'मुटु र मन नभएको' भन्ने प्रधानमन्त्रीको आरोपमा सम्पादकहरूको जवाफ

तस्बिर स्रोत, RSS
प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारमाध्यम र खासगरी सम्पादकहरूबारे मङ्गलवार दिएको एउटा अभिव्यक्तिबारे विभिन्न टीकाटिप्पणी शुरू भएको छ।
व्यवसायीहरूसँगको भेटघाटमा उनले सरकारले गरेका राम्रा कामको चर्चा नभएको र प्रशंसा गर्नका लागि 'मुटु र मन भएका सम्पादकहरू नभएको' बताएका थिए।
केही सम्पादकले प्रधानमन्त्रीको चित्तदुखाइ 'स्वाभाविक' भएको प्रतिक्रिया दिएका छन् भने अरूले सो अभिव्यक्तिलाई सञ्चारमाध्यमप्रतिको पूर्वाग्रही सोचको रूपमा अर्थ्याएका छन्।
प्रधानमन्त्रीको अभिव्यक्तिबारे बीबीसी न्यूज नेपालीका गनी अन्सारीले केही दैनिक पत्रिका र अनलाइन समाचारका सम्पादकहरूसँग गरेको कुराकानीको सम्पादन गरिएको अंश:
'स्वभाविक अभिव्यक्ति'
श्रीओम श्रेष्ठ, निमित्त प्रधानसम्पादक, गोरखापत्र दैनिक
प्रधानमन्त्रीको अभिव्यक्ति एकदम स्वाभाविक हो जस्तो लाग्छ। भएका कामहरूलाई उल्लेख गर्न कन्जुस्याइँ गरिएको प्रस्ट देखिन्छ।
तोकेर यही भन्नु भन्दा पनि थुप्रै राम्रा काम छन्। दशवटा काम छन् भने नौवटा राम्रा कामलाई ओझेल पारेर एउटा कमीकमजोरीलाई उजागर गर्ने 'ट्रेन्ड' चलेको जस्तो देखिन्छ।
सञ्चारमाध्यम प्रतिपक्ष हुनुपर्छ भन्ने सोचका कारणले पनि यस्तो भएको हो कि जस्तो लाग्छ।
दशवटा काम छन् भने नौवटा राम्रा कामलाई ओझेल पारेर एउटा कमीकमजोरीलाई उजागर गर्ने 'ट्रेन्ड' चलेको जस्तो देखिन्छ।
सकारात्मक समाचारलाई भन्दा बढी पाठकप्रिय हुनका निम्ति यसो गरिएको हो कि जस्तो लाग्छ। तर नकारात्मक समाचार मात्रै पत्रकारिताको धर्म हुँदै होइन।
प्रधानमन्त्री भइसकेपछि केपी शर्मा ओलीले गरेका राम्रा काम थुप्रै छन्। ठ्याक्कै यही भन्नु भन्दा पनि हरेक दिन हामीले गोरखापत्रमार्फत् दिइरहेका छौँ नि।
हरेक दिन निरास बन्नका लागि समाचारपत्र पढ्ने नभएर गोरखापत्रजस्तो सकारात्मक समाचारका लागि आवश्यक छ भन्ने प्रतिक्रिया हामीले एकदम धेरै पाइरहेका छौँ।
'पत्रकार र सञ्चारमाध्यमहरू दलगत खेमामा'
युवराज घिमिरे, सम्पादक, देशसञ्चार डट कम
नेपालका पत्रकार र सञ्चारमाध्यमहरू दलगत खेमामा पनि छन्। उनीहरूले पक्कै पनि आफ्नो राजनीतिक सम्बद्धताका आधारमा आलोचना र समर्थन गर्ने गर्छन्।
मूलधारका र व्यावसायिक मिडियाका कुरा गर्नुभएको हो भने अलिकति 'अनफेयर' टिप्पणी हो कि?
उहाँले नाकाबन्दीका बेला भारतविरुद्ध अडान लिनुभयो। त्यसबेला कुनै एउटा त्यस्तो मिडिया थिएन जसले उहाँलाई समर्थन गरेन।
उहाँबाट आएका आशालाई मानिसहरूले खुला दिलले समर्थन गरेका छन्। तर समर्थन र चाटुकारितामा फरक हुन्छ।
उहाँले गरेका प्रतिबद्धता र त्यसको कार्यान्वयनमा जुन अन्तर हो त्यो धेरै बढ्यो। रेलकै कुरा गरौँ न चिनियाँ राजदूतको एउटा अभिव्यक्तिपछि उहाँ अहिले त्यो कुरा [काठमाण्डू-केरुङ रेल] गर्नुहुन्न।
त्यो त देखिएको छ नि। त्यसकारण असल कामलाई समर्थन गर्ने हो, गरिराख्या छन्। खराब कामलाई समर्थन गर्नु पत्रकारिता होइन, चाटुकारिता हो।
मलाई लाग्छ व्यक्तिले वस्तुनिष्ठ तरिकाले आफूलाई मूल्याङ्कन गरेन भने आफ्नो बारेमा सबैले सकारात्मक धारणा नै राखून् भन्ने चाहना हुन्छ।
उहाँले आफूमा कम विश्वास गर्न थालेको प्रमाण हो यो।
असल कामलाई समर्थन गर्ने हो गरिराख्या छन्। खराब कामलाई समर्थन गर्नु पत्रकारिता होइन, चाटुकारिता हो।
नेपालमा यति पारदर्शी तहको भ्रष्टाचार पहिला थिएन।चाहे नेपाल ट्रस्टकै कुरा होस्।
आफूसँग नजिक रहेको एउटै परिवारलाई उहाँले जसरी पोस्नुभएको छ। कानुन मिचेर जसरी फाइदा पुर्याउने काम गर्नुभएको छ, त्यो उहाँले आफ्नो मूल्याङ्कन आफैँले गर्ने बेला भएको छ।
अर्कै मञ्चमा बोल्नुभन्दा उहाँले मानेका सम्पादकहरूसँग संवाद गरे हुन्छ नि। मेरा राम्रा कुरालाई तपाईँहरूले राम्रै रूपमा प्रस्तुत गर्नुपर्छ भन्नु त उहाँको हक पनि हो।
चिनियाँ राष्ट्रपति आउँदा उहाँहरूले 'म्युचुअल लिगल असिस्टेन्स'सँगै सुपुर्दगी सन्धि गर्ने भनेर तयारी गर्नुभयो। तर पछि सुपुर्दगी सन्धि भएन।
एमसीसीबारे पनि सरकारले अमेरिकासँग प्रतिबद्धता गर्यो। तर पर्याप्त गृहकार्य नहुँदा त्यसले विवाद निम्त्यायो। यसको दोष उहाँले पाउनुहुन्छ। हुन त एमसीसीमा अघिल्लो सरकारले हस्ताक्षर गरेको हो।
सुरुसुरुमा राष्ट्रियताका मामिलामा उहाँले जसरी आफूलाई नायकका रूपमा प्रस्तुत गर्नुभएको थियो, उहाँले बोलेका हरेक कुरामा मानिसहरूले विश्वास गर्थे।
एउटा समयपछि जब बोलेका कुरा व्यवहारमा लागु हुँदैन, त्यसपछि त्यसले विश्वसनीयतामा कमी ल्याउँछ। प्रधानमन्त्री ओलीको समस्या त्यही हो।
भ्रष्टाचारका कुरा र सबै शक्ति आफूमा केन्द्रित गरी शासन गर्छु भन्ने जुन मान्यताबाट उहाँ चल्नुभएको छ। त्यसले गर्दा उहाँ बदनाम हुनुभएको हो।
'शासकविरुद्ध लेख्नेलाई बदनाम गर्ने खेल'
हरिबहादुर थापा, सम्पादक, अन्नपूर्ण पोस्ट
मलाई के लाग्छ भने सरकारका राम्रा नराम्रा दुवै कुरा सरकारकै क्रियाकलापमा आधारित भएर आउँछन्।
सरकारबाट जे आउँछ त्यसमा पत्रकारले आफ्नो तर्फबाट तथ्य बनाउने कुरा हुँदैन। जे तथ्य देख्छन् त्यही लेख्छन्।
नेपाल ट्रस्टको जग्गाबारे व्यक्तिलाई लाभ पुर्याउने गरी कानुन नै बनाएर भ्रष्टाचारको खेल भएको छ र त्यसबारे पत्रकारहरूले लेखेपछि सत्ता डराएको छ।
शासकविरुद्ध लेख्नेलाई पहिला जेल पठाइन्थ्यो, अहिले भाषणबाट सिध्याउने प्रयत्न हुँदैछ।
पत्रकारहरूले राम्रा कामबारे राम्रै लेखेका छन् र नराम्रालाई नराम्रै लेखेका छन्।
मिसनकै रूपमा सरकारविरुद्ध कोही लागेको देखिँदैन। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले फेक न्यूज भन्दै जसरी मिडियाको उछितो काढे। त्यसैको यो लहर हो।
तर यो अमेरिकाको जस्तो समाज होइन। हाम्रो सानो समाज छ। प्रत्येक शासकको रूप आमनागरिकलाई थाहा छ।
यो सरकारको मात्रै होइन, हरेक सरकारको चाहना आफ्ना कर्तुत बाहिर नआऊन् भन्ने हुन्छ।
लेख्नेहरूलाई बदनाम गर्ने अहिलेको खेल होइन, पहिलाकै खेल हो। शासकविरुद्ध लेख्नेलाई पहिला जेल पठाइन्थ्यो, अहिले भाषणबाट सिध्याउने प्रयत्न हुँदैछ।
'मिडियाप्रति पूर्वाग्रह'
कृष्णज्वाला देवकोटा, सम्पादक, नयाँ पत्रिका
प्रधानमन्त्रीको जनतासँगको संवाद गर्ने शैलीमा ठूलो समस्या छ। प्रधानमन्त्रीको यो समस्या मिडियासँगको संवादमा पनि छ।
उहाँले खुलस्त हिसाबले मिडियासँग छलफल गरेको मलाई थाहा छैन। सञ्चारमाध्यमले समर्थन गरेका छैनन् भन्ने कुरा उहाँलाई लागेको देखिन्छ।
तर मैले यी यी उपलब्धि हासिल गरेँ, सरकारका उपलब्धि यी यी हुन् भनेर मिडियासामु उहाँले व्यवस्थित रूपमा राखेको मैले देखेको छैन।
सत्तामा भएका मान्छेहरूको मनोविज्ञान बेग्लै हुँदोरहेछ।
म नयाँ पत्रिकाको सम्पादक भएको १३ वर्ष भयो। आजका दिनसम्म कुनै पनि प्रधानमन्त्री मिडियालाई धन्यवाद दिएर बाहिरिएको मैले देखेको छैन।
सत्ताको मानसिकता अरूमा भन्दा हाम्रो प्रधानमन्त्रीमा अझ बढी छ।
सत्तामा भएका मान्छेहरूको मनोविज्ञान बेग्लै हुँदोरहेछ... सत्ताको मानसिकता अरूमा भन्दा हाम्रो प्रधानमन्त्रीमा अझ बढी छ।
आफूले गरेका राम्रा कामलाई मिडियाले मान्यता दिएन भन्ने सोचमै त्रुटि छ किनभने राम्रा कामलाई मिडियाले त्यति नै स्थान दिएका छन् जति नराम्रा कामका लागि दिएका छन्।
उहाँले सुरुदेखि चित्त नै दुखाउँदै आउनुभएको छ। उहाँमा कहीँ न कहीँ मिडियाप्रति एक खालको पूर्वाग्रह छ। त्यो पूर्वाग्रह बेलाबेलामा झल्किरहन्छ।
पछिल्लो समय सरकारका एकपछि अर्को गरी कमजोरी प्रकट भएका छन् जस्तो कि प्रिन्टिङ प्रेसका कुरामा, सूचना विधेयकका कुरामा र प्रधानमन्त्रीसँग निकट सम्बन्ध रहेको मानिने यती घरानालाई अनुचित संरक्षण गरेको कुरामा।
यी घटनाहरू बाहिर आइरहँदा प्रधानमन्त्री कुनै न कुनै रूपमा थप आक्रोशित भएको हुनुपर्छ जस्तो लाग्छ।
यातायातमा सिन्डिकेटविरुद्ध उहाँहरूले अग्रसरता लिनुभयो तर बीचमै हरायो। केही सुरुआत पनि राम्ररी टुङ्गिएका छैनन्।
एउटा ठूलो उपलब्धि सोध्नुभयो भने म १३ औँ दक्षिण एशियाली खेलकुद सम्पन्न गराएकोलाई भन्छु।
'आलोचना नसहने स्वभाव'
अरुण बराल, सम्पादक, अनलाइन खबर
प्रधानमन्त्री केपी शर्मा ओली सुरुदेखि नै मिडियाप्रति नकारात्मक हुनुहुन्छ। उहाँको स्वभाव नै आलोचना नसहने हो।
सञ्चारमाध्यमले त आलोचना गर्छन्। त्यो भएर प्रधानमन्त्री सुरुदेखि नै सञ्चारमाध्यमप्रति नकारात्मक हुनुहुन्छ।
जे जे भएका छन् ती सबै सञ्चारमाध्यमले लेखेका छन्। सडक कालोपत्र हुँदैछ भन्ने पनि मिडियाले लेखेका छन्।
त्यति मात्रै होइन इन्जिनियरले डिजाइन गरेर अब यस्तो बन्दैछ भन्ने पनि उनीहरूले लेखेका छन्।
सञ्चारमाध्यमले त आलोचना गर्छन्। त्यो भएर प्रधानमन्त्री शुरूदेखि नै सञ्चारमाध्यमप्रति नकारात्मक हुनुहुन्छ।
सरकारले के सोच्दैछ भन्ने पनि सञ्चारमाध्यमले लेखेका छन्, बाँकी केही पनि राखेका छैनन् किनभने समाचार नलेखी मिडिया त्यत्तिकै बस्न मिल्दैन।
उहाँले राम्रो त देख्नु नै हुन्न। मिडियालाई नै उहाँले राम्रो देख्नुहुन्न। अहिले आएर उहाँ चिढिनुभएको होइन।
उहाँले सडकलाई मानवमुक्त गराएँ भन्नुहुन्छ। उहाँले पनि त सम्झिनलायक केही भन्नुभएको छैन।
सम्झिनलायक त के भन्दाखेरी सरकार नौ नौ महिनामा ढल्थ्यो। यो ढलेको छैन। स्थायी सरकार बनेको छ, त्यति हो।
'आंशिक रूपमा सत्य'
माधवप्रसाद तिवारी, सम्पादक, दैनिकी डट कम
प्रधानमन्त्रीको भनाइ आंशिक रूपमा सत्य त छ। तर उहाँले भने जस्तै राम्रा कुराको चर्चा नै भएन भन्ने होइन।
राम्रा कामबारे पनि समाचार बनेका छन्। दैनिक पत्रिकामा ब्यानर न्यूज भएका छन्, टेलिभिजनका हेडलाइन बनेका छन्, र अनलाइनमा पनि आएका छन्।
केही विषयमा सरकारलाई सञ्चारमाध्यमले जसरी खबरदारी गरिरहेका छन् त्यसलाई लिएर प्रधानमन्त्रीलाई 'इरिटेशन' भएको हुन सक्छ।
प्रधानमन्त्रीले भन्नुभएको जस्तै राम्रा कामलाई हेर्नै नसक्ने सम्पादक छन् भन्ने मलाई लाग्दैन।
सरकारलाई प्रतिपक्षका रूपमा खबरदारी मात्रै गर्नुपर्छ भन्ने मानसिकता पनि कहिलेकाहीँ देखिन्छ। तर त्यो चाहिँ ज्यादै कम देखिन्छ।
नेपाली सञ्चारमाध्यम अझै समृद्ध र परिष्कृत हुँदै गएका छन्। सरकारलाई प्रतिपक्षका रूपमा खबरदारी मात्रै गर्नुपर्छ भन्ने मानसिकता पनि कहिलेकाहीँ देखिन्छ। तर त्यो चाहिँ ज्यादै कम देखिन्छ।
प्रधामन्त्रीले भन्नु भए जस्तै, सोच्नु भए जस्तै समाचार नआएको पनि हुन सक्छ र उनीहरूले नदिन पनि सक्छन्।
त्यसैलाई आधार बनाएर प्रधानमन्त्रीले चित्त दुखाउनु स्वाभाविक हो जस्तो लाग्दैन मलाई।
कतिपय अवस्थामा केही मिडियाका सञ्चालकहरूको स्वार्थ देखिएको पनि हुन सक्छ।
अनि व्यवस्थापनको नीति अनुसार सम्पादकले गर्दा समाचारमा केही प्रभाव देखिएको हुन सक्छ। तर यो नगन्य छ।
सिन्डिकेटको विरुद्धमा, म्यानपावरका ठगीका विरुद्धमा र अरू जे जति सम्झिनलायक सरकारले काम थालेको थियो ती सबै बीचमै छोडिँदै गए।
'मिडियाको नियत निको छैन'
लक्ष्मी अधिकारी, सम्पादक, पोस्टखबर डट कम
सरकारप्रति मिडियाको नियत निको देखिँदैन। सरकारका कमीकमजोरी पक्कै पनि होलान्। तर के यो सरकारले सम्झनलायक काम चाहिँ केही गरेको छैन त?
सरकारले गरेका राम्रा कामलाई पनि मिडियाले कसरी नकारात्मक रूपमा प्रस्तुत गर्ने गरेका छन् भनी बुझ्न दुईवटा उदाहरण काफी छन्।
पहिलो हो, बालुवाटार प्रकरण। बालुवाटार प्रकरण मिडियाले उत्खनन् गरेर सतहमा ल्याएको होइन।
सरकारले बनाएको छानबिन समितिले वर्षौँदेखि सरकारी जग्गा कब्जा गरेर बसेका भूमाफियाहरूलाई नाङ्गेझार बनाइदियो।
कब्जामा परेको जग्गा फिर्ता गर्ने प्रक्रिया आरम्भ भयो। यो प्रकरणलाई मिडियाले 'मिसलिड' गर्न खोजे।
तिनीहरूले बालुवाटार प्रकरणबारे यसरी लेखे कि मानौँ खोजी पत्रकारिता गरेर तिनले सबै विवरण बाहिर ल्याएका हुन्।
ध्यान दिएर हेर्ने हो भने सरकारसम्बन्धी मिडियाले गर्ने हरेक 'रिपोर्टिङ'मा यस्तो पूर्वाग्रह झल्किएको पाउन सकिन्छ।
जग्गा माफियाको जालो तोड्न खोजेबापत सरकारलाई मिडियाले साथ दिनुपर्थ्यो। तर मिडियाले उल्टो सरकारलाई दोषी देखाउन खोजे। के बालुवाटार जग्गा हिनामिना यो सरकारको पालामा भएको थियो?
के हिनामिनामा संलग्न भूमाफिया यो सरकारका सदस्य थिए? कुनै अमुक नेताले खरिद गरेको आठ आनाको त्यान्द्रो समातेर मिडियाले ११३ रोपनी सरकारी जग्गा फिर्ता गराउने सरकारको प्रयासलाई किन खेदे?
दोस्रो हो, सुनकाण्ड। दशकौँदेखि चलिआएको सुन तस्करीको जालोलाई ओली सरकारले तोडिदियो। ६०-७० जना मुद्दा खेपिरहेका छन्।
यस विषयमा पनि मिडिया पूर्वाग्राही रूपमा प्रस्तुत भए। सुन तस्करहरूको ढाड भाँच्ने सरकारलाई तिनले साथ दिनुपर्थ्यो।
तर 'केपी ओलीको पालामा सुनतस्करी फस्टायो, यतिबेलै सुन तस्करीका घटना भटाभट बाहिर आउनु यसको प्रमाण हो' भन्ने शैलीमा मिडियाले समाचार लेखे।
यी त केही प्रतिनिधि घटना मात्र हुन्। ध्यान दिएर हेर्ने हो भने सरकारसम्बन्धी मिडियाले गर्ने हरेक 'रिपोर्टिङ'मा यस्तो पूर्वाग्रह झल्किएको पाउन सकिन्छ।

तस्बिर स्रोत, RSS
के भनेका थिए ओलीले?
व्यवसायीहरूसँगको कुराकानी गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकारले राम्रा कामबारे समाचार नै नबन्ने गरेको गुनासो गरे।
त्यस क्रममा उनले काठमाण्डू उपत्यकाका सडकहरूलाई 'सडक-मानव' मुक्त बनाएको विषयको पनि चर्चा गरे।
आफ्नो सरकार आएपछि काठमाण्डूका सडकमा बालबालिका नरहेको भन्दै प्रधानमन्त्रीले उनीहरूलाई खाने, बस्ने र पढाउने प्रबन्ध मिलाइएको उल्लेख गरे।
"मान्छेहरू सडकमा लडिरहेका हुन्थ्ये, झिँगा भन्किराख्या हुन्थ्यो, कुकुरसँग सुतिराख्या हुन्थे, कुकुरले घाउ चाटिराख्या हुन्थ्यो। तर आज त्यस्ता व्यक्तिहरू सडकमा छैनन्।"
"हेर्दा यी साना कुरा लाग्छन्, तर सामाजिक रूपमा यसले अर्थ राख्छ। हामीले काम गरेका छौँ।"
उनले भने: "त्यस्ता कामको प्रशंसामा लेख्ने, प्रसारण गर्ने टेलिभिजन छैनन्। त्यस्ता काम छाप्ने पत्रपत्रिका छैनन्।"
"त्यस्ता काम प्रशंसा गर्ने मुटु भएका, मन भएका सम्पादक छैनन्। छासछुस कसैले लेखिहाल्यो भने पनि गाली खान्छ।"








