भारत निर्वाचन: राहुल गान्धीको केरलामा परीक्षा, नरेन्द्र मोदीद्वारा गुजरातमा मतदान

तस्बिर स्रोत, Getty Images
भारतका विभिन्न राज्यमा मङ्गलवार तेस्रो चरणको मतदान हुँदैछ।
यो चरणमा १४ राज्य तथा केन्द्रशासित स्थानमा गरेर कुल ११५ संसदीय क्षेत्रमा निर्वाचन हुँदैछ।
तीमध्ये धेरैको ध्यान केरलाको एउटा र गुजरातको अर्को क्षेत्रमा परेको छ।
भारतको मुख्य विपक्षी दल कंग्रेस पार्टीका नेता राहुल गान्धी पहिलो पटक दक्षिण भारतीय राज्य केरलाको वायनाडको चुनावी मैदानमा छन् भने गुजरातमा भारतीय जनता पार्टीका नेता तथा प्रधानमन्त्री नरेन्द्र मोदीले गृहराज्य गुजरातमा मतदान गरे।
गान्धी वायनाडबाहेक अर्को क्षेत्रबाट पनि उठेका छन्। केही हप्तापछि उनको परीक्षा उत्तर प्रदेशको अमेठीमा पनि हुँदैछ। त्यो कांग्रेसको पुरानो पकड क्षेत्र हो।
दुवै स्थानमा विजयी भएमा उनले एउटा स्थान छोड्नु पर्नेछ।
दुई स्थानबाट किन?
वायनाडसँगै मङ्गलवार भारतको लोकसभा निर्वाचन २०१९ को तेस्रो चरणअन्तर्गत मतदान हुँदैछ।

तस्बिर स्रोत, Getty Images
यस क्रममा गुजरात, केरला, कर्नाटक, महाराष्ट्र, गोवा, असम, बिहार, ओडिशा, उत्तर प्रदेश, छत्तीसगढ, पश्चिम बङ्गाल, दमन र दीव, दादर नागर हवेली र जम्मु-कश्मीरमा मतदान हुँदैछ।
वायनाडलाई पूरै निर्वाचनको एउटा महत्त्वपूर्ण क्षेत्रको रूपमा हेरिएको छ।
यो निर्वाचनलाई सन् २०१४ देखि सत्तामा रहेका प्रधानमन्त्री नरेन्द्र मोदीको पक्ष र विपक्षमा मत खस्ने जनमत सङ्ग्रहको रूपमा हेरिएको छ।
वायनाडको क्षेत्र कंग्रेसका लागि सुरक्षित हुन सक्ने ठानिएको छ। सन् २००९ यता कांग्रेसले यो स्थानबाट दुई पटक विजय हासिल गरिसकेको छ।
राहुल गान्धी उठेको उत्तर प्रदेशको अमेठीमा चाहिँ मे ६ तारिखमा मतदान हुँदैछ।
अमेठीमा गान्धी परिवारको पकड रहँदै आएको छ। राहुल गान्धी सन् २००४ देखि अमेठीबाट लड्दै र जित्दै आएका छन्।
त्यसअघि अमेठीबाट उनकी आमा, बुवा र काकाले आफ्नो सक्रिय राजनीतिक जीवनकालमा जित हासिल गर्दै आएका थिए।
त्यसैले उनले वायनाडबाट पनि उठ्ने निर्णय गर्दा धेरै जना आश्चर्यचकित हुन पुगेका थिए। वायनाड भारतको पश्चिमी घाटमा अवस्थित हरियालीयुक्त सुन्दर स्थान हो।

तस्बिर स्रोत, Reuters
कंग्रेसले भनेको छ, "गान्धीलाई त्यहाँबाट निर्वाचन उठाउनुको अर्थ हो त्यो दलले दक्षिणी राज्यहरूलाई पनि महत्त्व दिन्छ र सम्मान गर्दछ।"
तर विपक्षीहरुले भने गान्धीले अमेठीमा जित्ने निश्चित नभएकाले उनले अर्को स्थानमा पनि बाजी थापेका हुन्।
मतदानका चरणहरू
संसद्को तल्लो सदन लोकसभाका लागि भएको यो निर्वाचन अन्तर्गत मे १९ तारिखसम्म सात चरणमा मतदान हुनेछ।
सबैतिर मतदान सकिएपछि मतगणना २३ तारिखमा सुरु हुनेछ।
प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो कार्यकालका लागि निर्वाचित हुन खोजिरहेका छन्। यो निर्वाचनलाई उनका लागि जनमतसङ्ग्रहका रूपमा हेरिएको छ।
यद्यपि रोजगारी सिर्जना गर्ने र किसानको समस्या सम्बोधन गर्नेजस्ता आफ्ना वाचा सरकारले पूरा गर्न नसकेको विपक्षीहरूको आरोप छ।
कहाँ के हुँदैछ?

तस्बिर स्रोत, Getty Images
यो निर्वाचनबाट भारतीय संसद्को तल्लो सदन लोकसभाका लागि प्रत्यक्ष रूपमा नयाँ सांसद चुन्नेछ।
लोकसभामा ५४३ स्थान छन्। बहुमत ल्याउन २७२ सांसद हुनुपर्छ।
गत एप्रिल ११ मा पहिलो चरणमा उत्तरप्रदेश, बिहार, पश्चिम बङ्गालसमेत १८ राज्य र दुई केन्द्रशासित क्षेत्रमा मतदान भएको थियो।
पहिलो चरणमा मतदान भएका स्थानमा ९१ सांसद निर्वाचित हुनेछन् भने दोस्रो चरणको मतदानबाट ९५ सांसद छानिनेछन्।
दोस्रो चरणमा असम, बिहार, छत्तीसगढ, जम्मू-कश्मीर, कर्नाटक, महाराष्ट्र, मणिपुर, ओडिशा, पुद्दुचेरी, तमिलनाडु, त्रिपुरा, उत्तर प्रदेश तथा पश्चिम बङ्गालका निर्वाचन क्षेत्रमा मतदान भएको थियो।
निर्वाचनमा को बलियो?
मोदीको हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी सन् २०१४ को निर्वाचनमा विजयी भएको थियो। भाजपाले अहिलेको जस्तै बहुमत कायम राख्न निर्वाचन अभियान चलाएको छ।

तस्बिर स्रोत, Getty Images
तर बलिया क्षेत्रीय पार्टीहरू र राहुल गान्धीले नेतृत्व गरेको प्रमुख प्रतिपक्षी कंग्रेस पार्टीबाट उसले चुनौती खेप्नुपरेको छ।
राहुल गान्धीका बुवा राजिव गान्धी, हजुरआमा इन्दिरा गान्धी र जिजुबुवा जवाहरलाल नेहरू सबै नै भारतको प्रधानमन्त्री बनेका थिए। उनकी बहिनी प्रियङ्का गान्धी गत जेनुअरीमा राजनीतिमा प्रवेश गरेकी थिइन्।
प्रचारप्रसार निकै उग्र देखिएकोले केही पर्यवेक्षकहरूले यो मतदानलाई दशकौँको सबैभन्दा महत्त्वपूर्ण निर्वाचनका रूपमा हेरेका छन्।
आलोचना किन
मोदी सत्तारूढ दलका लागि मत तान्ने प्रमुख व्यक्तिमा रूपमा रहेका छन्। तर आलोचकहरूले आर्थिक वृद्धि र रोजगारी सिर्जना गर्ने उनको वाचा पूरा हुन नसकेको बताएका छन्।
मोदीको नेतृत्वमा धार्मिक ध्रुवीकरण भएको भन्दै उनीहरूले आलोचना गरेका छन्।

यो निर्वाचनमा झन्डै ९० करोड योग्य मतदाताले देशभरिका एक लाख मतदान केन्द्रमा मतदान गर्नेछन्।
सन् २०१४ मा भएको निर्वाचनमा झन्डै ६६ प्रतिशत मतदाता सहभागी भएका थिए।
सन् २०१४ मा भएको निर्वाचनमा भाजपाले दुई सय ८२ स्थानमा जितेको थियो भने कंग्रेस पार्टी ४४ स्थानमा खुम्चिएको थियो।
कोही पनि मतदाताले मतदान केन्द्र पुग्नका लागि दुई किलोमिटरभन्दा पर पुग्नुपर्नेछैन।
भारतमा निर्वाचनको इतिहास
संयुक्त अधिराज्यबाट सन् १९४७ मा स्वतन्त्र भएको भारतमा पहिलो चोटि सन् १९५१/५२ मा निर्वाचन भएको थियो।

पहिलो निर्वाचन सकिन तीन महिना लागेको थियो।
सन् १९६२ देखि १९८९ सम्म निर्वाचन सकिन चारदेखि १० दिन लागेको थियो। सन् १९८० मा चार दिनमा सकिएको निर्वाचन देशकै सबैभन्दा सानो समयावधिमा सकिएको थियो।
यसपालि सन् २०१४ को निर्वाचनपछि थपिएका आठ करोड ३० लाख मतदाता छन्।
नयाँ मतदातामा १८ देखि १९ वर्ष पुगेकाको सङ्ख्या डेढ करोड छ।








