कोरोनाभाइरस: चीनभन्दा बाहिर ४७ जनालाई सङ्क्रमण

तापक्रम नापिदैँ

तस्बिर स्रोत, EPA

चीनमा कम्तीमा ३,००० लाई सङ्क्रमित गरेको कोरोनाभाइरसले अन्यत्र थप ४७ जना सङ्क्रमित भएका छन्।

नेपालसहित कम्तीमा एक दर्जन देशमा सो सङ्क्रमण फैलिएको छ।

चीनमा सो सङ्क्रमणबाट मारिनेको सङ्ख्या ८२ पुगेको छ।

सो भाइरसको सङ्क्रमण पछिल्लोपटक क्यानडामा पनि फेला परेको छ।

मृत्यु छैन

हालसम्म चीनभन्दा बाहिर कोरोनाभाइरसको सङ्क्रमणबाट कसैको मृत्यु भने भएको छैन।

विश्व स्वास्थ्य सङ्गठन तथा राष्ट्रिय निकायहरूका अनुसार चीन बाहिर कम्तीमा ४७ सङ्क्रमणका घटना पुष्टि भएका छन्।

  • सङ्क्रमणका ८ घटना: थाइल्यान्ड
  • ५ घटना: अमेरिका, अस्ट्रेलिया र सिङ्गापुर
  • ४ घटना: ताइवान, मलेसिया र दक्षिण कोरिया
  • ३ घटना: फ्रान्स र जापान
  • २ घटना: भियतनाम
  • १ घटना: नेपाल, क्यानडा, क्याम्बोडिया, श्रीलङ्का र जर्मनी
ली खच्याङ्

तस्बिर स्रोत, Gov.cn

तस्बिरको क्याप्शन, चिनियाँ प्रधानमन्त्री सोमवार वुहानको भ्रमणमा पुगेका थिए

वुहानको अवस्था

सोमवार चीनको राजधानी बेइजिङ्‌मा एकजना पचास वर्षीय पुरुषको कोरोनाभाइरस सङ्क्रमणका कारण ज्यान गएको छ।

चीनमा फैलिरहेको कोरोनाभाइरसको सङ्क्रमणमा राजधानीमा ज्यान गएको यो पहिलो घटना हो।

सङ्क्रमणको केन्द्रमा रहेको वुहान शहर रहेको हुबेइ प्रान्तमा मात्र ७६ जनाको ज्यान गइसकेको छ।

बाँकी छ जनाको चीनका अन्य भागमा ज्यान गएको हो।

आवागमनमा कडाइ

वुहान तथा कैयौँ अरू शहरमा आवतजावत कडाइपूर्वक नियन्त्रण गरिएको छ।

एक करोड दश लाख जनसङ्ख्या भएको वुहान शहरमा यातायात आवागमनमा निकै कडाइ गरिएको छ।

अनावश्यक गाडीहरूलाई सडकमा निषेध गरिएको छ।

वुहानको अस्पतालहरूमा भिड लागेको छ

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, वुहानको अस्पतालहरूमा भिड लागेको छ

हुबेइ प्रान्तको सिमानामा त्यहाँभित्र जान खोज्ने मानिसहरूको ज्वरो नाप्न थालिएको छ।

स्थानीय सरकारका अनुसार बितेको चार दिनमा वुहानबाट कोही पनि चीन बाहिर गएको छैन।

बिदा थपियो

वुहानका करिब ४,०९६ बासिन्दा अहिले देश बाहिर छन्।

साथै, पचास लाख बासिन्दा चाहिँ नयाँ वर्षको उत्सवका निम्ति त्यहाँ कडाइ गरिनु अगावै चीनका अन्य भागमा घुम्न गएका थिए।

शाङ्घाइ शहरमा फेब्रुअरी १० तारिखसम्म बिदा भनिएको छ।

व्यावसायिक निकायहरूमा त्यतिञ्जेल मानिसहरू काममा नआउन भनिएको छ।

उक्त प्रतिबन्ध सरकारी सेवा प्रदायक संस्था तथा औषधि र उपचारसम्बन्धी संस्था अनि सुपरमार्केटहरूमा भने लागु नहुने बताइएको छ।