सीके राउत: पृथक्तावादी अभियान छोडेर राष्ट्रिय राजनीतिको मूलधारको आउने दाबी

सीके राउत

तस्बिर स्रोत, CK Raut

पढ्ने समय: २ मिनेट

स्वतन्त्र मधेश राज्यको मागसहित आन्दोलन गर्दै आएका एकजना विवादास्पद नेता सीके राउतले आफ्नो पृथक्तावादी अभियान परित्याग गर्न लागेको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीका एकजना अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई उद्धृत गर्दै जनाएका छन्।

श्रेष्ठका अनुसार शुक्रवार आकस्मिक रूपमा बसेको नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राउतसँग सरकारले गरेको वार्ता सफल भएको र उनी नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र संविधानलाई स्वीकार्दै पृथक्तावादी अभियान परित्याग गर्न सहमत भएको जानकारी दिएका थिए।

सो बैठकमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' पनि उपस्थित थिए।

शुक्रवार दिउँसो प्रधानमन्त्री ओली र राउतले संयुक्त रूपमा एउटा राजनीतक सहमति गर्ने बताइएको छ।

ओली निकटस्थ सूत्रले पनि प्रधानमन्त्रीले "मधेशको शान्ति र स्थिरताका लागि विशेष घोषणा" गर्ने बताएका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले प्रधानमन्त्रीले दिउँसो "विशेष महत्त्वको विषयमा सम्बोधन" गर्न लागेको भन्दै ट्वीट गरेका छन्।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

Presentational white space

प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले "राजनीतिक सहमति घोषणा कार्यक्रम" भन्दै अर्को ट्वीट गरेका छन्।

सर्वोच्च अदालतको आदेशपछि बिहीवार साँझ सीके राउत केन्द्रीय कारागार काठमाण्डूबाट रिहा भएका थिए।

प्रधानमन्त्री ओली र सीके राउतले राष्ट्रिय सभागृहमा औपचारिक रूपमै राजनीतिक सहमति गर्न लागेको बताइएको छ
तस्बिरको क्याप्शन, प्रधानमन्त्री ओली र सीके राउतले राष्ट्रिय सभागृहमा औपचारिक रूपमै राजनीतिक सहमति गर्न लागेको छ
Presentational white space

राउतलाई पाँच महिनाअघि रौतहट जिल्ला अदालतको परिसरबाट पक्राउ गरिएको थियो। उनलाई राज्यविरुद्ध सङ्गठित अपराध गरेको अभियोगमा मुद्दा चलाइएको थियो।

उपचारका लागि काठमाण्डू ल्याइएका राउतलाई केन्द्रीय कारागारमा राखिएको थियो।

यसअघि पनि उनी बारम्बार पक्राउ हुँदै र छुट्दै आएका थिए।

प्रधानमन्त्रीको आग्रह

राउत केन्द्रीय संयोजक रहेको स्वतन्त्र मधेश गठबन्धनका प्रवक्ता अब्दुल खानले प्रधानमन्त्रीले राउतलाई "मूलधारमा आउनुहोस्, संविधान मान्नुहोस्" भन्ने आग्रह गरेको बताए।

उनका अनुसार राउतले आफूले कानुन पालना गरेकैले अदालत धाइरहेको बताइएका थिए।

उनले भने, "आज एक घण्टा सँगै उपस्थित भएर त्यस्तो सन्देश दिन खोजिएको मात्र हो।"

"स्वतन्त्र मधेश भनिएको कुरा देशलाई अलग पार्ने कुरा होइन। त्यसैले हामी मूलधारमा आयौँ भन्नु आवश्यक छैन। हामी मूलधारमै छौँ।"

उनले अब निर्वाचनमा जाने कि नजाने भन्ने कुरा परिस्थिति कसरी विकसित हुन्छ त्यसमा निर्भर हुने बताए।

आफूहरूले संविधान मानिरहेको र शान्तिपूर्ण बाटोमै रहेकाले निर्वाचनमा सहभागी भए आश्चर्य मान्नुनहुने उनको तर्क छ।

"आन्दोलनलाई कसरी अगाडि बढाउने भन्ने हाम्रो आफ्नै योजना र समयसीमा छ। अहिले हाम्रो सङ्गठन निर्माण र प्रचारप्रसारको समय हो। हामी अहिले शान्तिपूर्ण रुपमै आन्दोलनमा जान्छौँ।"

Presentational grey line

'नयाँ बाटो फलामको चिउरा'

चन्द्रकिशोर, विश्लेषक

'स्वतन्त्र मधेश गठबन्धन'मार्फत् मधेशमा पृथक्तावादी गतिविधि सञ्चालन गर्दै आएका सीके राउत मूलधारमा आउने सम्भावना निकै पहिलादेखि देखिएको थियो। तर उनी कसरी र कहिले आउँछन् भन्ने स्पष्ट थिएन।

उग्र नाराको राजनीतिलाई नेपालको भौगोलिक अवस्थितिले पनि छुट दिँदैन।

मधेशको राजनीतिमा मध्यमार्गी शक्तिका रूपमा चिनिएका फोरम र राजपाजस्ता दलले जनअपेक्षालाई पूरा गर्न नसकेको भन्दै गुनासो सुनिने गरेको छ। त्यसैले ताजा वैकल्पिक राजनीतिको आवश्यकता भएको मत कसैकसैको छ।

राउतले आज बोल्ने कुराले उनको राजनीतिक सान्दर्भिकता तय गर्छ।

अहिले मधेशमा देखिएको प्रतिक्रियाले राउतलाई नयाँ गोरेटोमा हिँड्नु फलामको च्युरा चपाउनुसरह हुन्छ।

हालका लागि एउटा पृथक्तावादी शक्ति मूलबाटोमा आइदिँदा सरकारलाई सहज हुनेछ। राउतको अभियानको हाउगुजी देखाएर मोलमोलाइ गर्न खोज्ने मधेशी दलहरूसँग कस्तो व्यवहार गर्न भन्ने निर्णय गर्न पनि सरकारलाई पहिला भन्दा सहज हुनेछ।

यसबाट प्रधानमन्त्री ओलीलाई राजनीतिक लाभ हुने देखिन्छ।

Presentational grey line

को हुन् सीके राउत?

सीके राउतको पूरा नाम चन्द्रकान्त राउत हो। उनी सप्तरीमा जन्मिएका हुन्।

उनले क्याम्ब्रिज विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन्।

सन् २०११ मा अमेरिकाबाट स्वदेश फर्केर उनले स्वतन्त्र मधेशको अभियान चलाएका थिए।

नेपाल फर्कनुअघि उनले अमेरिकामा कम्प्युटर वैज्ञानिकका रूपमा काम गरेका थिए। उनले आफ्नो आत्मकथा 'डिनायल टु डिफेन्स' र मधेशसम्बन्धी अन्य दुईवटा पुस्तक पनि प्रकाशित गरेका छन्।

स्वतन्त्र मधेश गठबन्धनका उनी केन्द्रीय संयोजक हुन्।