कीर्तिमानी कामिरिता शेर्पाकी श्रीमतीको डर: सगरमाथा चढ्ने बाटो निकै कठिन छ
- Author, सृजना श्रेष्ठ
- Role, बीबीसी नेपाली सेवा
कामिरिता शेर्पाले बुधवार बिहान २३औँ पटक सगरमाथा चढेर नयाँ विश्व कीर्तिमान कायम गरे।
तर उनका श्रीमतीका लागि भने कामिरिताले पहिलो पटक सगरमाथा चढ्दा मनमा जति त्रास थियो आज पनि उत्तिकै छ।
लाक्पा जाङ्मु शेर्पा भन्छिन्: "बाटो निकै डरलाग्दो छ। जति नै पटक सगरमाथा चढेपनि श्रीमानको चिन्ता त भइहाल्छ नि!"
अहिलेसम्म २८० जनाभन्दा बढीको ज्यान लिइसकेको सगरमाथा चढ्न जाने शेर्पाहरूको परिवारमा भने उनीहरू नफर्के सम्म त्रास रहन्छ।
बिहानैदेखि कामना
कामिरिता सगरमाथा चढ्ने दिन बुधवार ४६ वर्षिया लाक्पा बिहान ३ बजे नै ब्युँझिइन् र श्रीमानका लागि पूजाआराधना गरिन्।
उनले बीबीसी नेपाली सेवालाई भनिन्: "बिहानै उठेर पूजा गरेँ, दुध र पानी चढाएँ अनि साढे पाँचमा बौद्ध गएर फेरि श्रीमानको सफलताको लागि पाठ गरेँ।"

तस्बिर स्रोत, Seven Summit Treks
मन थाम्न नसकेर श्रीमानको आरोहण टोलीको सहयोगीलाई साढे सातमा फोन गरेर श्रीमानको स्थिति बुझिन्।
त्यतिबेला आरोहण जारी थियो।
सफल आरोहणपछि सहज
कामिरिता बिहान ७:५० मा सगरमाथाको शिखरमा पुगे र त्यसको पाँच मिनेट पछाडि लाक्पालाई जानकारी आयो।
अनि मात्र उनी ढुक्क भइन्।
लाक्पाले भनिन्: "मेरो श्रीमानको सफलता देखेर म एकदम खुसी छु। आरोहण पश्चात आधारशिविर फर्कँदै हुनुहुन्छ भन्ने खबर आएको छ। भोलि उहाँसँग मेरो कुरा हुन्छ होला।"
कामिरिता र लाक्पा २१ वर्षिय छोरा र १७ वर्षिया छोरीसँग काठमाण्डूको कपनमा बस्छन्।
'सगरमाथा चढ्ने इच्छा छैन'
कामिरिताले सन् १९९४ मा पहिलो पटक सगरमाथाको आरोहण गरेका थिए।
सोलुखुम्बुको थामे गाउँका ४९ वर्षिय कामिरिताले आफ्नै नाममा रहेको सर्वाधिक पटक विश्वको सर्वोच्च शिखर आरोहण गर्ने कीर्तिमान तोडेका हुन्।
लाक्पालाई भने सगरमाथा चढ्ने इच्छा कहिल्यै भएन। आधारशिविरसम्म भने पुगेकी छन्।
श्रीमानको २५ पटक सगरमाथा चढ्ने लक्ष्यका बारे सोध्दा उनले हाँस्दै भनिन्: 'सबैको आ-आफ्नो इच्छा हुन्छ।"
"श्रीमानको हिमाल चढ्ने इच्छा छ। उहाँलाई आफ्नो लक्ष्यमा पुग्नका लागि म सधैँ सहयोग गर्नेछु।"










