आसिफ अली जरदारीः पाकिस्तानका पूर्वराष्ट्रपति पक्राउ

जरदारी

तस्बिर स्रोत, EPA

पाकिस्तानमा भ्रष्टाचार नियन्त्रणसम्बन्धी अधिकारीहरूले पूर्वराष्ट्रपति आसिफ अली जरदारीलाई सम्पत्ति शुद्धीकरणको अभियोगमा पक्राउ गरेका छन्।

जरदारी तथा उनकी बहिनी फर्याल तालपुरले गरेको अग्रिम जमानतको निवेदन इस्लामावाद उच्च अदालतले अस्वीकार गरिदिएको थियो।

देशको भ्रष्टाचार विरोधी एक निकाय, न्याश्नल अकाउन्टेबिलिटी ब्युरो,का अनुसार दशौँ लाख डलर सम्पत्ति शुद्धीकरण गर्न दर्जनौँ झूटा एकाउन्ट खोलिएका थिए।

जरदारीको दल पाकिस्तान पिपल्स पार्टीले सरकारमाथि राजनीतिक बदलाको भावनाले काम गरेको आरोप लगाएको छ।

भ्रष्टाचार

जरदारीका छोरा बिलावल भुट्टोले आफ्ना कार्यकर्ताहरूलाई शान्त रहन अपील गरेका छन्।

जरदारी हत्या गरिएकी पूर्वप्रधानमन्त्री बेनजीर भुट्टोका श्रीमान् हुन् र उनले भ्रष्टाचारकै अभियोगमा विगतमा पनि कैयौँ वर्ष जेलमा बिताइसकेका छन्।

उनी सन् २००८ देखि सन् २०१३ सम्म पाकिस्तानका राष्ट्रपति भएका थिए।

यसअघि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाकिस्तानीहरूलाई उनीहरूका लुकाइएका सम्पत्ति घोषणा गरी कर तिरेर अर्थतन्त्रलाई सघाउन अपील गरेका थिए।

टेलिभिजनमार्फत्‌ एउटा सम्बोधन गर्दै खानले जनताले कर नतिरे पाकिस्तानले प्रगति गर्न नसक्ने बताए।

जरदारी

यो महिनाभित्रै त्यस्ता सम्पत्ति घोषणा गरेर विशेष योजनाको लाभ उठाउन पनि उनले आह्वान गरेका छन्।

विश्वमै पाकिस्तान एकदमै कम कर सङ्कलन दर भएको देशमध्येको एक हो, जहाँ केवल एक प्रतिशत मानिसले कर तिर्छन्।

हाल उक्त देश भुक्तानी सन्तुलनको सङ्कटमा फसेको छ।

त्यहाँ अहिले विदेशी मुद्राको सञ्चिति केवल ८ अर्ब डलर रहेको छ, जसले दुई महिनाको आयात मात्र धान्न सक्नेछ।