मानव-जङ्गली जनावर द्वन्द्व: हात्तीलाई थापेको धरापमा मानवीय क्षति

जङ्गली हात्तीबाट जोगाउन बारी वरिपरि लगाइएको विद्युतीय धराप
तस्बिरको क्याप्शन, जङ्गली हात्तीबाट जोगाउन बारी वरिपरि लगाइएको विद्युतीय धराप
    • Author, उमाकान्त खनाल
    • Role, बीबीसी नेपाली सेवा, झापा

झापाको बुद्धशान्ति गाउँपालिका-४ स्थित नवज्योति सामुदायिक वन उपभोक्ता समितिको कार्यालय नजिकमा रहेको गाउँ अहिले शोकमा छ।

जङ्गली हात्तीलाई थापेको विद्युतीय धरापमा परेर सोही गाउँका एक र गाउँको एउटा घरमा पाहुना आएका अर्कागरी दुई युवकको ज्यान गएपछि उक्त गाउँ शोकमा डुबेको हो।

विद्युतीय धरापमा परेर स्थानीय १८ वर्षीय अविनाश राई र भोजपुर साल्पाचुली-४ का ३८ वर्षीय मणिराम राईको गत शुक्रबार राति ज्यान गयो।

स्थानीयबासीका अनुसार सामुदायिक वन समितिको कार्यालय नजिकमा रहेको एउटा सानो पोखरीमा राति माछा मार्न जाने क्रममा नांगो तारमा छोडिएको करेन्ट लागेर उनीहरुको ज्यान गएको हो।

पछुतो

नवज्योति सामुदायिक वन क्षेत्रको आसपासका बस्तीमा बिजुली पुगेको करिब १३ बर्ष भयो।

विद्युतीय धराप

उक्त वन समितिका संस्थापक अध्यक्ष रामकुमार केदेमका अनुसार त्योभन्दा अघिदेखि नै उक्त क्षेत्रमा जङ्गली हात्तीको आउजाउ हुने गर्थ्यो।

बिजुली पुगेपछि स्थानीयबासीलाई लाग्यो- हात्तीलाई गाउँ पस्न नदिन विद्युतीय धराप थाप्नु उत्तम उपाय हो।

१३ वर्षपछि उक्त धरापमा परेर मान्छेकै ज्यान गएकोमा स्थानीयबासीलाई पछुतो छ।

केदेमले भने: "गाउँका सबै मिलेर उठाएको पैसाले खेतबारी तथा घर-घरमा रातिको समयमा बिजुलीको मुख्य लाइनबाट करेन्ट छाड्ने गरिएको हो। तर अब मानिसको ज्यान गएपछि विषय गम्भीर बनेको छ।"

खेतमा लगाइएको अन्नबाली जोगाउन खेतमै र प्रायः सबै घरका वरिपरि बिजुलीको नाङ्गो तारले बारिएको छ।

झापामा हिँड्दै गरेको एक जङ्गली हात्ती

तर मृतक अविनाशको घरमा भने तारबार छैन।

हात्तीलाई थापेको विद्युतीय धरापमा बेलुका करिब सात बजेदेखि बिहान पाँच बजेसम्म करेन्ट छोडिने गरिएको छ।

अब त्यस्तो नहोस्: परिवार

मृतक अविनाशको घरमा पुग्दा आफन्त तथा छिमेकी पोस्टमार्टमका लागि लगिएको उनको शव कुरेर बसिरहेका थिए।

कोही खुलेर बोल्नसक्ने अवस्थामा थिएनन्।

मृतकका दाजु पेरिस्तकुमार राईले 'अब यस्तो अवस्था कसैले पनि भोग्नु नपरे हुन्थ्यो भन्ने आफूलाई लागेको' बताए।

उनले भने: "जे हुनु भयो। भाइ फर्केर आउँदैन। तर यस्तो दुःखदायी अवस्था छिमेकीले नभोगुन्।"

उनीसँग कुरा गर्दागर्दै मृतक अविनाशकी दिदी नानुमाया राईका आँखा रसाए। भक्कानिँदै उनले तारवार लगाउनेलाई कारबाही गर्नुपर्ने बताइन्।

उनले भनिन्: "स्थानीयबासीलाई जानकारी नगराइकन लगाइएको छ तार। एउटा होइन दुईवटा तार छन्। बिहान उहाँको लाश हेर्दा त भोजपुरबाट आउनु भएका मामाले तार समाइराख्नु भएको थियो।"

आफूहरु पनि हात्तीपीडित भएको तर उक्त तारबार अव्यवस्थित भएको उनले बताइन्।

"बाली हामीले पनि लगाएका छौं। तर आज मैले भाइ गुमाएँ।"

कानुनी व्यवस्था

संरक्षित जनावरमा पर्ने जङ्गली हात्ती मार्नु राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनले दण्डनीय मानेको छ।

झापामा हात्तीको हुल

जङ्गली जनावरलाई मार्ने व्यक्तिलाई पाँच लाख रुपैयाँदेखि दश लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षदेखि पन्ध्र वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था उक्त ऐनमा छ।

हात्तीलाई नै थापेको विद्युतीय धरापमा परेर मानिसको मृत्यु भएपछि त्यसको गहन अनुसन्धानसाथ कानुनी कारबाही अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले बताए।

पाँचवटा हात्तीलाई करेन्ट

२०६६ साल असार २८ गते झापा बाहुन्डाँगीको निन्दास्वामी चोकमा एउटा भाले हात्तीलाई करेन्ट लगाएर मारिएको डिभिजन वन कार्यालय झापाको तथ्याङ्कमा छ।

पानीघट्टामा करेन्टसहित लगाइएको पासोमा २०६९ असार २२ मा झापाकै शान्तिनगर परेर अर्को हात्ती पनि मरेको थियो।

विद्युतकै पासो थापेरै २०७४ असार २८ गते पुनः अर्को हात्तीलाई झापाको कचनकवल गाउँपालिका ७ कुनाबारीमा मारियो।

त्यसपछि २०७५ भदौ २१ गते झापा मेचीनगर ९ को चिहान डाँडामा अर्को हात्तीलाई करेन्टकै पासो थापेर मारिएको डिभिजन बन कार्यालय झापाले जनाएको छ।

गएको असार १४ गते पुनः अर्को हात्ती झापाको हल्दीबारी गाउँपालिका ३ मा रहेको रनकाली सामुदायिक वनमा करेन्ट लगाएरै मारिएको डिभिजन बन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले बताए।

तर हात्तीलाई करेन्ट लगाएर मार्ने विरुद्ध अहिलेसम्म कारबाही भएको छैन।