नोट्र-डाम आगलागी: के के खजानाका कारण यो गिर्जाघर यति विशेष भयो

तस्बिर स्रोत, AFP
भीषण आगलागीका कारण प्यारिसस्थित प्राचीन स्मारक नोट्र-डाम कथिड्रलको छाना जलेर ध्वस्त भएको छ भने भवनका अन्य भौतिक संरचनामा पनि क्षति पुगेको छ।
प्यारिसका उपमेयर एमानुएल ग्रेगोएरले आगलागीका कारण कथिड्रलमा व्यापक क्षति पुगेको बताएका छन्। उनका अनुसार आपतकालीन सेवाका कर्मचारीहरूले त्यो गिर्जाघरमा रहेका बहुमूल्य कलाकृति र अन्य सामग्रीलाई बचाउने प्रयास गरिरहेका छन्।
कथिड्रलको भित्री काष्ठकला जलेर ध्वस्त भएको छ। ८५० वर्ष पुरानो गोथिक संरचनाका अरू विशेषता के के हुन् जस्ले नोट्र-डामलाई अन्य संरचनाभन्दा पृथक बनाएको छ?
गुलाफी झ्यालहरू

तस्बिर स्रोत, Getty Images
त्यो गिर्जाघरमा अंग्रेजीमा रोज विन्डो भनिने गुलाफको फुलको पत्र जस्तो संरचना भएको तीन वटा गुलाफी झ्यालहरू रहेका छन्।
ती १३औँ शताब्दीमा बनेका थिए। तीनै झ्यालका कारण पनि नोट्र-डाम निकै प्रसिद्ध छ।
ती मध्येको सबैभन्दा पहिलो र सबैभन्दा सानो पश्चिमी मोहडामा राखिएको थियो। त्यसलाई सन् १२२५ मा बनाइ सकिएको थियो। त्यो झ्यालमा जडित सिसाले त्यस वरिपरिको पत्थर कलालाई झनै आकर्षक बनाएको छ।
तर अब त्यो बदलिएको छ। यसअघिका आगलागीमा समेत क्षति पुगेकोले त्यो झ्यालको सिसाको रङ्ग पहिलेको जस्तो देखिँदैन।
एक फ्रान्सेली पत्रकारका अनुसार त्यो कथिड्रलको उत्तरतर्फको गुलाफी झ्यालमा क्षति पुगेको छैन। तर पनि अग्निनियन्त्रकहरू ढुक्क भइसकेका छैनन्।
सबै गुलाफी झ्यालहरूको अवस्था कस्तो छ भन्ने प्रष्ट भइसकेको छैन।
दुई अग्ला टावर अर्थात धरहरा

तस्बिर स्रोत, AFP
नोट्र-डाम हेर्न आउने अधिकांश आगन्तुकहरू केही समय त्यो कथिड्रलका दुई गोथिक टावरहरूलाई हेर्ने गर्दछन्। ती कथिड्रलको पश्चिमी भागमाथि ठडिएका छन्।
ती अग्ला टावर रहेको पश्चिमी मोहडाको निर्माण सन् १२०० तिर सुरु गरिएको थियो। त्यसको निर्माण पूरा गर्न ४० वर्ष लागेको थियो। सन् १२५० मा ती टावरहरू ठड्याउने काम पूरा भएको थियो।

तस्बिर स्रोत, Getty Images
ती टावरहरूको उचार ६८ मिटर रहेको छ। ती माथि चढ्न ३८७ खुट्किला उक्लनु पर्दछ। माथिबाट प्यारिस सहरको मनोरम दृश्य देख्न सकिन्छ।
अधिकारीहरूका अनुसार आगलागीका कारण ती दुई अग्ला स्तम्भमा धेरै क्षति पुगेको छैन।
घण्टहरू
त्यो कथिड्रलमा १० वटा घण्टहरू रहेका छन्। सबैभन्दा ठूलोलाई एमानुएल भनिन्छ। त्यस्को तौल २३ टन रहेको छ। त्यो घण्ट सन् १६८५ मा जडान गरिएको थियो।
सन् २०१३मा त्यो कथिड्रल निर्माणको ८५०औँ वर्षगाँठ मनाइएको थियो।
कथिड्रलमा रहेका सबै घण्टीलाई इसाई सन्तहरूको नाम दिइएको थियो। त्यहाँ जडित प्राचीन घण्टहरू फ्रान्सेली क्रान्तिका बेला केही पग्लिएका थिए।
लेखक भिक्टर ह्युगोले सन् १८३१ मा लेखेका "द हन्चब्याक अफ नोट्र-डाम" नामक कृती यही प्राचीन गिर्जाघरको सेरोफेरोमा आधारित रहेको छ।
गोथिक स्पायर

तस्बिर स्रोत, AFP
नोट्र-डामको प्रसिद्ध स्पायर अर्थात सुरिलो गजुर सोमवारको आगलागीपछि क्षतिग्रस्त भएको छ। त्यसको निर्माण १२ औँ शताब्दीमा गरिएको थियो।
त्यो गजुर फ्रान्सेली क्रान्तिका बेला भत्काइएको थियो। तर पछि त्यसलाई सन् १८६०को दशकमा पुननिर्माण गरियो।
त्यो गजुर भत्किएपछि ब्रिटिश आर्किटेक्टहरूको संगठनले दु:ख व्यक्त गरेको छ। उनीहरूले यो घटनालाई फ्रान्सेली गोथिक बास्तुकला सम्पदाको लागि अपूरणीय धक्का भनेका छन्।
प्राचीन कला

तस्बिर स्रोत, AFP
नोट्र-डाम गिर्जाघरमा इसाईहरूका आराध्य जिसस क्राइस्टको पाला देखिका प्राचीन बस्तुहरू सङ्ग्रहित गरिएको बताइन्छ।
त्यहाँ प्यासन अफ क्राइस्ट भनिने जिससलाई झुन्ड्याइएको क्रस, उनको शरीरमा ठोकिएका किलाहरू र अन्तिम अवस्थामा जिससले शिरमा लगाएको भनिएको क्राउन अफ थर्नस् (काँडाको मुकुट) समेत राखिएको विश्वास गरिन्छ।

तस्बिर स्रोत, Anne Hidalgo
प्यारिसकी मेयर एन हिदाल्गोले अग्निनियन्त्रक तथा प्रहरीले मानव साङ्लो बनाएर त्यो कथिड्रलभित्रका प्राचीन कला र अन्य बहुमूल्य बस्तुहरूको संरक्षण गर्ने प्रयास गरेको भन्दै ट्वीटरमा एक सन्देश लेखेकी छन्।
बीबीसीका युरोप सम्वाददाता केभिन कोनोलीका अनुसार कथिड्रलभित्र राखिएका केही ठूला पेन्टिङ्हरू निकै गह्रौँ भएकोले अग्नि नियन्त्रकहरूलाई तिनलाई निकाल्न कठिन भएको थियो।








