कोरोनाभाइरस: चीनमा सङ्क्रमित व्यक्तिको सङ्ख्या बढ्यो, ८१ जनाको मृत्यु भएको पुष्टि

कोरोनाभाइरस

तस्बिर स्रोत, Getty Images

चीनमा कोरोनोभाइरसको सङ्क्रमणका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या असी नाघेको अधिकारीहरूले बताएका छन्।

अहिलेसम्म झन्डै ३,००० जनामा उक्त भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ।

चीनको सरकारी सञ्चारमाध्यमका अनुसार हुबे प्रान्तमा ३०० सय जनाभन्दा धेरै मानिस सो भाइरसका कारण गम्भीर न्युमोनियाको सिकार भएका छन्।

अधिकारीहरूले उक्त प्रान्तमा ७६ जनाको मृत्यु भएको सोमवार बताएका छन्। यसअघि त्यहाँ ५६ जनाको मृत्यु भएको थियो।

मृत्यु हुने अन्य पाँच व्यक्ति अरू ठाउँका हुन्।

सङ्क्रमणको केन्द्रमा रहेको उक्त प्रान्तको वुहानमा २,००० शय्याका दुईवटा अस्पतालको निर्माण हुँदैछ।

स्वास्थ्यसेवाका पाँच लाख कर्मचारीलाई उक्त भाइरसको रोकथाम, नियन्त्रण र उपचार गर्न परिचालित छन्।

थप मास्क तथा सुरक्षित पोसाक बनाउन कारखानाहरूमा तीव्र गतिमा काम भइरहेको छ।

सरकारले कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न नयाँ वर्षको बिदा लम्ब्याउने घोषणा गरेको छ। ज्यानुअरी ३० सम्म रहेको चिनियाँ नयाँ वर्षको बिदा अब फेब्रुअरीको दोस्रो सातासम्म लम्ब्याइएको छ।

कोरोनाभाइरस

तस्बिर स्रोत, Getty Images

यसअघि अधिकारीहरूले सङ्क्रमण पहिलेभन्दा चाँडो फैलिरहेको चेतावनी दिएका थिए।

लक्षण देखिनुअघि नै मानिसले यो सङ्क्रमण अरू मानिसमा सार्न सक्ने भएकाले यसलाई नियन्त्रण गर्न थप कठिन हुने बताइएको छ।

बीबीसी संवाददाता रुपर्ट विङ्फिल्ड हेयज भन्छन्, "यो कोरोनाभाइरस मानिसबाट मानिसमा सजिलै सर्ने देखिन्छ। जसले गर्दा यो चीनभरि र अन्यत्र अझ फैलने सम्भावना छ।"

तर उनका अनुसार उक्त भाइरसको सङ्क्रमण हुँदा ज्यान जाने सङ्ख्या कम भएको देखिन्छ। सङ्क्रमित व्यक्तिमध्ये २ देखि ३ प्रतिशतको मात्र ज्यान गएको बताइएको छ।

कोरोनाभाइरसको सङ्क्रमणबारे कुराकानी गर्न विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस एड्हानोम गहब्रहयसस बेइजिङ जाँदैछन्।

चीनका राष्ट्रपति सी जिन्पिङले घातक कोरोनाभाइरस तीव्र गतिमा फैलिरहेको चेतावनी दिएका छन्।

चिनियाँ नयाँ वर्षका दिन बिदाको बेलामा आयोजित एउटा उच्चस्तरीय बैठकपछि उनले वरिष्ठ चिनियाँ अधिकारीहरूलाई देश "गम्भीर परिस्थिति" मा रहेको बताएका थिए।

कोरोनाभाइरस के हो?

कोरोनाभाइरस रुघाखोकी लगाउने भाइरसहरूको परिवारको एउटा सदस्य हो।

तर अहिले फैलिएको यो भाइरस पहिला देखिएको थिएन। त्यसैले यो नयाँ भाइरसलाई 2019-nCov नामकरण गरिएको छ।

कोरोनाभाइरस

तस्बिर स्रोत, Getty Images

Presentational white space

अन्य पशुपक्षीबाट सरेपछि नयाँ भाइरसहरू मानिसमा सामान्य बन्छन्।

चमेरोबाट बिरालोजस्तो देखिने सिभिट र त्यसपछि मानिसमा भाइरस सरेपछि सन् २००३ मा श्वासप्रश्वासम्बन्धी रोग सार्सको प्रकोप फैलिएको थियो।

यो नयाँ भाइरसले पनि श्वासप्रश्वास प्रणालीमा गम्भीर खालको सङ्क्रमण गराउँछ।

ज्वरो आउनु, त्यसपछि सुक्खा खोकी लाग्नु र केही हप्तापछि सास फेर्न गाह्रो हुनु यो रोगका लक्षण हुन्। सङ्क्रमण भएका केही बिरामीलाई अस्पताल लगेर उपचार गर्नुपर्ने स्थिति उत्पन्न हुन्छ।

यो रोगको छुट्टै औषधि वा खोप छैन।

कोरोनाभाइरसको सङ्क्रमण भएका एकचौथाइ मानिसलाई मात्रै गम्भीर समस्या हुने बताइन्छ। मृत्यु हुनेमा अधिकांश वृद्धावस्थाका वा स्वास्थ्यसम्बन्धी अन्य समस्या भएका व्यक्ति छन्।

चिनियाँ अधिकारीहरूले "वन्यजन्तुको अवैध कारोबार" गर्ने समुद्री खाद्यपदार्थको एउटा बजारबाट उक्त भाइरस फैलिएको आशङ्का व्यक्त गरेका छन्।

भाइरस नियन्त्रणबारे के भन्छन् वैज्ञानिक?

यूकेस्थित एमआरसी सेन्टर फोर ग्लोबल इन्फेक्शस डिजीज अन्यालसिसमा कार्यरत वैज्ञानिकहरूले चीनले यो भाइरस नियन्त्रण गर्न नसक्ने सम्भावना भएको चेतावनी दिएका छन्।

उनीहरूका अनुसार अहिले फैलिएको महामारीको रूप हेर्दा कोरोनाभाइरस मानवबाट मानवमा सरेको हुन सक्छ।

चिनियाँ अर्धसैनिक

तस्बिर स्रोत, AFP

Presentational white space

प्रत्येक सङ्क्रमित व्यक्तिले सालाखाला २.५ जनालाई कोरोनाभाइरस सारिरहेको उनीहरूको आकलन छ।

उक्त संस्थाले भाइरस नियन्त्रण गर्ने चीन सरकारको प्रयासको प्रशंसा गरेको छ। तर उसका अनुसार महामारी नियन्त्रण गर्न भाइरसको प्रसारण ६० प्रतिशतले घटाउन सक्नुपर्छ।

त्यसो गर्न ठूलो चुनौती भएको उनीहरूको धारणा छ।

किनभने त्यसका लागि सामान्य लक्षण भएका बिरामी फेला पार्नु र तिनलाई छुट्याएर अलग्गै राख्नुपर्ने हुन्छ।

ल्याङ्कस्टर यूनिभर्सिटीका अनुसन्धानकर्ताहरूको एउटा टोलीले कोरोनाभाइरसबाट ११,००० व्यक्ति प्रभावित भएको आकलन गरेका छन्।

यदि सही हो भने यो सङ्ख्या सार्सको भन्दा बढी हुन्छ।

कहाँकहाँ फैलिएको छ?

कोरोनाभाइरस चीनबाट अन्यत्र पनि फैलिसकेको छ। तर प्रभावित व्यक्तिको सङ्ख्या कम छ।

अहिलेसम्म चीनबाहिर कम्तीमा ४४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको विश्व स्वास्थ्य सङ्गठन तथा सम्बन्धित देशले बताएका छन्।

वुहान कोरोनाभाइरस

तस्बिर स्रोत, AFP

Presentational white space

कोरोनाभाइरसबाट सङ्क्रमित व्यक्ति एशिया, अस्ट्रेलिया, युरोप तथा अमेरिकामा पनि भेटिएका छन्।

  • थाईल्यान्ड: ८
  • अमेरिका, अस्ट्रेलिया: ५/५
  • सिङ्गापुर, ताइवान, मलेशिया, दक्षिण कोरिया: ४/४
  • फ्रान्स, जापान: ३/३
  • भियतनाम: २
  • नेपाल, क्यानडा: १/१

सबैजसो व्यक्ति वुहानबाट फर्किएका हुन्।

यूकेमा परीक्षण गरिएका ३१ व्यक्तिमा कोरोनाभाइरस नभेटिएको सरकारले जनाएको छ। चीनको हुबेबाट भर्खरै फर्किएका झन्डै २,००० व्यक्तिको स्थिति पत्ता लगाउन अधिकारीहरूले खोजिरहेका छन्।