी भएको बताएका छन्।

पहिला केही सदस्यहरू आफ्नो परिचय खुलाउन डराएको उनले स्वीकार गरेका छन्। उनका अनुसार अहिले चर्चले ती सबैसँग सम्बन्धित सूचना दिइसकेको छ।

"सुरक्षाका कारण हामी ती सदस्यसँग सम्बन्धित जानकारी सार्वजनिक गर्ने विषयमा चिन्तित थियौँ। तर अहिले हाम्रो विश्वास के छ भने हाम्रो सबैभन्दा महत्त्वपूर्ण काम भनेको सरकारलाई पूर्ण रूपमा साथ दिनु हो," उनले भने।

Map
Presentational white space

दक्षिण कोरियामा के हुँदैछ?

आइतवार सोलको स्थानीय सरकारले उक्त सम्प्रदायका १२ नेताविरुद्ध कानुनी अभियोग लगाउन आवश्यक कदम चालेको थियो।

उनीहरूविरुद्ध हत्या र सरुवा रोग तथा नियन्त्रण गर्न बनाइएको छुट्टै कानुनअन्तर्गत कारबाही सुरु गरिएको हो।

त्यो चर्चका सबै २३०,००० सदस्यको अन्तर्वार्ता लिइएको छ। तीमध्ये झन्डै ९,००० जनाले आफूमा कोरोनाभाइरसको लक्षण देखिएको बताएका थिए।

दक्षिण कोरिया कोरोनाभाइरस

तस्बिर स्रोत, Getty Images

Presentational white space

उक्त चर्चकी एक ६१ वर्षीय महिलालाई गत साता सङ्क्रमण भएको पुष्टि भएको थियो।

चर्चका सदस्यमा सङ्क्रमण देखिएको त्यो नै पहिलो घटना थियो।

सुरुमा उनले अस्पताल जान अस्वीकार गरेकी थिइन् र सङ्क्रमणको पुष्टि हुनुअघि चर्चले आयोजना गरेका थुप्रै भेलामा सहभागी भएकी थिइन्।

उक्त सम्प्रदायका नेता ली मान-हीले आफू 'मसीहा' अर्थात् मुक्तिदाता भएको दाबी गर्ने गरेका छन्। उनको पनि स्वास्थ्य परीक्षण गरिएको छ।

तर त्यसको परिणाम आउन भने बाँकी छ।