प्रदेश नं ३ को नाम वाग्मती र राजधानी हेटौँडा बनाउने प्रस्ताव दर्ता, नेकपाका आधा सांसद 'असन्तुष्ट'

प्रदेश ३

तस्बिर स्रोत, Province No. 3

देशको सङ्घीय राजधानी काठमाण्डू पनि भएको प्रदेश नं ३ को नाम वाग्मती र प्रादेशिक राजधानी मकवानपुरको हेटौँडा रहनेगरी प्रदेशसभाका सांसदहरूले एउटा प्रस्ताव शनिवार दर्ता गराएका छन्।

शुक्रवार सत्तारूढ नेकपाको संसदीय दलभित्र झन्डै ४० सांसदले प्रादेशिक राजधानीको विषयमा असन्तुष्टि व्यक्त गरेका थिए। तर भोलिपल्ट प्रदेशसभाको बैठकमा औपचारिक रूपमा उक्त प्रस्ताव दर्ता भएको हो।

उक्त प्रस्तावबारे आइतवार मतदान हुने र प्रदेश नं ३ को नाम र राजधानी तय हुने प्रदेशसभाका सांसद तथा नेकपाका मुख्य सचेतक रामेश्वर फुयालले बीबीसीलाई बताए।

"नाम र राजधानी कहाँ तोक्ने भन्ने विषयमा हामीले आज प्रस्ताव दर्ता गरेका छौँ," उनले भने, "त्यसबारे आजै दिउँसो प्रदेशसभामा अलगअलग छलफल हुन्छ।"

उनका अनुसार आइतवार त्यस विषयमा उठेका प्रश्नको उत्तर प्रस्तावकले दिएपछि मतदान हुनेछ।

नेकपाभित्रै असन्तुष्टि

काठमाण्डू उपत्यका तथा देशको मध्यक्षेत्र भएको प्रदेशको नाम तथा राजधानीबारे निर्णय गर्ने प्रक्रियामा पार्टीले हस्तक्षेप गरेको भन्दै केही सांसदहरू असन्तुष्ट देखिएका छन्।

नेकपाबाट प्रदेशसभामा काभ्रेबाट निर्वाचित चन्द्र लामाले पार्टी नेतृत्वले प्रस्ताव गरेको नाम र राजधानीप्रति आफ्नो गम्भीर असहमति व्यक्त गरेका छन्।

प्रदेशको नाम वाग्मती र राजधानी हेटौँडा तोक्ने सिफारिसप्रति नेकपाका झन्डै आधा सांसद असन्तुष्ट रहेको उनले बताए।

"प्रदेश नं ३ का जनताको अधिकारलाई कुण्ठित पार्नेगरी जसरी दलको निर्णय आयो त्यसमा हामीले लिखित प्रस्तावको रूपमा इतिहासमा रहनेगरी संसदीय दलमा लिखित प्रस्ताव दर्ता गरेका हौँ," लामाले भने, "हिजै हामीलाई ह्विप जारी गरेर दलको निर्णय मान्न निर्देशन दिइएको छ।"

प्रदेश ३

संसदीय अभ्यासअनुरूप प्रस्तावको पक्षमा मतदान गर्नुपर्ने बाध्यता भए पनि आफ्नो असन्तुष्टिलाई अभिलेखमा रहनेगरी दर्ता गराइएको उनले बताए।

नेकपाको बहुमत रहेको उक्त प्रदेशमा ११० सांसदमध्ये ८० जना नेकपाका छन्।

मतदान आइतवार

साझा पार्टीले नाम वाग्मती राख्ने विषयमा आफ्नो सहमति रहे पनि राजधानी काभ्रेको धुलिखेललाई बनाउनुपर्ने प्रस्ताव गरेको छ।

यी दुवै प्रस्तावबारे शनिवार नै छलफल हुने र आइतवार मतदानबाट निर्णय गरिने नेकपा प्रदेश नं ३ का मुख्य सचेतक रामेश्वर फुयालले बताए।

यसअघि नेकपा सचिवालय बैठकले स्थायी राजधानी हेटौँडा र नाम वाग्मती राख्ने निर्णय गरेको थियो।

संविधानको धारा २८८ को उपधारा २ अनुसार प्रदेशको राजधानी सम्बन्धित प्रदेशसभामा तत्काल कायम रहेका सदस्य सङ्ख्याको दुईतिहाइ बहुमतबाट निर्णय हुनुपर्नेछ।

सातवटा प्रदेशमध्ये अहिलेसम्म कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशले मात्र आफ्नो नाम र राजधानीको टुङ्गो लगाएका छन्।