भालुको लिङ्ग काटेर खाने कुख्यात सिकारी भारतमा पक्राउ

काठेभालु

तस्बिर स्रोत, Getty Images

भालु मारेर तिनको लिङ्ग खाने एक कुख्यात सन्दिग्ध सिकारीलाई भारतमा प्रहरीले पक्राउ गरेको छ।

ती सिकारीलाई यार्नेन नामले चिनिन्छ।

धेरै वर्षदेखि फरार रहेका उनलाई पक्राउ गर्न सक्नुलाई प्रहरीले ठूलो सफलता मानेको छ।

भारतको एउटा राष्ट्रिय निकुञ्जमा गुप्ताङ्ग काटिएका भाले भालुका शवहरू फेला परेपछि अधिकारीहरू चनाखो भएका थिए।

पक्राउ

यार्नेन एउटा फिरन्ते आदिवासी समुदायका हुन्।

उनको समुदायमा भालुको लिङ्ग सेवन गर्दा कामोत्तेजना बढ्ने अन्धविश्वास भएको मध्यप्रदेश वन विभागका रितेश सिरोठियाले बताए।

यार्नेन अक्टोबर १९ मा गुजरात राज्यमा पक्राउ परेका हुन्।

उनी मध्य र पश्चिम भारतमा बाघ तथा अन्य लोपोन्मुख जनावरको अवैध सिकार र तस्करीमा संलग्न एक प्रमुख व्यक्ति भएको बताइन्छ।

प्रहरीबाट जोगिन उनले विभिन्न छद्म नाम प्रयोग गर्ने गरेको बताइन्छ। तर प्रहरीले उनीमाथि कुनै अभियोग लगाइसकेको छैन।

आफू लागेका आरोपबारे उनले र उनका वकिलले कुनै प्रतिक्रिया दिएका छैनन्।

सफलता

उनलाई बुधवार अदालतमा उपस्थित गराइएको थियो र अहिले उनी हिरासतमा छन्।

"उनको खोजी र पक्राउका लागि हामीले एउटा विशेष एकाइ नै बनाएका थियौँ। छ वर्षसम्म चलेको यो हाम्रो निकै लामो खोजी थियो," वन विभागको विशेष कार्यदलको नेतृत्व गर्ने रितेश सिरोठियाले भने।

Pardhi-Behelia

तस्बिर स्रोत, Courtesy: MP Wildlife STF

मध्यप्रदेशको दक्षिणी भागमा पाइने पर्धी-बेहलिया जाति परम्परागत रूपमा जङ्गलमा बस्छ।

उक्त जातिका मानिसहरू जीवनयापनको लागि सिकार गर्छन्।

यार्लेन सबैभन्दा पहिले सन् २०१३ मा पक्राउ परेका थिए। त्यतिखेर प्रहरीले लिङ्ग र पित्तको थैली निकालिएका दुईवटा भालुका शव फेला पारेका थिए।

जेलमा एक वर्ष बिताएर जमानतमा रिहा भएपछि उनी फरार भएको प्रहरीको भनाइ छ।

भालुको कलेजोमा बन्ने पित्त उसको पित्ताशयमा जम्मा हुन्छ। भालुको पित्तलाई परम्परागत चिनियाँ उपचार पद्धतिमा कामोत्तजक औषधिका रूपमा प्रयोग गरिन्छ।

भालुको पित्त गैरकानुनी रूपमा गोप्य अन्तर्राष्ट्रिय बजारमा पुग्ने र महँगो मूल्यमा बिक्री हुने बताइन्छ।