साउदी तेल खानीमा भएको आक्रमणको नेपालद्वारा निन्दा, तेलको भाउमा यस्तो असर पर्न सक्छ

नेपाल सरकारले साउदी अरबका तेल खानी र प्रशोधन केन्द्रमा भएका आक्रमणहरूको निन्दा गरेको छ।
"व्यापारिक प्रतिष्ठानहरू समेत यस्ता संवेदनहीन आक्रमणको निसानामा पारिनु खेदजनक छ। राजनीतिक उद्देश्य प्राप्तिका निम्ति बल तथा हिंसाको प्रयोगको नेपाल भर्त्सना गर्दछ," परराष्ट्र मन्त्रालयले सोमवार साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
शनिवार ड्रोन आक्रमणका कारण अब्काइक र खुरैस प्रशोधन केन्द्रमा तत्कालका लागि उत्पादन रोकिएको थियो।
यमनमा सक्रिय इरान समर्थित हूथी विद्रोही समूहले ती आक्रमण आफूले गरेको दाबी गरेको छ।
तर अमेरिकाले ती घटनामा इरान दोषी भएको आरोप लगाएको छ।
तेलको भाउमा कस्तो प्रभाव?
शनिवार ती आक्रमण भएपछि साउदी अरबले तेल र ग्यासको उत्पादनमा कटौती गरेको थियो। त्यसबाट विश्वभरि हुने आपूर्ति पाँच प्रतिशतले ले घटेको छ।
तेल खानी र प्रशोधन केन्द्रमा दुईवटा आक्रमण भएपछि पेट्रोलियम पदार्थको मूल्य चार महिनामा सर्वोच्च भएको छ।

तस्बिर स्रोत, Reuters
आक्रमणपछि व्यापार सुरु हुँदा ब्रेन्ट कच्चा तेल परिसूचकमा तेलको मूल्य १९% ले वृद्धि भई प्रतिब्यारल ७१.९५ अमेरिकी डलर पुगेको थियो। त्यसैगरी वेस्ट टेक्सस इन्टरमिडिएट भनिने अर्को परिसूचकमा कच्चा तेलको मूल्य १५% ले बढ्दा प्रतिब्यारल ६३.३४ डलर पुग्यो।
एक ब्यारलमा १५९ लिटर तेल हुन्छ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा सञ्चित तेल वितरण गर्न अनुमति दिएपछि बढेको मूल्य केही घट्यो।
त्यसपछि ब्रेन्ट परिसूचकमा प्रतिब्यारल ६६.२८ अमेरिकी डलर मूल्य कायम भएको छ।
नेपालमा के होला?
अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको कारण नेपालमा पनि असर पर्न सक्ने आकलन गरिएको छ।

तर नेपाल आयल निगमका महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलले तत्काल घरेलु बजारमा तेलको भाउ नबढ्ने बताए।
नेपाल आयल निगमले आफूलाई आवश्यक हुने पेट्रोलियम पदार्थ भारतीय आयल निगमबाट लिने गरेको छ।
भारतीय आयल निगमले प्रत्येक अङ्ग्रेजी महिनाको १ र १६ तारिख नयाँ मूल्यसूची पठाउने गर्छ।
"आज सोमवार नै आएको पछिल्लो मूल्यसूचीमा अन्तर्राष्ट्रिय बजारको उतारचढावको प्रभाव परेको छैन। अर्को मूल्यसूची अक्टोबर १ तारिखमा आउँदा त्यसको प्रभाव पर्न सक्छ," उनले बीबीसी न्यूज नेपालीसँग कुरा गर्दै बताए।
उनका अनुसार विद्यमान मूल्यसूचीका कारण आउँदो दुई सातासम्म घरेलु बजारमा त्यसको असरले मूल्य बढ्ने सम्भावना कमै छ।








