बुद्धको मावलीगाउँमा काम नलाग्ने काठबाट कलात्मक मूर्ति

गौतम बुद्धको मावलीगाउँ मानिने रूपन्देहीको देवदहमा बौद्धकालीन संस्कृति झल्किने झन्डै डेढ दर्जन मूर्तिहरू कुँदिएका छन्।
विभिन्न जिल्लाबाट त्यहाँ जम्मा भएका मूर्तिकारहरूले सात दिन लगाएर त्यहाँ फालिएका र काम नलाग्ने काठलाई कलात्मक रूप दिएका हुन्।
पूर्व-पश्चिम राजमार्गदेखि झन्डै दुई किलोमिटर उत्तरको जङ्गलमा गत साता मूर्तिकारहरू निर्जीव काठमाथि कलात्मक प्राण भर्न व्यस्त रहे।
तीमध्ये मूर्तिकार अनमारी तामाङ एउटा काठको मुढोलाई आमाको मायाको प्रतीकात्मक विम्बमा ढाल्दै थिइन्।
उनका अनुसार आमाले काखमा च्यापेको यो मूर्ति मातृवात्सल्यको कलात्मक अभिव्यक्ति हो।
यो धारणा बनाउन उनलाई दुई दिन लागेको थियो ।

विगत छ वर्षदेखि यस क्षेत्रमा लागेकी तामाङले जङ्गलमा कुँदिएका ती मूर्तिहरूको संरक्षण गर्न घामपानीबाट जोगाउन आवश्यक भएको बताइन्।
"नत्र बिग्रिहाल्छ। धेरै हदसम्म मूर्ति बचाउने काम रसायनले पनि गर्छ," उनले भनिन्।
नमुना पार्क
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहयोगमा देवदहको बुद्ध सामुदायिक वन उपभोक्ता समितिले आयोजना गरेको उक्त मूर्तिकला कार्यशालामा बनेका सबै मूर्तिहरूलाई अहिले बनाइएकै स्थानमा नमुना पार्क बनाई सजाइने सामुदायिक वनका अध्यक्ष टेकबहादुर राना बताउँछन्।
मूर्ति बनेसँगै ती मूर्तिहरूको संरक्षण गर्ने अबको जिम्मेवारी पनि वन उपभोक्ता समितिकै क्षेत्रभित्र पर्नेछ।

त्यसका लागि स्थानीय आमा समूह तयार भइसकेको अध्यक्ष रानाले बताए।
उनी भन्छन्, "यी सबै मूर्तिको संरक्षणको लागि आमा समूह तयार भएका छन्। उनीहरूले यिनलाई नष्ट हुन दिने छैनन्।"
ललितकलालाई देशभरि नै चिनाउने उद्देश्यले काठमाण्डूबाहिर पनि यस्ता कार्यक्रम आयोजना गरिएको बताउने प्रतिष्ठानका प्राज्ञ सदस्य लालकाजी लामाका अनुसार देवदहको पर्यटन प्रवर्धनमा पनि यी मूर्तिहरूले सहयोग पुर्याउनेछन्।
यो सबै कार्यक्रमका लागि झन्डै १३ लाख रुपैयाँ खर्च भएको आयोजकले बताएका छन्।








