कोरोनाभाइरस तीव्र गतिमा फैलिरहेको चीनका राष्ट्रपतिको चेतावनी, बिरामीमा 'लक्षण देखिनुअघि नै अरूमा सरेको पाइयो'

तस्बिर स्रोत, EPA
चीनका राष्ट्रपति सी जिन्पिङले घातक कोरोनाभाइरस तीव्र गतिमा फैलिरहेको चेतावनी दिएका छन्।
चिनियाँ नववर्षका दिन बिदाको बेलामा आयोजित एउटा उच्चस्तरीय बैठकपछि उनले वरिष्ठ चिनियाँ अधिकारीहरूलाई देश "गम्भीर परिस्थिति" मा रहेको बताए।
चीनको वुहानमा उक्त भाइरस फैलिएको पत्ता लागेपछि कम्तीमा ५६ जनाको मृत्यु भइसकेको छ भने झन्डै २,००० व्यक्ति सङ्क्रमित भएको पुष्टि भएको छ।
चिनियाँ अधिकारीहरूले लक्षण देखिनुअघि नै सङ्क्रमित व्यक्तिबाट उक्त भाइरस अन्य व्यक्तिमा सर्ने भएकाले त्यसको नियन्त्रण गर्न एकदमै कठिन भएको बताएका छन्।
चीनका स्वास्थ्यमन्त्री मा शियाओवेले उक्त भाइरसको फैलिने क्षमता बढेको पाइएको संवाददाताहरूलाई बताएका छन्।
यूकेका अनुसन्धानकर्ताहरूले चीनले उक्त भाइरस नियन्त्रण गर्न नसक्ने सम्भावना भएको चेतावनी दिएका छन्।
कोरोनाभाइरसको सङ्क्रमण फैलिएका चीनका विभिन्न सहरमा यात्रा गर्न प्रतिबन्ध लगाइएको छ। उक्त भाइरसको महामारी सुरु भएको वुहानका केही स्थानमा आइतवारदेखि निजी सवारीसाधनले प्रवेश गर्न पाउनेछैनन्।
झन्डै १,३०० बिरामीलाई रेखदेख गर्न त्यहाँ दुई हप्तामा आपत्कालीन सेवा प्रदान गर्ने दोस्रो अस्पताल निर्माण गरिने सरकारी पत्रिका पीपल्स डेलीले जनाएको छ। यसअघि १,००० शय्याको एउटा अस्पताल निर्माण गर्ने काम सुरु भइसकेको छ।
वुहान भएको हुबे प्रान्तमा सेनाले विशेष चिकित्सकीय टोलीहरू पठाइएको छ।

तस्बिर स्रोत, AFP

गत महिना डिसेम्बरमा पहिलोचोटि देखिएपछि उक्त भाइरस नियन्त्रणबारे चीन र अन्यत्र व्यापक चासो व्यक्त भएको छ।
चीनका विभिन्न सहरमा नववर्षका अवसरमा आयोजित कार्यक्रम स्थगित गरिएको छ।
मुख्यभूमि चीनभरि यात्रुहरूलाई ज्वरो आए वा नआएको परीक्षण गरिएको छ भने केही सहरमा रेल स्टेशन बन्द गरिएको छ।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 1

हङ्कङमा सङ्कटकाल घोषणा गरिएको छ तथा विद्यालयमा बिदा लम्ब्याइएको छ।
अन्य केही देशमा पनि कोरोनोभाइरसबाट सङ्क्रमण भएका बिरामी फेला परेका छन्। तीमध्ये केहीलाई छुट्टै राखेर उपचार भइरहेको बताइएको छ।
कोरोनाभाइरस के हो?
कोरोनाभाइरस रुघाखोकी लगाउने भाइरसहरूको परिवारको एउटा सदस्य हो।
तर अहिले फैलिएको यो भाइरस पहिला देखिएको थिएन। त्यसैले यो नयाँ भाइरसलाई 2019-nCov नामकरण गरिएको छ।

तस्बिर स्रोत, Getty Images

अन्य पशुपक्षीबाट सरेपछि नयाँ भाइरसहरू मानिसमा सामान्य बन्छन्।
चमेरोबाट बिरालोजस्तो देखिने सिभिट र त्यसपछि मानिसमा भाइरस सरेपछि सन् २००३ मा श्वासप्रश्वासम्बन्धी रोग सार्सको प्रकोप फैलिएको थियो।
यो नयाँ भाइरसले पनि श्वासप्रश्वास प्रणालीमा गम्भीर खालको सङ्क्रमण गराउँछ।
ज्वरो आउनु, त्यसपछि सुक्खा खोकी लाग्नु र केही हप्तापछि सास फेर्न गाह्रो हुनु यो रोगका लक्षण हुन्। सङ्क्रमण भएका केही बिरामीलाई अस्पताल लगेर उपचार गर्नुपर्ने स्थिति उत्पन्न हुन्छ।
यो रोगको छुट्टै औषधि वा खोप छैन।
कोरोनाभाइरसको सङ्क्रमण भएका एकचौथाइ मानिसलाई मात्रै गम्भीर समस्या हुने बताइन्छ। मृत्यु हुनेमा अधिकांश वृद्धावस्थाका वा स्वास्थ्यसम्बन्धी अन्य समस्या भएका व्यक्ति छन्।
चिनियाँ अधिकारीहरूले "वन्यजीवनको अवैध कारोबार" गर्ने समुद्री खाद्यपदार्थको एउटा बजारबाट उक्त भाइरस फैलिएको आशङ्का व्यक्त गरेका छन्।
भाइरस नियन्त्रणबारे के भन्छन् वैज्ञानिक?
यूकेस्थित एमआरसी सेन्टर फोर ग्लोबल इन्फेक्शस डिजीज अन्यालसिसमा कार्यरत वैज्ञानिकहरूले चीनले यो भाइरस नियन्त्रण गर्न नसक्ने सम्भावना भएको चेतावनी दिएका छन्।
उनीहरूका अनुसार अहिले फैलिएको महामारीको रूप हेर्दा कोरोनाभाइरस मानवबाट मानवमा सरेको हुन सक्छ।

तस्बिर स्रोत, AFP

प्रत्येक सङ्क्रमित व्यक्तिले सालाखाला २.५ जनालाई कोरोनाभाइरस सारिरहेको उनीहरूको आकलन छ।
उक्त संस्थाले भाइरस नियन्त्रण गर्ने चीन सरकारको प्रयासको प्रशंसा गरेको छ। तर उसका अनुसार महामारी नियन्त्रण गर्न भाइरसको प्रसारण ६० प्रतिशतले घटाउन सक्नुपर्छ।
त्यसो गर्न ठूलो चुनौती भएको उनीहरूको धारणा छ।
किनभने त्यसका लागि सामान्य लक्षण भएका बिरामी फेला पार्नु र तिनलाई छुट्याएर अलग्गै राख्नुपर्ने हुन्छ।
ल्याङ्कस्टर यूनिभर्सिटीका अनुसन्धानकर्ताहरूको एउटा टोलीले कोरोनाभाइरसबाट ११,००० व्यक्ति प्रभावित भएको आकलन गरेका छन्।
यदि सही हो भने यो सङ्ख्या सार्सको भन्दा बढी हुन्छ।
कहाँकहाँ फैलिएको छ?
अहिलेसम्म चीनमा १,३७२ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ। तीमध्ये अधिकांश मानिस हुबे प्रान्तमा वा नजिकै बसोबास गर्छन्।
यो भाइरस अन्यत्र पनि फैलिसकेको छ। तर प्रभावित व्यक्तिको सङ्ख्या कम छ।
अमेरिकाले वुहानस्थित आफ्नो कूटनीतिक नियोगका कर्मचारीलाई एउटा विशेष विमानबाट मङ्गलवार अन्यत्र लग्ने घोषणा गरेको छ।

तस्बिर स्रोत, AFP

जोखिममा रहेका अन्य अमेरिकी नागरिकले पनि स्यान फ्र्यान्सिस्को जाने उक्त विमान चढ्न पाउने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।
शनिवार अस्ट्रेलियाले चार जनामा कोरोनाभाइरस भएको पुष्टि गर्यो। तीमध्ये मेल्बर्नमा एक र सिड्नीमा तीन जना छन्।
कोरोनाभाइरस युरोपमा पनि फैलिएको छ। फ्रान्समा तीन जना सङ्क्रमित भएको पुष्टि भएको छ।
यूकेमा परीक्षण गरिएका ३१ व्यक्तिमा कोरोनाभाइरस नभेटिएको सरकारले जनाएको छ। चीनको हुबेबाट भर्खरै फर्किएका झन्डै २,००० व्यक्तिको स्थिति पत्ता लगाउन अधिकारीहरूले खोजिरहेका छन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 2

चीनका छिमेकी देशमा पनि उच्च स्तरको सतर्कता अपनाइएको छ।
थाईल्यान्ड, सिङ्गापुर, जापान, ताइवान, मलेशिया, भियतनाम, दक्षिण कोरिया र नेपालमा पनि सङ्क्रमित व्यक्ति भेटिएको पुष्टि भएको छ।
अमेरिकामा पनि दुई व्यक्तिमा कोरोनाभाइरसको सङ्क्रमण भएको पाइएको छ।












