ट्विटर: निष्क्रिय प्रयोगकर्ताका खाता तत्काल बन्द नगर्ने

ट्विटरले डिसेम्बर ११ देखि निष्क्रिय अकाउन्टहरूलाई हटाउने बताएको थियो

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, ट्विटरले डिसेम्बर ११ देखि निष्क्रिय अकाउन्टहरूलाई हटाउने बताएको थियो
    • Author, डेभ ली
    • Role, उत्तर अमेरिका प्रविधि संवाददाता

विश्वव्यापी विरोध भएपछि ट्विटरले तत्कालका लागि निष्क्रिय खाताहरू बन्द गर्ने आफ्नो योजना स्थगन गर्ने बताएको छ।

सो सामाजिक सञ्जालले मृत प्रयोगकर्ताहरूको खातालाई 'अमर' बनाउने प्रक्रिया सुरु नगरिएसम्म तिनलाई नहटाउने बताएको छ।

ट्विटरले यससम्बन्धी नीति नहुनु आफ्नो कमजोरी भएको स्वीकारेको छ।

"हामी यसबाट सिर्जित भ्रमका लागि क्षमा चाहन्छौँ र यसबारे तपाईँलाई जानकारी दिनेछौँ," बुधवार ट्विटरले लेखेको छ।

हटाउने योजना

यसअघि ट्विटरले डिसेम्बर ११ देखि ६ महिनाभन्दा बढी निष्क्रिय रहेका खाताहरू बन्द गर्न थाल्ने घोषणा गरेको थियो।

यसरी बन्द गरिने योजनामा प्रयोगकर्ताको मृत्युका कारण निष्क्रिय भएका खाताहरू पनि परेका थिए।

ट्विटरले छ महिनादेखि निष्क्रिय प्रयोगकर्ताले नयाँ परिवर्तित गोपनीयता नीतिमा सहमति जनाउन नसक्ने भएकाले यसो गर्न लागिएको बताएको छ।

एक प्रवक्ताले यसरी निष्क्रिय खाता हटाएपछि अन्यको फलोअर सङ्ख्याप्रतिको विश्वसनीयता बढ्ने बताएकी थिइन्।

हालका लागि लग-इन गरेको आधारमा सक्रियता मानिने भएपनि भविष्यमा ट्विटरमा गरिने गतिविधिका आधारमा सक्रियता निर्धारण गरिने बताइएको थियो।

इमेलमा जानकारी

सामाजिक सञ्जाल ट्विटरले असर पर्ने खाताका प्रयोगकर्तालाई इमेलमार्फत् सूचना दिएको हो।

उसले कति सङ्ख्यामा खाता बन्द गरिने हो त्यसबारे बताएको थिएन।

तर यसरी बन्द गरिने खाताहरूको सङ्ख्या दशौँ लाख हुन सक्ने अनुमान थियो।

यो कदमले ट्विटरको भन्ने गरिएको प्रयोगकर्ताको सङ्ख्यामा भने परिवर्तन हुने थिएन किनभने कम्पनीले दैनिक कम्तीमा एक पटक लग-इन गर्ने प्रयोगकर्ताहरू मात्रै सो सङ्ख्यामा समावेश गर्छ।

गत सेप्टेम्बरमा ट्विटरले आफ्नो प्रयोगकर्ताको सङ्ख्या १४ करोड ५० लाख भनेको थियो।