मेलम्चीको नालीबेली: पाँच महिनादेखि ठप्प आयोजना अघि बढाउने के छन् नयाँ उपाय

- Author, सञ्जय ढकाल
- Role, बीबीसी नेपाली सेवा
नेपालको इतिहासकै सर्वाधिक चर्चित र बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको मुख्य काम विगत पाँच महिनादेखि ठप्प रहेको छ।
इटालियन ठेकेदार भागेपछि बहुप्रतीक्षित मेलम्चीको सुरुङ तथा हेडवर्क्सका काम ठप्प छन्।
सुख्खा याममा काठमाण्डू उपत्यकावासीको खानेपानीको अभाव चर्किँदै गएको बखत मेलम्ची हविगतले पुन: उक्त आयोजनाबारे सबैको चासो बढेको छ।
गत पुस १ गतेबाट सीएमसी नामक इटालियन ठेकेदार कम्पनीले मेलम्चीको हेडवर्क्स तथा सुरुङ निर्माण कार्य छोडेर हिँडेकोले त्यसपछि कुनै प्रगति हुन सकेको छैन।
अहिले के गर्दैछ आयोजना?
आयोजना सञ्चालन गर्दै आएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तका अनुसार नयाँ ठेकेदार ल्याएर काम सुरु गर्न नयाँ खरिद प्रक्रिया अपनाउने प्रयास भइरहेको छ।
"दातृनिकायले के भनेको छ भने अब यसलाई एउटा आपत्कालीन आयोजनाको रूपमा लिएर चाँडो सम्पन्न गर्नुपर्छ। त्यसका निम्ति नेपाल सरकारले केही निर्णय गर्नुपर्नेछ। ती निर्णय हुनेबितिक्कै नयाँ खरिद प्रक्रिया अपनाएर अघि बढ्नुपर्नेछ," पन्तले बीबीसीलाई बताए।
नयाँ खरिद प्रक्रियाको अर्थ नयाँ ठेकेदार निम्त्याउने हो।
हालसम्म एउटै प्याकेजमा रहेको सुरुङ तथा हेडवर्क्स भनिने कामलाई छुट्टाछुट्टै रूपमा ठेक्का लगाउनका निम्ति पनि नयाँ निर्णय आवश्यक परेको उनले बताए।
सरकारको उक्त निर्णय पर्खिरहेको उनले बताए।
के काम बाँकी?
पहिले उक्त जिम्मा लिएको इटालियन कम्पनी सीएमसी इटालीमा टाट पल्टिएपछि अकस्मात् उसले मेलम्ची निर्माण छाडेर फर्किएको थियो।

अहिले मेलम्चीमा बाँकी रहेको मुख्य कार्य भनेको हेडवर्क्स तथा सुरुङका केही अन्तिम काम छन्।
काठमाण्डू उपत्यकाभित्र पाइपलाइन जडान तथा सुन्दरीजलमा पानी प्रशोधनस्थलका काम भने रोकिएका छैनन्।
"हेडवर्क्स भनेको नदीबाट पानी फर्काएर सुरुङभित्र ल्याउने हो। त्यसका लागि खोलामा बाँध बनाउनुपर्छ। बाँधको छेउमा सुरुङभित्र पानी लग्न इन्टेक बनाउनु पर्छ। सुरुङभित्र बालुवा वा गिट्टी नछिरोस् भनेर डिसिल्टिङ गराउनुपर्छ," उनले भने।
सुरुङको हकमा भने अन्तिम 'फिनिशिङ' का केही काम अनि त्यहाँ निरन्तर अनुगमनका निम्ति आवश्यक विविध उपकरण जडानका काम बाँकी रहेको छ।
नयाँ ठेकेदार नियुक्त भएपछि पनि यी सब काम फत्ते गर्न कम्तीमा एक वर्ष लाग्ने अनुमान रहेको पन्तले बताए।
के छ सरकारको तयारी?
अचानक ठेकेदार भागेर मेलम्चीको काम अलपत्र परेपछि अब सरकारले सरोकारवाला सबै पक्षसँग कुराकानी गरेर अघि बढ्ने तयारी गरेको बताइएको छ।
मेलम्चीबारे ताकेता गर्न संसद्को विकास समितिले दुई दिनअगाडि आयोजना गरेको छलफलमा खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले विपक्षी दल, महालेखापरीक्षक, अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग छलफल गरेर अघि बढ्ने बताएका विवरण आएका थिए।

साथै, मेलम्चीका सहायक ठेकेदारहरूलाई दिनुपर्ने भनिएको डेढ अर्ब रुपैयाँको भुक्तानी कसरी दिने भन्ने विषयमा पनि सरकारले सहमति जुटाउन खोजेको विवरण आएका छन्।
"सबैको चासो भएको विषयमा सहमति खोज्ने प्रयास त राम्रै हो। खासमा हामीले चाहिँ सार्वजनिक खरिद ऐनमा भएका लम्बेतान प्रक्रियाभन्दा त्यसैमा भएको प्रावधानअनुरूप विशेष परिस्थितिमा छोटो बाटो अपनाउन सकिनेगरी अगाडि बढ्न र चाँडो मेलम्ची सम्पन्न गर्न सरकारलाई निर्देशन दिएका छौँ," समितिकी सभापति कल्याणीकुमारी खड्काले बीबीसीलाई बताइन्।
हाल साढे ३५ करोड डलर बराबरको मेलम्ची आयोजनामा एशियाली विकास ब्याङ्कले साढे १४ करोड डलर ऋण उपलब्ध गराएको छ।
उक्त आयोजनाले झन्डै १३ लाख सहरी बासिन्दा अर्थात् एक लाख ५८ हजार परिवारलाई खानेपानी आपूर्ति गर्ने अनुमान रहेको छ।
पहिलो चरणमा मेलम्चीमार्फत् १७ करोड लिटर पानी प्रतिदिन काठमाण्डू ल्याउने भनिएको छ।
यो पूरा भएपछि दोस्रो चरणको मेलम्ची आयोजना प्रस्तावित छ।
दोस्रो चरणमा याङ्ग्री र लार्के नामका अन्य खोलाको पानी पनि मिसाएर राजधानीमा वितरण गर्ने योजना रहेको बताइन्छ।
त्यसका लागि आधा अर्ब डलर लाग्ने अनुमान छ।
मेलम्चीको 'लाजमर्दो' इतिहास
मेलम्ची खानेपानी आयोजना काठमाण्डूका निम्ति आवश्यक भन्ने कुरा चलेको दशकौँ बितिसक्यो।
विक्रम सम्वत् २०५१ को मध्यावधि चुनावमा काठमाण्डूबाट उठेका पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले चुनाव जिते "काठमाण्डूको सडक मेलम्चीको पानीले पखालिदिने" भनी गरेको वाचा आजपर्यन्त सम्झना गरिन्छ।
तर समयसीमा तोकिने र त्यसको पालना नहुने शृङ्खलाबद्ध घटनाक्रमले त्यसयता मेलम्ची एउटा राष्ट्रिय चुट्किला नै बनिसकेको केहीले टिप्पणी गरेका छन्।
मेलम्ची आयोजना विसं २०५८/५९ मा सुरु गर्दा विसं २०६४/६५ भित्र सम्पन्न गर्ने लक्ष्य थियो। तर अहिलेसम्म यो आयोजना बनिसकेको छैन।
यसबीच अब अर्को वर्षभित्र वा आउने दशैँभित्र मेलम्ची बन्छ भनेर धेरै पटक धेरै सरकारले गरेका वाचा त्यत्तिकै तोडिए।
गत वर्ष पनि जब मेलम्चीको मुख्य सुरुङ छिचोलियो तब खानेपानी मन्त्री बीना मगरले दशैँसम्ममा मेलम्चीको खानेपानी राजधानीमा वितरण भइसक्ने बताएकी थिइन्।
तर मेलम्ची पूरा हुनु त कता हो कता तिहारपछि मुख्य ठेकेदार नै काम छाडेर भागिदियो।
मेलम्चीको प्रतीक्षामा बसेको काठमाण्डूको तिर्खा समाजिक सञ्जालमा पनि विभिन्न रूपमा देखिने गरेको छ।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 1
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 2
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 3

काठमाण्डूमा दौडिरहने खानेपानीको एउटा ट्याङ्करमा लेखिएको यो मुक्तकले सम्भवत: मेलम्ची आयोजना र राजधानीको वस्तुस्थितिको झल्को दिन्छ:
मेलम्ची पानी, सम्झिने नानी
ट्याङ्करको पानी, मजाले खानी...









