सगरमाथा आरोहण: दिवङ्गत भारतीय महिला आरोहीको कीर्तिमान योजना

तस्बिर स्रोत, Kalpana Dash/Facebook
- Author, सुरेन्द्र फुयाल
- Role, बीबीसी नेपाली सेवा
उनी नेपाल, भारत र चीनका महिला आरोही सामेल पहिलो त्रिदेशीय मैत्री आरोहण दलकी एक सदस्य थिइन्।
बिहीवार दिउँसो त्यो टोलीका तीनै महिला आरोही सगरमाथाको शिखरमा उभिए, तर भारतको ओडेशाकी कल्पना दाश जीवितै तल झर्न सकिनन्।
उनी बिहिवार दिउँसो १२.३० बजेतिर नेपालका ग्याल्बो तामाङ र पेम्बाछिरीसँगै सगरमाथाको शिखरमा पुगेका उनीहरूको आरोहण व्यवस्थापन गर्ने ड्रिमर्स डेस्टिनेशन ट्रेक्सले जनाएको छ।
भारतकी कल्पना दाश, नेपालकी कान्छीमाया तामाङ र चीनकी लियामु मा सामेल त्रिदेशीय महिला टोलीको ध्येय "आपसी मैत्रीभाव र महिला सशक्तीकरण"को सन्देश फैलाउनु थियो। उनीहरूको टोलीलाई नेपाल सरकारले 'नेपाल भ्रमण वर्ष २०२०' लेखिएको एक तुल पनि दिएको थियो।
कठिन शिखर यात्रा
नेपाली शेर्पा सहयोगीको साथमा ५२ वर्षीया कल्पना दाश सगरमाथाको शिखर पुगिन्। "उनको सहयोगीहरूका अनुसार कल्पना शिखरमा पुगेर निकै उत्साहित बनिन् र रमाइन्," सगरमाथा आधार शिविरमा खटिएका पर्यटन मन्त्रालयका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बीबीसी नेपाली सेवासँग भने।
तर उनको खुशी धेरै बेर टिक्न पाएन। उनी शेर्पाहरूको सहयोगमा तल फर्किँदै थिइन्। तर शिखरबाट तल झर्ने क्रममा चौथो शिविरभन्दा माथि नै करिब ८,००० मिटरको उचाइमा कल्पना दाशले ज्यान गुमाएको बताइएको छ।

तस्बिर स्रोत, Pemba Dorji Sherpa
"उनको शरीरमा कुनै पनि तागत नभएर 'एनर्जी लस' भएर उनको ज्यान गयो," सम्पर्क अधिकृत श्रेष्ठले जानकारी दिँदै भने। त्रिदेशीय टोलीमा रहेका चिनियाँ र नेपाली महिला आरोहीहरू भने सफल आरोहणपछि आधार शिविर फर्किएको उनले बताए।
कल्पना दाशको योजना के थियो?

तस्बिर स्रोत, Pemba Dorji Sherpa
गत वैशाख ३ गते काठमाण्डूबाट सगरमाथातर्फ लाग्नु अघि कल्पना दाशले बीबीसीलाई आफ्नो गोप्य योजना सुनाएकी थिइन्। त्यो हो: सगरमाथाको शिखरमा पुगेर सारी लगाउने।
उनले बीबीसीसँग भनेकी थिइन्, "मैले अस्ट्रेलियाको सर्वोच्च शिखर (कोशिउज्को)मा पनि सारी लगाएको थिएँ। म यसपटक सगरमाथाको शिखरमा पुगेर सारी लगाउँदै छु।"
सारी लगाएर के सन्देश दिन खोज्नु भएको हो? भन्ने प्रश्नको जवाफमा उनले भनेकी थिइन्, "सारी भारतीय र यस क्षेत्रका अन्य देशका महिलाको पहिचान हो। म सारी लगाउने महिलाले जस्तो सुकै कठिन काम पनि गर्न सक्छन् भन्ने सन्देश दिन चाहन्छु।"
"तर," उनले सचेत गराउँदै भनेकी थिइन्, "यो कुरा अहिलेलाई गोप्य नै राख्नु होला। समाचारमा नलेख्नु होला। म सफल भएपछि मात्र लेख्नु होला।"
उनका आरोहण सहयोगीका अनुसार उनले आफ्नो त्यो धोको पूरा गर्न सकिनन्। "त्यहाँ माथि कसरी सारी लगाउने? उनलाई माथि टुप्पोमा पुग्न नै साह्रै मुश्किल परेको थियो," दाशका आरोहण सहयोगी फुर्वा तेन्जिङ्ग शेर्पाले बीबीसीलाई बताए।
तर उनको असामयिक देहावसानले पर्वतारोहण जस्तो साहसिक गतिविधिको क्रममा मानवले भोग्नु पर्ने जोखिम फेरि एकपटक छर्लङ्ग बनाइदिएको छ।
मानवीय क्षति

तस्बिर स्रोत, Pemba Dorji Sherpa
पर्यटन विभागका अनुसार यो वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहण गर्ने क्रममा विगत करिब एक साताको अवधिमा कम्तीमा सात जनाको ज्यान गइसकेको छ।
ती मध्ये चार जना भारतीय आरोही छन्। एक जना आरोही नेपाली हुन् भने एक जना अमेरिकी छन्। सगरमाथा आरोहण लगत्तै अर्का ब्रिटिश आरोहीको पनि ज्यान गएको खबर छ।
सगरमाथा नजिकैको लोत्से हिमालमा एक आरोहीको ज्यान गएको खबर छ।
त्यस्तै मकालु हिमालमा दुई आरोहीको ज्यान गएको छ भने एक जना हराइरहेका छन्। त्यसअघि मे १५ तारिखमा कञ्चनजङ्घा हिमालमा दुई आरोहीको ज्यान गएको थियो।

तस्बिर स्रोत, Dreamers Destination Treks
भारतमा दु:ख व्यक्त
भारतको ओडिशा राज्यको भुवनेश्वरमा बसोबास गर्ने कल्पना दाशले सन् २००४ र सन् २००६मा सगरमाथाको शिखर चुम्न विफल भइन्।
तर उनले सन् २००८ मा सर्वोच्च शिखरमा आफ्नो पाइला राख्न सफल भइन्।
उनले विश्वका विभिन्न महादेशका उच्च शिखरहरूको आरोहण गरिसकेकी थिइन्।
उनको मृत्युको खबरप्रति दु:ख व्यक्त भइरहेका छन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त
यसपालि भने उनी सफल भएर पनि असफल भइन्। उनी फर्किन असफल भइन्।
सम्पर्क अधिकृत श्रेष्ठका अनुसार उनी र अन्य दिवङ्गत आरोहीका पार्थिव शरीरलाई शिखर क्षेत्रबाट काठमाण्डू ल्याउने प्रयत्न भने अझै जारी नै छ।
सामग्री उपलब्ध छैन
थप Facebook मा हेर्नुहोस्अन्य वेबसाइटका सामग्रीहरूका लागि बीबीसी जिम्मेवार छैन।Facebook पोस्ट समाप्त









