भारतमा मनसुन: मुम्बईमा एक हजार रेलयात्रुको बाढीबाट उद्धार

तस्बिर स्रोत, AFP
भारतीय अधिकारीहरूले मुम्बईनजिकै बाढीमा फसेको एक रेलबाट एक हजार ५० जनाको सकुशल उद्धार गरेका छन्।
शुक्रवार राती भान्गानीमा जलमग्न लिकमा अड्केको महालक्ष्मी एक्सप्रेस रेलबाट यात्रुहरूलाई निकाल्न हेलिकप्टर, डुङ्गा र गोताखोरहरू परिचालन गरिएको थियो।
यात्रुहरूले आफूहरूलाई रेलमै रहन भनिए पनि १५ घण्टा खाना वा पानी नपाएको आईएएनएस समाचार संस्थालाई बताएका छन्।
दक्षिण एशियामा मनसुनका कारण आएको बाढीले छ सयभन्दा धेरैको मृत्यु भइसकेको छ।
घटनाका तस्बिरहरूमा यात्रुहरूलाई डुङ्गाहरूमा उद्धार गरिएको देखिन्छ।
सेन्ट्रल रेलवेले नौ जना गर्भवति महिलासहित सबै यात्रुको सकुशल उद्धार गरेर सुरक्षित स्थलमा पुर्याइएको बताएको छ।
घटनास्थल नजिकै खाना र औषधीसहितको अस्थायी बसोवासस्थल बनाइएको थियो।
रेलवेका एकजना प्रवक्ताले प्रभावित यात्रुहरूलाई बाँकी यात्राको लागि वैकल्पिक व्यवस्था गरिएको बताएका छन्।
बदलापुर, उल्लासनगर र भान्गानी शहरका थुप्रै भूभागहरू वर्षाका कारण जलमग्न भएको बताइएको छ।
वर्षा र बाढीका कारण मुम्बईका अन्य यातायात पनि प्रभावित भएका छन्।
मुम्बईमा ११ उडान रद्द गरिनुका साथै थुप्रै उडानहरू फर्काइएको छ।








