चीनमा यौनकर्मी र तिनका ग्राहकलाई श्रम शिविर पठाउने व्यवस्था खारेज

पहिला पक्राउ परेका यौनकर्मीहरूका अनुसार उनीहरूलाई शिविरमा श्रम गर्न लगाइन्थ्यो

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, पहिला पक्राउ परेका यौनकर्मीहरूका अनुसार उनीहरूलाई शिविरमा श्रम गर्न लगाइएको थियो

चीनले वेश्यावृत्तिको आरोपमा पक्राउ परेका महिला र तिनका ग्राहकलाई दुई वर्षसम्म हिरासतमा राख्न मिल्ने एउटा दण्ड व्यवस्था खारेज गरेको छ।

यसअघि पक्राउ परेका यौनकर्मी महिला र तिनका ग्राहकलाई "शिक्षा शिविर" पठाइन्थ्यो। त्यहाँ उनीहरूलाई पुतली र घरायसी प्रयोजनमा प्रयोग हुने सामग्री बनाउन लगाइन्थ्यो।

चिनियाँ समाचारसंस्था सिन्ह्वाका अनुसार डिसेम्बर २९ देखि सो व्यवस्था अन्त्य भएपछि अहिले हिरासतमा भएका व्यक्तिहरूलाई मुक्त गरिनेछ।

चीनमा वेश्यावृत्ति अवैधानिक छ। वेश्यावृत्ति गरेको प्रमाणित हुँदा १५ दिन थुना र ५,००० यूआन जरिवाना हुने प्रावधान छ।

अनुपयुक्त

बीस वर्षअघि "हिरासत र शिक्षा"को प्रणाली ल्याइएपछि "राम्रो सामाजिक वातावरण र सुव्यवस्था" कायम गर्न सहयोग पुगेको दाबी चीनको सरकारी सञ्चारमाध्यमले गरेको छ।

तर पछि त्यो प्रणाली अनुपयुक्त हुँदै गएको उसको भनाइ छ।

सन् २०१३ मा एनजीओ एशिया क्याटलिस्टले गरेको एउटा अध्ययनले उक्त प्रणालीको प्रभावकारिताबारे प्रश्न गरेको थियो।

उक्त अध्ययनका लागि दुईवटा सहरका ३० महिला यौनकर्मीसँग अन्तर्वार्ता लिइएको थियो।

पक्राउ परेका मानिसले थुनामुक्त भएपछि काम लाग्ने कुनै नयाँ सीप सिक्न नपाएको उक्त अध्ययनको दाबी थियो। बरु थुनुवाहरूलाई हातले गर्ने काम लगाइएको प्रतिवेदनमा उल्लेख थियो।

"हामीले अन्तर्वार्ता गरेका सबै यौनकर्मीहरू थुनामुक्त हुनेबित्तिकै यौन व्यवसायमा फर्किए," प्रतिवेदन भन्छ।

चिनियाँ नीति

यौनकर्मी, तिनका ग्राहक, प्रहरी र विशेषज्ञसँग अन्तर्वार्ता गरेर तयार पारिएको ह्यूमन राईट्स वाचको २०१३ को एउटा प्रतिवेदनमा अपराध गरेको स्वीकार गराउन प्रहरीले यौनकर्मीहरूलाई पिट्ने गरेको उल्लेख छ।

एक महिलाका अनुसार उनलाई झुक्याएर अपराध गरेको स्वीकार गराइयो।

"हस्ताक्षर गरे मलाई चारपाँच दिनमा छोडिदिने प्रहरीहरूले बताए," उनले भनिन्, "तर हिरासत र शिक्षा शिविरमा छ महिना थुनियो।"

एशिया क्याटलिस्टका निर्देशक शेन टिन्टिङका अनुसार बलपूर्वक श्रम गराइने थुनुवा शिविर अन्त्य गर्ने निर्णय सकारात्मक छ र यो यौनकर्मीहरूको अधिकार रक्षा गर्ने एउटा सानो पाइला हो।

"यौन व्यवसायलाई सुरक्षित पेसा बनाएर यौनकर्मीको स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्नुभन्दा पनि चिनियाँ कानुन निषेध र दमनमा केन्द्रित छ," उनले भनिन्।

सन् २०१३ मा चीनले सानातिना अपराधीलाई "श्रम शिविरमा पुनर्शिक्षा" दिने प्रणाली अन्त्य गरेको थियो।

चीन सरकारले उइगर समुदायका मानिसहरूलाई पढाउन शिविर सञ्चालन गरिएको बताउने गरेको छ
तस्बिरको क्याप्शन, चीन सरकारले उइगर समुदायका मानिसहरूलाई पढाउन शिविर सञ्चालन गरिएको बताउने गरेको छ

तर चीनले "फेरि शिक्षा दिने" नीति त्यागेको छैन।

पश्चिमोत्तर शिन्जियाङ क्षेत्रमा अतिवाद नियन्त्रण गर्ने उद्देश्यले "स्वैच्छिक शिक्षा शिविरहरू" सञ्चालन गरिएको अधिकारीहरू बताउँछन्।

तर मानवाधिकारवादी समूहहरूका अनुसार चीनमा झन्डै १० लाख मानिसलाई हिरासतमा लिएर बिनासुनुवाइ बन्दी शिविरमा राखिएको छ।

तीमध्ये अधिकांश उइगुर मुस्लिम समुदायका मानिस छन्।

उनीहरूलाई धर्मको आफ्नो निन्दा गर्न वा परित्याग गर्न लगाइएको दाबी गरिएको छ।

तर चीनले उइगुर मुस्लिमलाई दुर्व्यवहार गरेको आरोपको निरन्तर खण्डन गर्दै आएको छ।