यौन दुर्व्यवहारको आरोप लागेका सभामुखलाई राजीनामा गर्न नेकपाको दबाव

तस्बिर स्रोत, RSS
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकले सभामुख कृष्णबहादुर महरालाई राजीनामा दिन आग्रह गरेको पार्टीका प्रवक्ताले बताएका छन्।
सभामुख महरामाथि संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीले जबर्जस्ती करणी गरेको गम्भीर आरोप लगाएपछि नेकपाको सचिवालयले उनलाई सभामुख र सांसद पदबाट राजनीमा दिन सुझाव दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बीबीसीलाई बताएका हुन्।
श्रेष्ठका अनुसार मङ्गलवार मध्याह्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो आग्रह गर्ने निर्णय गरेको हो।
यसअघि महराले भने आफूमाथि लगाइएको आरोपमा 'कुनै सत्यता नभएको' भन्दै खण्डन गरेका थिए।
तर यो मामिलाको छानबिनका लागि "आवश्यक परे राजीनामा गर्न आफू तयार रहेको" भनी महराले आफू निकटस्थलाई बताएको बुझिएको छ।
आरोप के हो
सोमवार साँझ सञ्चारमाध्यमहरूमा संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीले सभामुख महराले आफूसँग यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्।
ती महिलालाई भनाइको आधारमा आरोपबारे समाचार प्रकाशित भएको थियो।

तस्बिर स्रोत, PM Secretariat
सञ्चारमाध्यमहरूमा पीडित भनिएकी महिलाको भनाइलाई उद्धृत गर्दै महराले आइतवार राति ती महिलाको डेरामै पुगेर यौन दुर्व्यवहार गरेको दाबी गरिएको थियो।
त्यसलगत्तै सभामुखका प्रेस सल्लाहकार डिल्ली मल्लले वक्तव्यमार्फत् आरोपलाई महराको "राजनीतिक उचाइ, व्यक्तित्व र प्रतिष्ठालाई सिध्याउने षड्यन्त्र" भन्दै खण्डन गरेका थिए।
प्रहरी अधिकारीहरूका अनुसार हालसम्म यस घटनामा कुनै जाहेरी परेको छैन।
महराको भनाइ
सभामुखका प्रेस सल्लाहकारको वक्तव्यमा भने यसलाई "निराधार, कपोकल्पित र निकै गम्भीर आरोप" भनिएको छ।
वक्तव्यमा भनिएको छ, "उहाँको राजनीतिक व्यक्तित्व र छविलाई अरू कुनै पनि हतियारबाट गलाउन नसकेपछि एउटा 'कठपुतली' तयार गरी जसरी सामाजिक रूपमा बदनाम गर्न दुष्प्रयास गरिएको छ, यसको जति कडा शब्दमा भर्त्सना गरे पनि कम हुन्छ।"
खबरहरूमा महिलाले दुर्व्यवहारपश्चात् प्रहरीलाई खबर गरेको र प्रहरी आफ्नो वासस्थानमा पनि आएको बताएकी छन्।
महानगरीय प्रहरी कार्यालयका अधिकारीहरूले पनि ती महिलाले प्रहरीलाई खबर गएको र एउटा प्रहरी टोली उनको डेरामा पठाइएको पुष्टि गरेका छन्।
तर उनीहरूले पछि खबरहरूमा आएको जस्तो आरोप ती महिलाले नलगाएको र हालसम्म कुनै उजुरी पनि नपरेको बताए।
नेकपाको बैठक
तत्कालीन नेकपा माओवादीबाट दाङ क्षेत्र नं २ बाट संसदीय निर्वाचन जितेका ६० वर्षीय महरा तत्कालीन नेकपा एमाले र माओवादीको समर्थनमा सभामुख बनेका थिए।

तस्बिर स्रोत, PM Secretariat
उनीमाथि बलात्कारको गम्भीर आरोप लागेपछि सोमवार ती दुई पार्टी मिलेर बनेको नेकपाको शीर्ष नेताहरूबीच बैठकहरू भएका बताइएको छ।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त
प्रधानमन्त्री तथा पार्टीका एक अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच प्रधानमन्त्री निवास बालुवाटारमा आकस्मिक छलफल भएको बताइएको छ।
त्यस्तै महराले पनि नेकपाका केही शीर्ष नेताहरूसँग छलफल गरेको बुझिएको छ।
ओली र दाहालबीचको छलफलपछि बालुवाटारमा नेकपा सचिवालय बैठक बसेको थियो।








