दिल्ली विधानसभा सांसद अलका लाम्बाको नेपालीप्रति अपमानजनक ट्विट, आक्रोशपछि माफ मागिन्

तस्बिर स्रोत, Facebook/AAPkiAlkaLamba
भारतको आम आदमी पार्टीकी एक नेतृ अलका लाम्बाले प्रधानमन्त्री मोदीलाई व्यंग्य गर्ने क्रममा ट्विटरमा नेपाल र नेपालीको बारेमा अपमानजनक कुरा लेखेपछि सामाजिक सञ्जालमा आक्रोश पोखिएको छ।
सामाजिक सञ्जालमा नेपाली र भारतीयले समेत उनको ट्विटको विरोध गरेपछि लाम्बाले सो ट्विट मेटेर दु:ख व्यक्त गरेकी छिन्।
लाम्बा आम आदमी पार्टीको तर्फबाट दिल्ली विधान सभामा सांसद रहेकी छिन्।
अपमानजनक ट्विट
मङ्गलवार बिहान भारतीय समय ८:३० बजे आगामी भारतीय लोकसभाको निर्वाचनको सन्दर्भमा गरिएको ट्विटमा उनले लेखेकी थिइन: "प्रिय भारतवासीहरू, कृपया यो पटक प्रधानमन्त्री छान्नुहोला, चौकीदार त नेपालबाट पनि ल्याउन सकिन्छ। नेपालको चौकीदार चोर हुँदैनन्।"
प्रधानमन्त्री नरेन्द्र मोदीप्रति लक्षित सो ट्विटले नेपाल र नेपालीलाई अपमान गरेको भन्दै सामाजिक सञ्जालमा उनीविरुद्ध आक्रोश पोखिएको थियो।
मोदीलाई भारतमा विरोधीहरूले चौकीदार भनेर नकारात्मक रुपमा गिल्ला गर्ने गरेको पाइएको छ।
मेरो एउटा ट्विटले नेपालका मानिसहरूलाई दु:ख पुगेको छ जसको लागि म आफ्नो छिमेकी देश नेपालका नागरिकहरूप्रति दु:ख व्यक्त गर्दछु।
को हुन् लाम्बा?
अलका लाम्बा भारतको नयाँ दिल्ली राज्यको विधानसभामा सांसद छिन्। चाँदनी चोकबाट विधानसभामा दिल्लीको मुख्यमन्त्री अरविन्द केजरीवालको आम आदमी पार्टीबाट चुनाव जितेकी लाम्बा सन् २०१४ सम्म भारतीय काँग्रेसमा थिइन्।
विद्यार्थी जीवनबाट नै राजनीति थालेकी लाम्बा गो इन्डिया फाउन्डेसन नामक गैरसरकारी संस्थाको अध्यक्ष रहेकी छिन्।
'जातिवादी ट्विट'
लाम्बाको लेखनको विरोध गर्नेहरूले सो ट्विट जातिवादी भएको र उनले नेपालको अपमान गरेको भनेका छन् ।
नयाँ दिल्लीका प्रशन्न वैद्यले 'आपतिजनक बयान' भन्दै फेसबुकमा लेखेका छन्: "हुन त भारत र नेपाल सम्बन्धलाई अलका लाम्बाको विचारले फरक पार्दैन तर उनले जसरी लेखेकी छिन् त्यसले हाम्रो भावनालाई ठेस पुर्याउछ। हामीलाई यो थाहा हुन्छ कि उनको सोच कति साँघुरो र जातिवादको विषले भरिएको छ।"
माधव न्यौपानेले ट्विटमा नेपाल सरकारको यसमा ध्यानाकर्षण हुनुपर्ने बताएका छन्। उनले लेखे,"अलका लाम्बाको ट्विटप्रति नेपाल सरकारले ध्यानाकर्षण जनाउन जरुरी छ। नेपालीलाई ठेस पुर्याउने हिसाबका अभिव्यक्ति नेपालको स्वतन्त्रता र नेपाली सार्वभौमिकता र दुई देशको भाईचाराप्रति प्रहार बन्ने छ।"
नभिता श्रीकान्तले लाम्बालाई माफी मागेर ट्विट मेट्ने सल्लाह दिदैँ उनको कुराले 'मानवीयता कम भएको, मानव जातिलाई भेदभाव गरेको र भारतीय गोर्खा फौजमा रहेका नेपालीलाई अपमान गरेको लेखेकी थिइन्।
माफी मागिन्
ट्विट गरेको करिब छ घण्टापछि त्यसलाई मेट्दै लाम्बाले माफी मागेर अर्को ट्विट लेखेकी छिन्।
उनले आफ्नो ट्विटले नेपालीहरूलाई दु:ख पुगेको तर आफ्नो आशय त्यो नभएको भन्दै दु:ख पनि व्यक्त गरेकी छिन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त
उनले माफ मागेर ट्विटरमा लेखेको सन्देशलाई नेपालका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले समेत रिट्विट गरेका छन्।








