जापानमा महिला कामदारलाई चस्मा प्रतिबन्धमाथि नकारात्मक प्रतिक्रिया

चश्मा लगाएकी जापानी महिला

तस्बिर स्रोत, Getty Images

जापानमा महिलाहरूलाई काममा आउँदा चस्मा नलगाउन भनिएका विवरणहरू प्रकाशित भएपछि नयाँ बहस सुरु भएको छ।

स्थानीय समाचार माध्यममा केही कम्पनीहरूले विभिन्न कारण देखाउँदै महिलाहरूलाई चस्मा लगाउन "प्रतिबन्ध" लगाएको बताएका छन्।

खुद्रा सामान बेच्ने पसहहरूले चस्मा लगाउने सहयोगीहरूबाट ग्राहकलाई "चिसो भाव" प्रकट हुने बताएका थिए।

जापानका सामाजिक सञ्जालहरूमा पोशाक र कार्यक्षेत्रमा महिलाहरूबारे तीव्र बहस ल्याएको छ।

निप्पन टीभी नेटवर्क र बीजनेश इनसाइडरले यसबारे रिपोर्ट गरेका थिए जसमा कैयौँ कम्पनीहरूमा कसरी महिलाहरूलाई चस्मा लगाउन प्रतिबन्ध लगाइएको छ भन्ने देखाएका थिए।

त्यसमा विमान कम्पनीले सुरक्षाको कारण देखाएको र सौन्दर्य क्षेत्रमा काम गर्नेहरूले सौन्दर्य सामग्री प्रयोग गरेको प्रष्ट देख्न नसकिने कारण रहेको देखाइएको थियो।

तथाकथित "प्रतिबन्ध" कम्पनीको नीतिमा आधारित थिए वा थिएनन् भन्ने स्पष्ट छैन।

तर यो विषयले सामाजिक सञ्जालमा चर्को विवाद निम्त्याएको छ।

युमी इशिकावा

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, युमी इशिकावाले जून महिनामा जापानी सरकारमा आवेदन हालेकी थिइन्

चश्मामा प्रतिबन्ध अर्थात #glassesareforbidden भन्ने ह्याशट्याग सामाजिक सञ्जालमा चलेका छन्।

क्योयो विश्वविद्यालयको प्राध्यापक कुमिको नेमोटोले जापानमा पुराना भइसकेका नीतिहरूमाथि प्रतिक्रिया व्यक्त भइरहेको बताइन्।

उनले भनिन्, "महिलाहरूले किन चस्मा लगाउन हुँदैन भन्ने कुराले कुनै अर्थ राख्दैन। यो सबै लिङ्गसँग सम्बन्धित छ र यो भेदभावपूर्ण छ।"

प्राध्यापक नेमोटोले भनिन्, "रिपोर्टहरूले जापानको पुरानो र परम्परागत सोचाइ प्रतिविम्बित गरेको छ।"

"यसले महिलाहरूले कसरी काम गर्छन् भन्नेमा होइन कि महिला कस्ता देखिन्छन् भन्नेमा ध्यान दिने गरेको देखायो।"

हालै जापानमा कार्यस्थलमा अग्ला जु्ता लगाउनेबारे पनि त्यस्तै बहस भएको थियो।

लेखक तथा नायिका युमी इशिकावाले पोशाक तोक्न जापानले बन्द गर्नुपर्ने भन्दै जापान सरकारमा निवेदन दर्ता गरेकी थिइन्।

त्यो अभियानले निकै समर्थन पाएको थियो र सामाजिक सञ्जालमा पनि यसबारे व्यापक छलफल भएको थियो।

एकजना जापानी मन्त्रीले कम्पनीहरूले पोशाक निर्धारण गर्नु ठीक भनेपछि समर्थकहरू आक्रोशित बनेका थिए।