भरतपुर महानगरपालिकामा वडा अनुसार घरको रङ्ग

- Author, ईश्वर जोशी
- Role, संवाददाता, बीबीसी नेपाली, नारायणगढ
चितवनको भरतपुर महानगरपालिकालले 'एक वडा एक रङ्ग' कार्यक्रम अघि सारेको छ।
महानगरपालिकालाई स्मार्ट सिटी बनाउने अवधारणा अनुसार प्रत्येक वडाले आफ्नो रङ्ग चुन्न पाउने र वडाका सबै घरको बाहिरी रङ्ग वडाले तोकेअनुसारको लगाउनु पर्ने मेयर रेनु दाहालले बताइन्।
उनका अनुसार त्यसकालागि महानगरपालिकाले ५० प्रतिशतसम्म अनुदानको व्यवस्था गर्ने प्रयास भइरहेको बताएकी छन्।
महानगरपालिकाको योजना कार्यान्वयन भएमा तीन वर्षमा सबै घरहरूमा 'एक वडा एक रङ्ग' अनुसार रङ्गरोगन भइसक्ने छ।
कहिलेदेखि?
कार्यक्रमले महानगरको छुट्टै पहिचान बन्नुका साथै व्यवस्थित सुन्दर सहरको रूपमा विकास हुने र रङ्गको आधारमा वडा छुट्याउन सकिने अधिकारीहरू बताउँछन्।
यसै आर्थिक वर्षदेखि सकेसम्म सबै वडामा र कम्तीमा केही वडाबाट कार्यक्रम सुरु गर्ने महानगरको योजना छ।

तस्बिर स्रोत, BMO
कुन वडामा कुन रङ्ग लगाउने भन्ने निर्णय गर्ने अधिकार वडा कार्यालयलाई हुनेछ।
एउटा वडाका सबै घरमा आफ्नो वडा कार्यालयले छानेको रङ्ग घरको बाहिरी भागमा लगाउनु पर्ने तर घरभित्र जुन रङ्ग लगाउन पनि पाइने महानगरले जनाएको छ।
अनुदानको व्यवस्था
'एक वडा एक रङ्ग' का लागि महानगरपालिकाले चितवनमा रहेका गुणस्तरीय रङ्ग उद्योगहरूसँग सहकार्य गरेर ५० प्रतिशतसम्म अनुदानको व्यवस्था गर्ने प्रयास भइरहेको बताइएको छ।
घरधनीले ५० प्रतिशत खर्च भने आफैले बेहोर्नु पर्ने मेयर दाहालको भनाइ छ।
उनका अनुसार नयाँ बन्ने घरमा सिफारिस गरिएको रङ्ग लगाउनु पर्नेछ भने पुराना घरहरूलाई क्रमश: रङ्ग लगाउन प्रोत्साहित गरिने छ।
भरतपुर महानगरपालिकामा करिब ५० हजार घरहरू छन् भने बार्षिक तीन हजार नयाँ घर बन्ने गरेका छन्।
कति सम्भव?
मेयर दाहालले यो कार्यक्रम सम्भव भएको र यसले भरतपुरलाई छुट्टै पहिचान दिने बताइन्।
भारतका विभिन्न शहरहरूका साथै नेपालमै पनि वालिङ गुलाबी नगर रहेको उदाहरण दिँदै उनले भरतपुरका वडालाई रङ्गले छुट्याउने काम क्रमिक रूपमा गर्न सकिने विश्वास व्यक्त गरिन्।
चितवनमा १७ वटा रङ्ग उद्योगहरू छन्। ती उद्योग र सरोकारवालाहरूसँग अनुदान जुटाउन छलफल गरिरहेको अधिकारीहरूले जनाएका छन्।

साउन सात गते महानगर कार्यपालिकाको ३१औँ बैठकको निर्णय नं ८ मा भनिएको छ, "एक वडा एक रङ्ग प्रयोग सम्बन्धमा गुणस्तरयुक्त रङ्ग उत्पादन कम्पनीसँग समन्वय गर्ने एवम् यस सम्बन्धी मापदण्ड बनाएर आगामी कार्यपालिकामा पेस गर्ने निर्णय गरियो।"
वडा कार्यालयले टोलबासीहरूसँग समन्वय गरेर कार्यक्रम सुरु गर्ने र यसले वडाको पहिचान बनाउन गर्न मद्दत गर्ने वडा ३ का अध्यक्ष चन्द्र पण्डितको भनाइ छ।
उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान भने कार्यक्रम सफल पार्न महानगरले स्थानीय बासिन्दाहरूलाई सहयोग गर्नुपर्ने बताउँछन्।









