महिला आविष्कारकहरू किन निकै कम छन्

बीबीसी हन्ड्रेड विमिन

तस्बिर स्रोत, Hannah Eachus

    • Author, क्लारा गुइबोर्ग र नसोस स्टिलियानु
    • Role, बीबीसी न्यूज - बीबीसी हन्ड्रेड विमिन

महिलाहरूले आविष्कार गरेका केही दैनिक उपभोग्य सामानको सूची बनाउन सजिलो छ: भाँडा माझ्ने मेसिन, गाडीका अगाडिको सिसा पुछ्ने वाइपर र मोनोपोली नामक खेल ती मध्येका केही हुन्।

तर विश्वले अझै महिलाहरूको नवीन सोचको फाइदा उठाउन असफल भइरहेको एउटा प्रतिवेदनले देखाएको छ।

ब्रिटेनको बौद्धिक सम्पत्तिसम्बन्धी कार्यालय आइपीओका अनुसार महिलाहरूका नाममा विश्वभर १३ प्रतिशत मात्र प्याटन्ट जारी भएका छन्। यसको अर्थ प्रत्येक सातजना पुरुष आविष्कारकमध्ये एकजना मात्र महिला छन्।

उनीहरूबीचको अनुपात कम हुँदै गइरहेको भएपनि बराबर हुन अहिलेकै गतिमा सन् २०७० सम्म लाग्न सक्ने सो प्रतिवेदनले बताएको छ।

महिलाहरू किन कम?

अध्ययनहरूले विज्ञान, प्रविधि, इन्जिनियरिङ् र गणितजस्ता सङ्कायमा काम गर्ने महिलाहरू कम हुनुलाई उनीहरू आविष्कारक नहुनुको एउटा कारण मानेको छ।

इन्टलेक्चुअल प्रोपर्टी ल फर्म पावेल एन्ड गिलबर्टका पेनी गिलबर्टका अनुसार यो सामान्य रूपमा त्यहाँ पुग्ने बाटोमै रहेको समस्या हो।

"यदि हामीले पेटेन्टका लागि बढि महिलाले निवेदन दिएको हेर्न चाहन्छौँ भने धेरै महिलाहरू विश्वविद्यालयमा ती विषयहरू रोज्ने र अध्ययन अनुसन्धानमा व्यवसायिकता खोजेको देख्नुपर्छ," उनले भने।

अहिले ब्रिटेनमा अग्रणी उद्योगहरूमा व्यावसायिक रूपमा काम गर्ने मानिसहरू एक चौथाइ मात्र महिलाहरू छन्।

पुरुषमय

प्याटन्टहरू कुनै आविष्कारको मालिकलाई दिइन्छ। जसले गर्दा त्यसलाई अरू कसैले आफ्नो भन्दै दुरूपयोग गर्न पाउँदैन।

'आविष्कार' ठहरिन योग्य हुनेगरि प्याटन्ट लिनका लागि त्यसको निवेदनमा त्यो किन नवीन र उपयोगी छ प्रमाणित हुनुपर्छ।

त्यस्तो निवेदन व्यक्तिगत वा सामूहिक दिन सकिन्छ।

आविष्कारकबीचको लैङ्गिक असमानता बढि हुनुको एउटा कारण महिलाहरूले पुरुषहरू धेरै भएको समूहमा प्याटन्ट लिन खोज्नु पनि हो।

बीबीसी हन्ड्रेड विमिन

दुई तिहाइ प्याटन्ट कि त सबै पुरुषहरू मात्र भएको समूह वा पुरुषको नाममा छ।

छ प्रतिशत प्याटन्ट मात्र महिलाहरूको एकल नाममा छ।

सबै महिलाहरू मात्र भएका समूह त छैन भने पनि हुन्छ।

येल युनिभर्सिटीका अध्ययनकर्ताहरूले गरेको अमेरिकी प्याटन्ट निवेदनहरूको एउटा अध्ययनले प्याटन्टको निवेदन दिँदा समेत महिलाहरूको हकमा स्वीकृत हुने दर निकै कम रहेको देखाएको छ।

बायोटेकमा लैङ्गिक समानता

सन् १९९१ मा अन टुकामोटोले मूल कोशिकाहरूलाई तटस्थ राख्ने तरिका विकास गरिन्।

उनको अन्वेषणले क्यान्सरका विरामीहरूको रक्तप्रणाली बुझ्न र त्यसको निदानसम्म गर्नका लागि ठूलो सफलताको काम गर्‍यो।

डा. टुकामोटोले अहिले त्यसैसम्बन्धी थप अध्ययन गरिरहेकी छन। र उनी सात अन्य अन्वेषणहरू प्याटन्टमा पनि छिन्।

बीबीसी हन्ड्रेड विमिन

तस्बिर स्रोत, Hannah Eachus

जैविक तन्तुहरूको प्रयोग गरेर औषधी र खानेकुराजस्ता महत्त्वपूर्ण उत्पादनहरू गर्ने बायोटेक्नोलोजी क्षेत्रमा महिला अन्वेषकहरूको अनुपात सबैभन्दा बढि छ।

बायोटेक्नोलोजीसम्बन्धी झण्डै ५३ प्रतिशत प्याटन्टहरूमा कम्तीमा एकजना महिला रहेका छन्।

त्यसैगरी ५२ प्रतिशत औषधीसम्बन्धी प्याटन्टमा पनि कम्तीमा एकजना महिला छन्।

इलेक्ट्रिकल इञ्जिनियरिङ्गमा भने सबैभन्दा कम महिला छन्।

सन् २०७० सम्ममा समानता

महिलाहरूको अनुपात पछिल्ला दुई दशकमा दोबर भएको आईपीओले जनाएको छ।

बीबीसी हन्ड्रेड विमिन

सन् १९९८ मा ६.८ प्रतिशत रहेको महिला अनुपात सन् २०१७ मा १२.७ प्रतिशत पुगेको छ। सो अवधिमा कम्तीमा एकजना महिला हुने अन्वेषण समेत १२ प्रतिशतबाट २१ प्रतिशत पुगेको छ।

गिलबर्टका भनाइमा महिलाहरूका शिक्षा र व्यावसायिक रोजाइबारे परम्परागत सोचसँग जुझ्न आवश्यक छ र उनीहरूलाई सघाउने वा उत्प्रेरित गर्ने आदर्श महिलाहरू तयार पारिनुपर्छ।

उनी भन्छिन्: "हामीले बिर्सन नसक्ने कुरा के हो भने इतिहासमा केही महान वैज्ञानिकहरू महिला नै थिए।"

"हामीहरूले उनीहरूका कथा सुनाउनुपर्छ।"

रूस सबैभन्दा अगाडि

ब्रिटेनमा महिलाहरूको अन्वेषणदर उल्लेख्य रूपमा बढेपनि अन्य देशहरू निकै अगाडि छन्।

पछिल्ला दुई दशकमा १७ प्रतिशत कम्तीमा एकजना महिला भएको प्याटन्ट जारी हुने देशको रूपमा रूसमा महिलाको अनुपात सबैभन्दा उच्च छ। त्यसपछि फ्रान्स आउँछ।

बीबीसी हन्ड्रेड विमिन
line

तथ्याङ्क सङ्कलन कसरी गरियो?

सामान्यत: प्याटन्टका निवेदनमा अन्वेषकको लिङ्ग लेखिएको हुँदैन। त्यसैले आईपीओले युरोपेली प्याटन्ट कार्यालयको विश्वव्यापी तथ्याङ्कमा पहिलो नामका आधारमा लैङ्गिक आधार खोजेको थियो।

त्यसपछि उनीहरूको नामलाई ब्रिटेनको तथ्याङ्क र सामाजिक सुरक्षा निकायसँग रहेको विवरणसँग दाँजेर जन्मको विवरण खोजियो। ती निकायहरूसँग लिङ्ग खुल्नेगरी विवरण राखिएको हुन्छ।

थप पुष्टिका लागि कतिपय अवस्थामा फेसबुक प्रोफाइलको समेत सहायता लिइयो।

कम्तीमा ९५ प्रतिशत पुरूष वा महिला देखिएका नाम मात्र समावेश गरिए। महिला-पुरुष दुवैको हुनसक्ने रोबिनजस्ता नामहरू त्यसमा राखिएनन्।

करिब ७५ प्रतिशत अन्वेषकका नाम उनीहरूको लिङ्गसँग पहिचान भएको थियो।

line
100 Women logo

हन्ड्रेड विमिन के हो?

बीबीसीले प्रत्येक वर्ष विश्वभरिबाट आआफ्नो क्षेत्रमा सफल भएर परिवर्तनका लागि काम गरेका १०० प्रेरणादायी महिलाहरूको सूची सार्वजनिक गर्ने गर्छ।

हामीलाई फेसबुक, इन्स्टाग्रामट्विटर मा #100Women सहित पछ्याउनुहोस्।