अनुष्का श्रेष्ठ: मिस वर्ल्ड २०१९ मा दुई पुरस्कार जित्न सफल नेपाल सुन्दरीलाई प्रशंसाको ओइरो

अनुष्का श्रेष्ठ

तस्बिर स्रोत, Reuters

शनिवार राति लन्डनमा सम्पन्न विश्व सुन्दरी प्रतियोगिता मिस वर्ल्ड २०१९ को उत्कृष्ट १२ मा छानिन सफल नेपाल सुन्दरी अनुष्का श्रेष्ठको सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ।

तर कतिपय प्रशंसकहरूले उनले मिस वर्ल्डको उपाधि पाउन नसकेकोमा दु:ख व्यक्त गरेका छन्।

प्रतियोगिताको अन्तिम चरणमा केन्या, नाइजिरिया, ब्रजिल, मेक्सिको, भारत, फिलिपिन्स, भियतनाम, जमैका, फ्रान्स, रुस र कूक आईल्यान्ड्सका सुन्दरीहरूसँगै नेपालकी अनुष्का श्रेष्ठ पनि उत्कृष्ट १२ मा पर्न सफल भएकी थिइन्।

तर जमैकाकी टोनी-एन सिंहले फ्रान्स र भारतका प्रतियोगीलाई उछिन्दै यस वर्षको मिस वर्ल्डको उपाधि जित्न सफल भइन्।

अनुष्का श्रेष्ठले के उपाधि जितिन्?

उत्कृष्ट १२ मा पर्न सफल अनुष्का श्रेष्ठले 'ब्यूटी विथ अ पर्पस' शीर्षकमा पुरस्कार पाएको घोषणा भएपछि लन्डनस्थित हल दर्शकको तालीले गुञ्जायमान भएको थियो।

मिस वर्ल्ड २०१९

तस्बिर स्रोत, Reuters

त्यसपछि उनलाई अन्य देशका प्रतियोगीहरूले अङ्गालो हाल्दै खुसी व्यक्त गरेका थिए।

शनिवार राति नै श्रेष्ठले आफ्नो इन्टाग्राम पेजमा लेखेकी छिन्, "मिस वर्ल्ड २०१९ मा नेपालले 'ब्यूटी विथ अ पर्पस'को पुरस्कार जितेको छ! हामी 'हेड टु हेड विन' र 'मल्टिमिडिया च्याम्पियन' पुरस्कार पनि घर लैजाँदै छौँ र #नेपालीमाया ले विश्वमा ठूलो प्रभाव पारेको छ!!! यो हामी सबैका लागि हो!!!"

यो Instagram पोस्ट छोड्नुहोस्, 1
Instagram को सामग्रीलाई अनुमति छ?

यो लेखमा Instagram बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ Instagram cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

Instagram पोस्ट समाप्त, 1

अनुष्का श्रेष्ठको यो सफलतालाई एक वर्षअघि मिस वर्ल्ड २०१८मा शृङ्खला खतिवडाले हासिल गरेको उपलब्धिसँग धेरैले तुलना गरेका छन्।

यो Facebook पोस्ट छोड्नुहोस्

सामग्री उपलब्ध छैन

थप Facebook मा हेर्नुहोस्अन्य वेबसाइटका सामग्रीहरूका लागि बीबीसी जिम्मेवार छैन।

Facebook पोस्ट समाप्त

खतिवडाले पनि गत वर्ष 'ब्यूटी विथ अ पर्पस' र 'मल्टिमिडिया च्याम्पियन' पुरस्कार पाएकी थिइन्।

यसपटक श्रेष्ठले 'हेड टु हेड विन' पनि जितेकी छन्।

शृङ्खला खतिवडाले दिइन‍् बधाई

अनुष्का श्रेष्ठको सफलताप्रति शृङ्खला खतिवडाले पनि खुसी व्यक्त गरेकी छिन्।

उनले आफ्नो इन्टाग्राम मोमेन्ट्समा श्रेष्ठको तस्बिर प्रेषित गर्दै उनको "कसैको जीवन बदल्ने अभियान" पुरस्कृत भएको भन्दै बधाई दिएकी छन्।

बधाई ज्ञापन

तस्बिर स्रोत, Instagram/Shrinkhala

मिस नेपाल र मिस वर्ल्डमा सहभागी भएका अन्य नेपाली युवती तथा प्रशंसकहरूले पनि श्रेष्ठको सफलताप्रति सन्तोष प्रकट गरेका छन्।

उनको इन्टाग्राम सन्देशमा प्रतिक्रिया लेख्दै सन् २०१७ की मिस युनिभर्स नेपाल उपाधि विजेता नगमा श्रेष्ठले अनुष्का श्रेष्ठको सफलताप्रति प्रसन्नता व्यक्त गर्दै बधाई दिएकी छन्।

धेरै नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले मिस वर्ल्डको प्रत्यक्ष प्रसारण र त्यसअघिका प्रतियोगिताहरूलाई निकै चासोपूर्वक नियालेका थिए।

केहीले मिस वर्ल्डको फेसबुक पेजमै गएर आफ्ना प्रतिक्रिया लेखेका छन्।

त्यहाँ प्रतिमा भट्टराईले लेखेकी छिन्, "नेपालीलाई मञ्चमा देख्न पाउँदा निकै गौरवान्वित महसुस गर्दैछु। गजब गरेकी छन्। हाम्री राम्री चेली निकै मिहिनेती र दत्तचित्त छन्।"

असन्तुष्टि र दु:खमनाउ

धेरैले अनुष्का श्रेष्ठको प्रस्तुतिको प्रशंसा गरेका छन्। तर केहीले उनी मुख्य उपाधिको त्यति नजिकै पुगेर पनि जित्न नसकेकोमा थकथकी मानेका छन्।

मिस वर्ल्ड २०१९ मा अनुष्का श्रेष्ठ

तस्बिर स्रोत, Reuters

मिस वर्ल्डको फेसबुक पेजमा श्रेया अमात्यले लेखिकी छन्, "त्यति उपाधि जितेकी मिस नेपाल त उत्कृष्ट पाँचमा पर्नुपर्ने हो। उनले निकै आत्मविश्वासका साथ उत्तर दिइन्। उनले अन्य प्रतिस्पर्धीलाई चुनौती दिइन्।"

उनले जस्तै असन्तुष्टि प्रकट गर्दै सगुन सनशाइन गुरुङ लेख्छिन्, "यो नतिजालाई म विश्वास गर्नै सकिरहेकी छैन। मिस नेपाल त्यस्ती बलियी प्रतिस्पर्धी थिइन्, उनी कम्तीमा उत्कृष्ट पाँचमा त पर्नुपर्थ्यो।"

पुरस्कार केका लागि

भूतपूर्व मिस नेपाल शृङ्खला खतिवडाले भने जस्तै सिन्धुपाल्चोकको एउटा गाउँमा अनुष्का श्रेष्ठले "कसैको जीवन बदल्ने अभियान" सञ्चालन गरिरहेको आफ्ना पोस्टहरूमा उल्लेख गरेकी छन्।

उनको त्यही कर्मबारे बनाइएको भिडिओ उनले समाजिक सञ्जालमार्फत् फैलाउने क्रममा धेरैको प्रशंसा बटुलेकी छन्।

त्यसैका लागि उनलाई मिस वर्ल्ड प्रतियोगितामा 'मल्टिमिडिया च्याम्पियन' पुस्कार दिइएको मिस वर्ल्डको आधिकारिक वेबसाइटमा उल्लेख छ।

तेइस वर्षअघि काठमाण्डूमा जन्मिएकी अनुष्का श्रेष्ठले यसअघि अस्ट्रेलियामा मिस ओशनिया २०१८ नामक उपाधि जितेकी थिइन्। उच्चशिक्षा हासिल गर्न उनी सिड्नी पुगेकी थिइन्।

सोस्लिङ गाउँमा समाजसेवा

माध्यमिक तहसम्मको अध्ययन काठमाण्डूमै पूरा गरेकी उनले केही समयदेखि राजधानीदेखि ७० किलोमिटर पूर्वोत्तरमा रहेको हेलम्बु क्षेत्रको सोस्लिङ गाउँमा ग्रामीण विकास र सशक्तीकरणको काम गरिरहेको उल्लेख गरेकी छन्।

यो Instagram पोस्ट छोड्नुहोस्, 2
Instagram को सामग्रीलाई अनुमति छ?

यो लेखमा Instagram बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ Instagram cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

Instagram पोस्ट समाप्त, 2

त्यो परियोजनामार्फत् सोस्लिङ गाउँका १४० घर परिवारको शिक्षा, स्वास्थ्य र आर्थिक सबलीकरणको काम भइरहेको उनको भनाइ छ।

त्यसबारेको छोटो भिडिओ शनिवार राति लन्डनमा सम्पन्न मिस वर्ल्डको समापन समारोहमा पनि देखाइएको थियो।

उनको त्यही कर्मको प्रशंसा गर्दै उनले 'ब्यूटी विथ पर्पस' अर्थात् 'उद्देश्यसहितकी सुन्दरी' शीर्षकको पुरस्कार पाउँदा उनी र उनका प्रशंसक खुसी भएका हुन्।