कोरोनाभाइरस: यस्तो हुनेछ चीनबाट फर्किएका नेपालीको दुईहप्ते क्वारन्टीन बास

तस्बिर स्रोत, RSS
आइतवार चीनबाट नेपाल फर्काइएका नेपालीहरूको खरिपाटी क्वारन्टीनमा रगत र खकारका नमूना परीक्षण गरिएको अधिकारीहरूले बताएका छन्।
दुई सातापछि दोहोर्याएर परीक्षण गरेर उनीहरूमा कोरोनाभाइरसको सङ्क्रमण नभएको पुष्टि गरिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिएका छन्।
शनिवार राति उद्धार गरी वुहानबाट नेपाल ल्याइएका १७५ जनालाई दैनिक दिनको दुईपटक ज्वरो नाप्न भनिएको छ।
नेपाली सेनाको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली राखिएको र कुनै लक्षण देखिए चिकित्सकहरू सम्पर्कमा रहने गरी नियन्त्रण कक्ष समेत बनाइएको श्रेष्ठले बीबीसीलाई बताए।
क्वारन्टीनमा रहँदा सङ्क्रमणका लक्षण देखिएमा तत्काल आइसोलेसन वार्डमा राखेर उपचार गर्नका लागि शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल र सशस्त्र प्रहरी बलको अस्पतालमा बेडहरू तयारी अवस्थामा राखिएको छ।
क्वारन्टीनमा भएकाहरूको शारीरिक र मानसिक स्वास्थ्य उचित राखिनुपर्ने मापदण्ड अनुरूप खरिपाटीमा विभिन्न व्यवस्थाहरू गरिएको बताइएको छ।
प्रवक्ता श्रेष्ठले भने: "त्यहाँका चारवटा ब्लकहरूमा उद्धार गरिएका नेपालीहरूलाई अन्तर्राष्ट्रिय मापदण्ड र विज्ञका सुझावका आधारमा राखेका छौँ।"

तस्बिर स्रोत, RSS
उद्धार भएर चीनबाट आउनेमा १३४ जना पुरुष र ४१ जना महिला छन्।
उनीहरूबीच पनि निकटको हेलमेल गर्न नमिल्ने गरी मापदण्ड बनाइएको अधिकारीहरूले बताएका छन्।
कस्तो छ खरिपाटी क्वारन्टीनमा व्यवस्थापन
अधिकारीहरू र क्वारन्टीनमा रहेका व्यक्तिहरूका अनुसार खरिपाटीमा यस्तो व्यवस्था छ:
- एउटा कोठामा तीनजनासम्म राख्ने व्यवस्था गरिएको भएपनि खाटहरू बीचको दुरी कम्तीमा एक मिटरको राखिएको छ।
- १८ वटा सीसीटिभी क्यामरा, आठवटा टेलिभिजन, सबै ब्लकमा स्पीकर र तीनवटा वासिङ मेशिनको व्यवस्था गरिएको छ।
- सबै बेडमा दैनिक अत्यावश्यक कपडा र अन्य सरसफाइका सामग्रीहरू राखिएको छ।
- मनोरञ्जनका लागि ब्याडमिन्टन कोर्टदेखि क्यारेमबोर्डसम्मको व्यवस्था गरिएको छ।
- हिँडडुल गर्न प्रोत्साहन गरिएको भए पनि त्यसको समेत निश्चित क्षेत्र र मापदण्ड बनाइएको छ।
- परिवारसहित बाहिरका मानिसहरूसँग भेट्न दिइएको छैन।
- क्वारन्टीन क्षेत्रमा इन्टरनेटको व्यवस्था गरिएको छ।
- मोबाइल फोन निषेध गरिएको छैन तर भित्रका गतिविधिहरूको तस्बिर र भिडिओ बाहिर प्रसारण नगर्न भनिएको छ।

तस्बिर स्रोत, RSS
सरकारी समाचार संस्था राससका अनुसार क्वारन्टीनमा प्रयोग हुने शौचालयको सेफ्टीट्याङ्कीदेखि बढी भएको खाना व्यवस्थापन गर्न जमिनमुनि छुट्टै संरचना बनाइएको छ।
शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका डा. अनुप बास्तोलाका अनुसार एउटै कोठाभित्र एकभन्दा बढीलाई राखिए पनि उनीको दुरी, मास्सको प्रयोग एवम् सँगै हिंडडुल नगर्ने केही नियम बनाइएका छन्।
डा. बास्तोलाले भने: "सुक्ष्म निगरानीबीच उच्च मापदण्ड पुर्याएरै राखिएको हुँदा हावाको वेगसँगै फैलनेजस्ता डर स्थानीयबासीले राख्नु पर्ने आवश्यकता छैन।"









