मिथिलाञ्चलको होली: फरक दिन, शैली र मान्यतामा रङ्गको पर्व

होली
    • Author, बृजकुमार यादव
    • Role, बीबीसी नेपाली सेवा

मिथिला क्षेत्रमा मनाइने होली देशको अन्यत्र भागभन्दा फरक छ।

फागु पूर्णिमाका रुपमा समेत बुझिने होली नेपाल र भारतको भूभाग समेटिएको मिथिला बृहत्त परिक्रमा क्षेत्रमा पूर्णिमाका दिन पर्दैन, त्यसको भोलिपल्ट पर्छ।

त्यसका दुई कारण छन्: पहिलो, पूर्णिमाको दिन जनकपुरधामको परिक्रमा गरिने भएकाले मदिरा र मासु सेवन वर्जित हुन्छ।

दोस्रो, पूर्णिमाको दिन १५ दिने परिक्रमाको समापन दिन हो र मिथितावासीहरू परिक्रमाले थकित भएका हुन्छन्।

मिथिलाञ्चलमा फागु

यो मदनोत्सव हो। अनि यसमा मानिसहरु मदमत्त हुन्छन। वसन्त पञ्चमीको दिनदेखि डंफ र मजीराका साथ होलीका गीत गाउने होलैताहरु तयार हुन्छन्। यो क्रम फागुन पूर्णिमाको भोलिसम्म चल्छ।

पूर्णिमाको राति होलीका गीतहरु (फागु) गाउँदै होलिका दहन गरिन्छ र भोलिपल्ट फागु मनाइन्छ।

फागुका दिन रङ्ग-अबिर खेलेर बेलुका होलिका दहन गरिएको स्थानमा गएर खरानी उडाउँदै 'जे जीवे से खेले फागु जे मरे से लेखा ले' भन्दै त्यहाँबाट 'चैतावर' गीत (चैत महिनाको गीत) गाउँदै फर्किने गरिन्छ।

पहिले पहिले गाउँघरमा दुध र मसलामिश्रित भाङ तयार हुन्थ्यो।

होलैता समूहमा प्रत्येक टोलको मानिसहरू सहभागी हुन्थे र उनीहरू घरघरमा पुगेर होली गीत गाउने गर्थे।

होलैतालाई भाङ, अबिर, पान र मसालेदार सुपारी प्रदान गरी विदा गरिन्थ्यो।

भाङलाई अहिले मदिराले विस्थापित गरेको छ।

होली
तस्बिरको क्याप्शन, तराईका जिल्लामा फागु पूर्णिमाको भोलिपल्ट मनाइने होलीमा पहिला भगवानलाई रङ्ग चढाएर र आफ्ना परिवारका सदस्यसँग रङ्ग लगाएपछि आफन्त र छिमेकीसँग खेल्ने गरिन्छ

रङ्ग, अबिर धुलो

होली रङ्ग अबिरको पर्व हो।

फागुको धार्मिकभन्दा पनि सांस्कृतिक महत्व रहेको छ। होलीमा रङ्ग र अबिरसँगै धुलो पनि उडाइन्छ।

प्राध्यापक परमेश्वर कापडीले भन्छन्: "रङ्ग अबिरको खेलसँगै धुरखेल (धुलो उडाउने खेल) पनि मिथिलामा हुन्छ।"

विसंगतिहरुलाई उडाउँदै नयाँ वर्षको सुखद शुभारम्भ होलीको दिनबाट हुन्छ।

होलीले समाजमा आपसी रिस, द्वेष र वैमनस्यताहरूलाई बिर्साएर सदभाव र मेलमिलापका साथ अगाडि बढाउने मान्यता छ।

होली प्रारम्भ भएदेखि गाइने गीत र होली सकिएपछि गाइने गीतमा धेरै भिन्नता देखिन्छ।

डा. रेवतीरमण लालले होलीमा होलिका दहनको कुनै प्रसंग नरहेको बताउँछन्।

उनले भने, "होलिका दहनको खुशियाली मनाउन होली खेलिएको होइन। होलीमा होलिकारूपि विकृतीको दहन गरिने भनिएपनि यो कहिलेदेखि फागुमा जोडियो, त्यसको यकिन छैन।"

मिथिलाञ्चलको होली

महामुर्ख सम्मेलन

झण्डै एकदशकदेखि जनकपुरधाममा मिथिला नाट्यकला परिषद्ले होलीको अवसरमा महामुर्ख सम्मेलनको आयोजना गर्दै आएको छ।

महामुर्ख सम्मेलनमा लब्धप्रतिष्ठित व्यक्तिलाई महामुर्खको उपाधि प्रदान गरिन्छ।

महामुर्ख हुनेलाई समाजमा उच्च व्यक्तित्व मानिन्छ। विभूषित गरिने उपाधिहरु महामुर्ख, पटमुर्ख , चौपटट्मुर्ख, मुर्खानन्द र मुर्खाधिश लगायत छन्।

विभूषित हुनेहरुलाई काउली, फर्सी, खुर्सानी, आलु लगायत विभिन्न तरकारीहरूको माला लगाइने गरिन्छ।

अन्य बेला महामुर्ख भन्दा समेत कुटाकुट गर्नेहरु होलीको अवसरमा त्यस्ता विभूषणहरु पाएर दङ्ग पर्छन्।

महामुर्ख सम्मेलनपनि होलीको एउटा अङ्ग बनेको परिषद्का अध्यक्ष परमेश्वर झा बताउँछन्।

झा भन्छन्: "महामुर्ख सम्मेलनमा कथा-कविता वाचनले समाज र राजनीतिक विकृतिमाथि व्यङ्ग गर्छ।"