कोरोनाभाइरस: नासाको तस्बिरले चीनमा प्रदूषण नाटकीय रूपमा घटेको देखायो

An image released by Nasa shows how pollution levels have dropped in Wuhan this year

तस्बिर स्रोत, NASA

स्याटलाइट तस्बिरहरूले चीनमा वायु प्रदूषणको मात्रा नाटकीय रूपमा घटेको देखाएका छन्।

अमेरिकी अन्तरिक्ष निकाय नासाले 'आंशिक भएपनि' कोरोनाभाइरस सङक्रमणका कारण निम्तिएको आर्थिक मन्दी कारक रहेको नासाले बताएको छ।

नासाको नक्सामा यो वर्ष नाइट्रोजन डाइअक्साइडको तह झरेको पाइएको हो।

कोरोनाभाइरस नियन्त्रण प्रयत्न स्वरूप चीनमा कारखानाहरूमा कम काम गरिएको छ र कैयौँ उत्पादकहरूले काम रोकेका छन्।

चीनमा कोरोनाभाइरस सङ्क्रमण सुरु भएयता करिब ८० हजार जनामा सङ्क्रमण भएको रेकर्ड गरिएको छ।

सवारी र कारखाना उत्सर्जन

सङ्क्रमण ५० देशमा फैलिएको छ तर अधिकांश सङ्क्रमण र मृत्यु चीनमा भएको छ जहाँ सबभन्दा पहिला यो भाइरस देखा परेको थियो।

नासाका वैज्ञानिकहरूले नाइट्रोजन डाइअक्साइडको तह पहिले वुहान शहरमाथि प्रष्ट भएको थियो पछि देशभर नै उक्त ग्यासको तह घटेको पाइएको थियो।

नाइट्रोजन ग्यास खासगरी सवारी साधन र कारखानाले उत्सर्जन गर्ने धुवाँमा पाइन्छ।

नासाको तस्बिर

तस्बिर स्रोत, NASA

तस्बिरको क्याप्शन, नासाका तस्बिरमा ज्यानुअरी र फेब्रुअरी महिनामा नाइट्रोजन डाइअक्साइडको तह घटेको देखिएको छ

नासाले सन् २०१९ को ज्यानुअरी, फेब्रुअरी र यो वर्षको ज्यानुअरी, फेब्रुअरीको तथ्याङ्क तुलना गरेको थियो।

नासाले चीनमा यातायात र व्यवसायिक गतिविधिमा रोक लगाइएको, दशौँ लाख मानिस क्वारन्टिनमा रहेको र नाइट्रोजन डाइअक्साइड घटेको समयावधि मिलेको बताएको छ।

नासाको गोडार्ड स्पेस फ्लाइट सेन्टरमा वायुको गुणस्तर अनुसन्धानकर्ता फेइ लिउले भनिन्, "कुनै घटनाका कारण यति ठूलो क्षेत्रमा यस्तो नाटकीय रूपमा प्रदूषण घटेको मैले पहिलो पटक देखेँ।"

सन् २००८ को आर्थिक मन्दीका बेला पनि नाइट्रोजन डाइअक्साइडको तह घटेको आफूले देखेको उनले बताइन्।

तर त्यसबेला बिस्तारै मात्र घटेको बताइएको छ।

नासाका अनुसार हरेक वर्ष चिनियाँ नयाँ वर्ष पर्ने समय अर्थात् र्ज्यानुअरी अन्त्यतिर वा फेब्रुअरी सुरुतिरका बेला प्रदूषण केही घटेको पाइन्थ्यो। तर पर्व सकिएपछि पुन: बढ्ने गर्थ्यो।

लिउले भनिन्, "यो वर्ष गत वर्षहरूका तुलनामा प्रदूषण निकै मात्रामा घटेको र लामो समयका लागि घटेको पाइयो।"

उनले भनिन् "मलाई कुनै आश्चर्य लागेको छैन किनभने भाइरस सङ्क्रमण फैलनबाट रोक्न देशभर अपनाइएका उपायका कारण त्यसो हुन पुगेको हो।"