राष्ट्रपति डोनल्ड ट्रम्पले ट्विटरमा आलोचकलाई प्रतिबन्ध लगाउनु असंवैधानिक: अदालत

ट्विटर

तस्बिर स्रोत, Twitter

तस्बिरको क्याप्शन, ट्रम्पलाई ट्विटरमा छ करोड मानिसले फलो गर्छन्

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ट्विटरमा आफ्ना आलोचकहरूलाई आफ्ना ट्विट हेर्न नमिल्ने बनाएर वाक् स्वतन्त्रता हनन् गरिरहेको न्यूयोर्कको एउटा अदालतले ठहर गरेको छ।

ट्रम्पले ट्विटरमा प्रतिबन्धित गरेका सातजना व्यक्तिको पक्षमा दायर गरिएको मुद्दामा अदालतको त्यस्तो फैसला गरेको हो।

सोसल मिडिया प्रयोग गर्ने अधिकारीहरूले उनीहरूसँग विमति राख्ने मानिसहरूलाई चुप लगाउन पाउँदैनन्, न्यायाधिशले भने।

राष्ट्रपति ट्रम्पका वकिलहरूले उनको ट्विटर व्यक्तिगत भएको र त्यसकारण वाक् स्वतन्त्रता लागु हुन नसक्ने दाबी गरेको थिए।

अमेरिकी न्याय मन्त्रालयका एक अधिकारीले अदालतको ठहरले निराश बनाएको र अबको कदमका बारेमा छलफल गरेको बताएका छन्।

आफ्नो निर्णयमा पुनरावेदन अदालतले भनेको छ: "पहिलो संशोधनले आधिकारिक कार्यका लागि सोसल मिडिया प्रयोग गर्ने सार्वजनिक अधिकारीहरूले आफ्नो भनाइमा विमति राखेकै कारण कसैलाई हुनसक्ने अनलाइन छलफलबाट बाहिर राख्न पाउँदैनन्।"

गएको वर्ष मे महिनामा न्यूयोर्कको साउदर्न डिस्ट्रिक्टको एक अदालतले राष्ट्रपतिको ट्विटर खाता @realDonaldTrump सार्वजनिक बहसस्थल भएको ठहर गरेको थियो।

भर्जिनियाको अर्को मुद्दामा पनि स्थानीय अधिकारीले फेसबुक पानाबाट प्रतिबन्ध लगाएका स्थानीय बासिन्दा ब्रायन ड्याभिसनको पक्षमा निर्णय भएको थियो।

सार्वजनिक बहसस्थल

राष्टपति ट्रम्पविरूद्धको मुद्दा सन् २०१७ मा नाइट फर्स्ट अमेन्डमेन्ट इन्स्टिट्युटले अगाडि सारेको थियो।

फैसलाका बारेमा निर्देशक जमिल जाफर भन्छन्: "अधिकारीहरूको सोसल मिडिया खाताहरू भनेको सरकारी नीतिका बारेमा छलफल हुने सबैभन्दा महत्वपूर्ण स्थानहरू मध्येको एक हो।"

"यो निर्णयले मानिसहरूलाई आफ्नो विचारकै कारण त्यस्ता बहसबाट बाहिर नराख्न र अधिकारीहरूलाई आफ्नो नागरिकका आलोचना सुन्न सहयोग गर्नेछ।"

इन्स्टिट्युटका अनुसार ट्रम्पको खाताबाट ७५ जनालाई प्रतिबन्ध खुल्ला गरिएको छ तर अझै लेखक स्टेफन किङ र मोडेल क्रिसी टिगनसहित ३० जना प्रतिबन्धित नै छन्।