कश्मीर विवादःराष्ट्रका नाममा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निर्णयको बचाउ गरे

कश्मीर विवाद: दिल्लीमा विरोध

तस्बिर स्रोत, Reuters

विवादित कश्मीर क्षेत्रमा तनाव चर्किँदै गर्दा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रलाई सम्बोधन गर्दै कश्मीरको विशेष हैसियतसम्बन्धी धारा ३७० को खारेजीको प्रतिरक्षा गरेका छन्।

मोदीले उक्त धाराले कश्मीरलाई कुनै लाभ नदिएको दाबी गरे।

उनले भने, "धारा ३७० र ३५ क ले जम्मू-कश्मीरलाई पृथक्तावाद, आतङ्कवाद, परिवारवाद अनि व्यवस्थापनमा ठूलो भ्रष्टाचारबाहेक केही दिएको थिएन।"

मोदीले सरकारको निर्णयले कश्मीरको वर्तमान सुध्रिने र भविष्य सुरक्षित हुने तर्क पनि गरे।

अवस्था

यसैबीच भारत-प्रशासित कश्मीरमा सयौँ जनालाई पक्राउ गरिएको बताइएको छ। त्यहाँ इन्टरनेट तथा फोन लाइन बन्द छन्।

अस्थायी हिरासतना त्यहाँका राजनीतिज्ञ, अभियानकर्मी, अगुवा, व्यापारी तथा कलेजका प्राध्यापक राखिएका छन्।

नरेन्द्र मोदी

तस्बिर स्रोत, AFP

सोमवार भारत सरकारले संसद्‌मा उक्त निर्णय गर्नुभन्दा पहिल्यैदेखि कश्मीर पूर्ण बन्दको अवस्थामा रहेको छ।

भारत-प्रशासित कश्मीरमा पाँच सय जनाभन्दा बढीलाई पक्राउ गरिएको बताइएको छ।

कश्मीरमा सेना

तस्बिर स्रोत, EPA

सो घटनाक्रम लगत्तै पाकिस्तानले भारतसँगको द्विपक्षीय व्यापार स्थगन गरेको थियो। भारत सरकारले त्यसप्रति बिहीवार दुःख प्रकट गरेको छ।

स्थानीय प्रहरीले रोएटर्स समाचारसंस्थालाई विरोधप्रदर्शन रोक्न पक्राउ गरिएको बताए। एक प्रहरी अधिकारीले मानिसहरू निकै आक्रोशित भएको बताए।

बीबीसी संवाददाताहरूले केही विरोध प्रदर्शनकारीहरूले सुरक्षा फौजलाई ढुङ्गा हानेको देखेका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, बन्द कश्मीरबाट पहिलो भिडिओ‌ सामग्री

साथै त्यहाँका बासिन्दाले हिंसा भड्किने चिन्ता व्यक्त गरेका छन्।

एक पर्यटन व्यवसायी इकबालले कश्मीरका जनता निकै रिसाएको भन्दै ती ज्वालामुखी जस्तो भएको र कुनै समय विस्फोट हुने बताए।

भारत-प्रशासित कश्मीरमा गरिएका कडाइहरूबारे गम्भीर चासो व्यक्त गर्दै संयुक्त राष्ट्रसङ्घले त्यहाँ "मानवाधिकारको स्थिति झन् बिग्रिन सक्ने" भन्दै चिन्ता व्यक्त गरेको छ।

राष्ट्रसङ्घका एक प्रवक्ताले कश्मीरमा सञ्चार बन्द गरिएको, नेताहरूलाई पक्राउ गरिएको र राजनीतिक भेला गर्न प्रतिबन्ध लगाइएकोबारे चासो व्यक्त गरेका छन्।