भारतमा अफ्रिकी चीटा ल्याउन सर्वोच्च अदालतको अनुमति

तस्बिर स्रोत, AFP
भारतको सर्वोच्च अदालतले भारतबाट लोप भएको ७० वर्षभन्दा बढी समयपछि देशमा चीटा ल्याउन दिन सरकारलाई अनुमति प्रदान गरेको छ।
सरकारले गरेको एउटा आग्रहको सुनुवाइ गर्दै अदालतले "सावधानीपूर्वक छनोट गरिएको" स्थानमा अफ्रिकी चीटाहरू ल्याएर राख्न भनेको हो।
संसारमा अब ७,१०० चीटा मात्रै बाँकी छन्। तीमध्ये कम्तीमा ९० प्रतिशत अफ्रिकामा छन्।
साइटिस महासन्धि अनुसार चीटा सङ्टापन्न वन्यजीव हो।
भारतीय सर्वोच्च अदालतले अफ्रिकी चीटाहरू भारतीय हावापानीमा बस्न सक्छन् वा सक्दैनन् भनेर सुरुमा परीक्षणका लागि ल्याएर राख्न भनेको छ।
अध्ययनहरूका अनुसार औपनिवेशिक कालमा भारतमा कम्तीमा २०० वटा चीटाको सिकार गरिएको थियो। तीमध्ये अधिकांश भेडाबाख्रा गोठालाबाट मारिएको बताइन्छ।
सन् १९४७ मा भारत स्वतन्त्र भएपछि त्यहाँबाट लोप हुने ठूलो स्तनधारी चीटा नै हो।
भारतका पूर्ववातावरणमन्त्री जयराम रमेशले चीटा ल्याउन दिने अदालतको आदेशको स्वागत गरेका छन्।
एक दशकभन्दा बढी समयदेखि वन्यजन्तुसम्बन्धी अधिकारी तथा चीता विज्ञ एवम् संरक्षणवादीहरूले भारतमा चीटाहरू ल्याएर राख्ने विषयमा छलफल गर्दै आएका छन् र राख्न मिल्ने अवस्था रहेकोमा उनीहरू सहमत छन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त
तर त्यो योजनाप्रति अग्रणी संरक्षणवादीहरू सन्देह व्यक्त गर्छन्। भारतले चीटा ल्याएर स्वतन्त्र रूपमा जङ्गलमा छाड्नुभन्दा अर्धनियन्त्रणको अवस्थामा राख्न सक्ने उनीहरूको आशङ्का छ।
संरक्षणवादीहरूका अनुसार वासस्थान र सिकारको व्यवस्थापन नगरी ती वन्यजीव ल्याइएमा मान्छेसँग तिनको द्वन्द्व हुने उच्च सम्भावना हुन्छ र तिनको सङ्ख्या पनि बढाउन सकिँदैन।
उनीहरूले विगतका दृष्टान्तलाई पनि अघि सारेका छन्।
उत्तर प्रदेशको चन्द्रप्रभा आरक्षमा सन् १८५० को दशकमा सिंहहरू ल्याएर राखिएको थियो। तर चोरीसिकारका कारण तिनीहरू मासिए।
सन् १९२० को दशकमा राजस्थानको दुङ्गारपुरमा बाघहरू राखिएको थिए। तर ती सबैको सिकार गरियो।
भारतमा मुगल शासक जहाँगीरको पालामा विश्वमै पहिलो पटक बन्धक राखिएको अवस्थामा चीटाले बच्चा पाएको थियो।
जहाँगीरका बुवा अकबरका पालामा भारतमा १०,००० वटा चीटा भएको बताइन्छ।
त्यसको धेरै समयपछि सन् १७९९ र सन् १९६८ को बीचमा कम्तीमा २३० वटा चीटा भारतमा रहेको अध्ययनले देखाएको थियो।
सन् १९६७-६८ को बीचमा भारतमा अन्तिम पटक उक्त वन्यजीव देखिएको थियो।








