कोरोनाभाइरस सङ्क्रमण: नेपाल आउने चिनियाँ पर्यटकको सङ्ख्या ओरालो लाग्दै

तस्बिर स्रोत, Getty Images
कोरोनाभाइरसको नयाँ सङ्क्रमणले चीनबाट गरिने यात्रामा प्रभाव पारे पनि नेपाल र चीनबीचका अधिकांश उडान सञ्चालन भइरहेको अधिकारीहरूले बताएका छन्।
चीनबाट आउने चिनियाँ वायुसेवाका अधिकांश उडान अझै सञ्चालन भइरहेको त्रिभुवन विमानस्थलका अधिकारीहरूले जनाएका छन्।
तर चीनका बेइजिङ र चोङचिङलगायतका शहरमा उडान गर्ने नेपाली वायुसेवा हिमालय एअरलाइन्सले आफ्ना अधिकांश उडान रद्द गरेको बताएको छ।
चिनियाँ अधिकारीहरूका अनुसार कोरोनाभाइरस सङ्क्रमणका कारण अहिलेसम्म १७० जनाको ज्यान गइसकेको छ भने ७,७०० भन्दा बढी सङ्क्रमित भइसकेका छन्।
चिनियाँ आगमनको अवस्था
अध्यागमन विभागले बीबीसी न्यूज नेपालीलाई उपलब्ध गराएको तथ्याङ्क अनुसार ज्यानुअरी महिना लागेपछि त्रिभुवन विमानस्थलबाट १२,०४० भन्दा बढी चिनियाँको नेपाल आगमन भएको छ।
यो साता मात्रै १,०६५ चिनियाँ त्यो विमानस्थलबाट नेपाल प्रवेश गरेका छन्। तर पछिल्ला दिनमा त्यो सङख्या घट्दो क्रममा छ।
ज्यानुअरी २७ मा १९५ चिनियाँ नेपाल आइपुगेका थिए भने ज्यानुअरी २८ मा १७४ जना नेपाल आएको अध्यागमन विभागले जनाएको छ।
अधिकांश चिनियाँ चीनबाटै आउने गरेपनि केही तेस्रो देशबाट पनि आइपुग्ने गरेका छन्।
चीनसँग सडक जोडिएका रसुवा र सिन्धुपाल्चोकका सीमा नाकाबाट भने मानिसको आउजाउ बन्द गरिएको छ।
नेपाल-चीन उडान
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार कोरोनाभाइरस सङ्क्रमणको त्रास बढेपनि नेपाल र चीनबीचका चिनियाँ वायुसेवाका धेरै उडानहरू अहिलेसम्म सञ्चालन भइरहेकै छन्।
चार चिनियाँ वायुसेवा एअर चाइना, चाइना सदर्न, चाइना इस्टर्न र सिचुवान एअरलाइन्सले दैनिक नेपाल उडान भर्ने गरेका छन्।
टिबेट एअरलाइन्सले हप्तामा दुई उडान गर्ने गरेको छ।
सन् २०२० को ज्यानअरीको तथ्याङ्क
४३७ जनाज्यानुअरी १ देखि २५ सम्मको दैनिक औसत
२६६ जनाज्यानुअरी २६ देखि २९ सम्मको दैनिक औसत
नेपालीको अवस्था
जापान, अमेरिका र अन्य पश्चिमा देशहरूले वुहानमा रहेका आफ्ना नागरिक फिर्ता लाने क्रम थालिसकेका छन्।
बेइजिङस्थित नेपाली दूतावासका अनुसार चीनको हुबे प्रान्तको वुहान र वरपरका नगरमा १७७ जना नेपाली विद्यार्थीसँग दूतावासले निरन्तर सम्पर्क स्थापित गरिरहेको छ।
उनीहरू सबै सुरक्षित रहेको र नेपाल फिर्ता ल्याउने सम्भावनाका विषयमा दूतावासले चिनियाँ परराष्ट्र मन्त्रालयसँग निरन्तर परामर्श गरिरहेको दूतावासका नियोग उपप्रमुख सुशीलकुमार लम्सालले बीबीसी न्यूज नेपालीलाई बताए।
"उहाँहरू कसैलाई पनि सङ्क्रमण भएको छैन। हामीले हटलाइन टेलिफोनको व्यवस्था गरेका छौँ र उहाँहरूसँग निरन्तर सम्वाद गरिरहेका छौँ।"








