ब्रेक्जिट: युके विना सम्झौता इयुबाट बाहिरिने प्रस्तावमा मतदानको तयारी

इयु र ब्रिटेनको झण्डा

तस्बिर स्रोत, Getty Images

ब्रिटेनका सांसदहरूले आगामी मार्च २९ मा युकेलाई विना कुनै सम्झौता इयुबाट बाहिरिनबाट रोक्ने की नरोक्ने भन्ने विषयमा बुधबार मतदान गर्दैछन्।

ब्रेक्जिट सम्बन्धी प्रधानमन्त्री टरिजा मेले प्रस्तुत गरेको परिमार्जन सहितको मस्यौदा प्रस्ताव मङ्गलवारको मतदानमा सांसदहरूले अस्वीकृत गरेका थिए।

युकेको इयुबाट बहिर्गमन सम्बन्धी उक्त प्रस्ताव १४९ मतले संसदमा पराजित भएको थियो।

यसैबीच युके सरकारले विना कुनै सम्झौता इयुबाट बाहिरिनु पर्ने अवस्था आएमा इयु बाहिरबाट गरिने आयातमा कर कटौती गरिने र उत्तरी आयरल्याण्डमा पक्का सिमाना स्थापना गर्नु पर्ने अवस्थाबाट जोगिन विभिन्न उपायहरू गरिने बताएको छ।

मङ्गलवार ब्रिटिश प्रधानमन्त्रीको नयाँ प्रस्ताव संसदमा पराजित भएपछि विना कुनै सम्झौता ब्रिटेन इयुबाट बाहिरिएको अवस्था सम्बन्धी योजनाहरू बनाउनु "अब पहिलेभन्दा पनि बढी महत्त्वपूर्ण" भएको इयुले बताएको छ।

निराशा

इयु र ब्रिटेनको झण्डा

तस्बिर स्रोत, AFP

इयुका कतिपय नेताहरूले प्रधानमन्त्री मेको प्रस्ताव २४२ का विरुद्ध ३९१ मतले अस्वीकृत भएपछि निराशा व्यक्त गरेका छन्।

बुधवारको मतदान के विषयमा हो?

प्रधानमन्त्री टरिजा मेले भनेकी छन् बुधवार साँझ हुने मतदानमा उनको कन्जरभेटिभ पार्टीका सांसदहरूले स्वेच्छाले मतदान गर्न पाउनेछन्।

त्यसको अर्थ सरकारका मन्त्री तथा सत्तापक्षीय सांसदहरूले पार्टीको निर्देशनको आधारमा नभई आफ्नो विवेकका आधारमा मतदान गर्न सक्नेछन्, जुन ब्रेक्जिट जस्तो नीतिगतरूपमा ठूलो र महत्त्वपूर्ण विषयमा सत्ताधारी दलले अवलम्बन गरेको असाधारण कदम हो।

प्रधानमन्त्री टरिजा मे

तस्बिर स्रोत, HOC

युकेमा स्थानीय समय अनुसार बेलुकीको सात बजे सांसदहरूले सरकारले प्रस्तुत गर्ने प्रस्तावमाथि मतदान गर्नेछन्।

जसको व्यहोरा यसप्रकार रहने छ: "यो सदन आगामी २९ मार्चका दिन विना कुनै बहिर्गमन सहमति र भावी सम्बन्धका बारे कुनै ढाँचा विना युरोपेली संघबाट बाहिरिने कुरालाई अनुमोदन गर्न अस्वीकार गर्दछ।"

विना सहमति इयुबाट बाहिरिने प्रस्ताव अस्वीकृत भएमा सांसदहरूले बिहीवार अब ब्रेक्जिटमा ढिलाइ गर्नका लागि आर्टिकल फिफ्टी भनिने इयुबाट कुनै सदस्य राष्ट्र बाहिरिन चाहेमा पालना गर्नुपर्ने शर्तहरू उल्लेखित बुँदाको प्रावधानमा केही समय थप गर्ने विषयमा मतदान गर्नेछन्।

इयुले त्यस्तो समयसीमा लम्बाउनका लागि आफू समक्ष "पत्यारलाग्दो औचित्य" प्रस्तुत गर्न आवश्यक रहेको बताएको छ।

विपक्षी पार्टी लेबोरले विना सम्झौता ब्रेक्जिटमा अघि बढ्ने प्रस्तावलाई "टेबलबाट हटाउन" माग गरेको छ। र त्यसको बदलामा आफूले वैकल्पिक ब्रेक्जिट प्रस्तावलाई अघि बढाउने सो पार्टीले जनाएको छ।