बीबीसी अनुसन्धान: इराकमा धर्मगुरुहरूले पैसा लिएर गैरकानुनी अस्थायी विवाह गरिदिने तथ्य सार्वजनिक

इराक

तस्बिर स्रोत, .

इराकमा शिया मुस्लिम समुदायका धर्मगुरुहरूले पैसाको लागि गैरकानुनी विवाह गराउँदा महिला र बालिकाहरू यौन शोषणको जोखिममा परिरहेको तथ्य बीबीसीले गरेको एक अनुसन्धानले देखाएको छ।

पुरुषहरूले पैसा खर्च गरेर छोटो समयावधिका लागि 'प्लेजर म्यारिज' अर्थात सुखप्राप्तिको लागि विवाह गर्ने गरेको भेटिएको छ।

बीबीसीले गोप्य रूपमा गरेको अनुसन्धानले सुखप्राप्तिका लागि गरिने त्यस्ता विवाह अस्थायी हुने र केहीमा बालबालिका पनि सहभागी गराइने पाएको छ।

यस्तो विवाह इराकमा गैरकानुनी मानिए पनि केही शिया मुस्लिम समुदायले यसलाई अनुमति दिने गरेको छ।

इराक

यस्तो विवाहका लागि धर्मगुरुहरूले पुरुषलाई रकम तिराउने गरेका छन्।

यो प्रचलनले महिला तथा बालिकाहरूको यौन शोषण हुने गरेको बताइएको छ।

विवाह गराइएका केही बालिकाहरूको उमेर नौ वर्ष पाइएको छ।

अनुसन्धानको क्रममा बग्दादको खादिमियास्थित प्रमुख शिया पीठहरूमा आसीन १० मध्ये आठजनाले सुखप्राप्तिका लागि विवाह गराइदिने गरेको बीबीसीलाई बताए।

सुरुवात

सुखप्राप्तिका लागि गरिने विवाह इस्लामिक परम्परा सुरु हुनुभन्दा अघि इरान र अरेबियाबाट सुरु भएको बताइन्छ।

जानकारहरूका अनुसार त्यस्तो विवाह पूर्ण रूपमा मनोरञ्जनका लागि गरिन्छ र वंशवृद्धि गर्न पाइँदैन।

अघिल्ला शताब्दीहरूमा त्यस्ता गतिविधि धार्मिक स्थलहरू र व्यापारिक केन्द्रहरूमा हुने गर्थे। एक्लै लामो यात्रा गर्ने पुरुषहरू त्यस्ता स्थानमा महिलाहरूको खोजी गर्थे।

यो यस्तो प्रकारको विवाह हो जसमा सम्बन्ध वैधानिक रहने अवधि र अस्थायी श्रीमतीलाई दिने क्षतिपूर्ति पूर्वनिर्धारित हुन्छ।

धर्मगुरुको रोहबरमा त्यस्ता सम्बन्ध गाँसिने भए पनि त्यस्ता सम्झौता मौखिक रूपमा पनि जोड्न सकिने र यसलाई मान्यता प्रदान गर्न धर्मगुरुकै आवश्यकता भने नरहने बताइन्छ।

त्यस्ता सम्बन्ध एक घण्टादेखि ९९ वर्षसम्म कायम रहन सक्छ। विवाह गरेका पुरुषले कुनै पनि बेला सम्झौता रद्द गर्न सक्छन्।

सुन्नी इस्लाममा भने त्यस्ता किसिमका विवाहलाई मान्यता छैन।

तर केही धर्मगुरुहरूले भने मिस्यार भनिने वैकल्पिक विवाह सम्बन्ध स्विकार्छन् जुन जानकारहरूका अनुसार सुखप्राप्तिको लागि विवाह जस्तै हो।

महिलाहरूमाथिको शोषण हुने भन्दै त्यसको पनि आलोचना गरिन्छ।