हिमाली र पहाडी क्षेत्रमा तीन दिनसम्म हिमपात र वर्षा हुने

तस्बिर स्रोत, RSS
आगामी तीन दिन नेपालको हिमाली तथा उच्च पहाडी भूभागमा हिमपात र वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आगामी शनिवारसम्म मौसम बदली रहने विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो।
महाशाखाका अनुसार अहिले पनि कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा हिमपात भइरहेको छ।
त्यस्तो हिमपात शुक्रवार र शनिवार पनि जारी रहने महाशाखाका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले बताए।
उनले भने, "अहिले पश्चिमी क्षेत्रमा मौसम बदली रहेको छ यो विस्तारै पूर्वतर्फ सर्छ। अहिले पनि पश्चिमका उच्च पहाडी भेगमा हल्का वर्षा र हिमपात भएको छ। बिहीवार रातिदेखि मध्य तथा पूर्व क्षेत्रमा पनि बदली हुने सम्भावना देखिन्छ।"
पूर्व सर्दै पश्चिमी वायु
उनका अनुसार पश्चिमी वायु पूर्वतर्फ सर्दै विस्तारै नेपालबाहिर जाने गर्छ।
काठमाण्डू उपत्यकामा पनि बिहीवार रातिदेखि हल्का वर्षा हुने सम्भावना रहेको मौसमविद्हरूले बताए। उपत्यकाका केही स्थानमा दिउँसो हल्का वर्षा भएको छ।

उनीहरूका अनुसार काठमाण्डूमा न्यूनतम तापक्रममा खासै नघट्ने तर अधिकतम तापक्रम घट्ने सम्भावना रहेको छ।
प्रधानाङ्गका अनुसार बुधवार २.५ डिग्री सेल्सीअस रहेको काठमाण्डूको न्यूनतम तापक्रम बिहीवार बढेर ४.५ डिग्री सेल्सीअस पुगेको छ।
तर वर्षा भएपछि यसमा पनि केही कमी आउन सक्ने मौसमविद्हरू बताउँछन्।
हिमपात र वर्षाका कारण चिसो बढ्ने सम्भावना रहेकाले सतर्कता आपनाउन उनीहरूले सुझाव दिएका छन्।
पश्चिमी वायुको प्रभाव तराईमा भने कम पर्ने प्रधानाङ्गले बताए।
"यो प्रणालीको असर पहाडी र हिमाली क्षेत्रमा धेरै देखिने भएकाले तराईमा शीतलहर चल्ने सम्भावना भने कम छ," उनले भने।
यो जाडो मौसमकै जाडो दिन
विभागका अधिकारीहरूका अनुसार गत डिसेम्बर २८ तारिखमा काठमाण्डूमा यो जाडो मौसमकै सबैभन्दा धेरै चिसो भएको थियो।
त्यस दिन काठमाण्डूको न्यूनतम तापक्रम ०.६ डिग्री सेल्सीअस रहेको थियो।
विभागले तापक्रम मापन गर्ने केन्द्रहरू राखेका स्थानमध्ये यो मौसममा सबैभन्दा कम तामक्रम जुम्लामा रेकर्ड गरिएको छ।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 1
गत डिसेम्बर १७ तारिखमा जुम्लामा न्यूनतम तापक्रम माइनस ७.२ डिग्री सेल्सीअस रहेको थियो।
बिहीवार भने जुम्लाको न्यूनतम तापक्रम २.६ डिग्री सेल्सीअस छ।
आगामी तीन दिनका लागि जल तथा मौसम विज्ञान विभागले गरेको पूर्वानुमान
पुस १७ गते (बिहीवार)
- दिउँसो: देशभरि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका अधिकांश स्थानमा हल्कादेखि मध्यम हिमपात र पश्चिम तथा मध्यका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको तथा पूर्वका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना
- राति:देशभरि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको देखिन्छ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना
पुस १८ गते (शुक्रवार)
- दिउँसो: देशभरि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि ठूलो हिमपात र पहाडी तथा तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 2
- राति: देशभरि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि ठूलो हिमपात र पहाडी तथा तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
पुस १९ गते (शनिवार)
- दिउँसो: देशभरि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात र पहाडी तथा तराईका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
- राति: देशभरि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि ठूलो हिमपात र पहाडी तथा तराईका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना








