अख्तियारका आयुक्तको राजीनामा: उनलाई कारबाही होला कि उन्मुक्ति पाउलान्

तस्बिर स्रोत, Facebook\CIAA
भ्रष्टाचारको आरोप लागेका अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना आयुक्त राजनारायण पाठकले राजीनामा दिए पनि राजीनामा दिएकै भरमा उन्मुक्ति नपाउन् भन्नका लागि उनीमाथि छानबिन हुनुपर्ने विज्ञहरूले बताएका छन्।
भक्तपुरस्थित एउटा कलेजका सञ्चालकसँग घुस लिएको आरोप लागेपछि उनलाई महाअभियोग लगाउने तयारी भएको बताइएका बेला पाठकले शुक्रवार राष्ट्पति विद्यादेवी भण्डारीसमक्ष राजीनामा पेस गरेका थिए।
महाअभियोगबाट उन्मुक्ति पाउन राजीनामा दिएसँगै उनीमाथि छानबिन हुनुपर्ने विज्ञहरूले बताइरहँदा अधिकारीहरूले भने त्यसबारे अहिले नै निर्णय नभइसकेको बताएका छन्।
पाठकले शुक्रवारैदेखि लागु हुने गरि लिखित राजीनामा पेस गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
आरोप
पाठकले घुस लिएका प्रमाणहरू प्रधानमन्त्री र प्रतिपक्षी दलका नेता सहित अख्तियारका प्रमुख आयुक्तसमक्ष समेत पुगेको खबरहरूमाझ उनले राजीनामा बुझाएका हुन्।
केही महिनाअघि नै त्यस्ता प्रमाणहरू पाएको भनिएको सरकारले पाठकविरूद्ध कदम नचालेको भन्ने विवरणहरू सार्वजनिक भइरहेका छन्।
पाठकको गतिविधिलाई लिएर आलोचना बढेपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीले संसदमा शुक्रवार उनीविरुद्ध महाअभियोग दर्ता गर्ने ठानिएको थियो।
संसदमा त्यस्तो प्रस्ताव दर्ता हुनुपूर्व नै उनले राजीनामा दिएपछि अब महाअभियोगको सम्भावना भने टरेको छ।
के भन्छन् विज्ञ?
तर विज्ञहरूले उनीमाथि लागेको आरोपको गहन छानबिन हुनुपर्ने बताएका छन्।
अख्तियारका एकजना पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्याय भन्छन्, "ठाडै घुस लिएको देखिइसकेपछि राजीनामा दियो भन्दैमा उम्कन पाइँदैन। एउटा नैतिक दबाब अब अख्तियारमाथि पर्यो। उसले कारबाही गर्छ कि गर्दैन भन्ने। यस्तोमा अख्तियार चुप लागेर बस्न मिल्दैन। उनलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्छ।"
यसअघि पनि भ्रष्टाचार र अनियमितताको आरोप लागेर राजीनामा दिएकाहरूमाथि छानबिन नभएका उदाहरणहरू भने प्रसस्तै रहेको जानकारहरू बताउँछन्।
सर्वोच्च अदालतले अयोग्य ठहर्याएका अख्तियारकै पूर्व प्रमुख आयुक्त लोकमानसिंह कार्कीदेखि शैक्षिक योग्यता र नागरिकता विवादमा परेका पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि पनि राजीनामा पश्चात् छानबिन भएको देखिएको छैन।
केहीअघि मात्र अनियमितताको आरोप लगाउँदै सत्ताधारी दलकै नेताहरूले छानबिन माग गरेका नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाको हकमा पनि राजीनामापछि त्यस्तै भयो।
गलत परम्परा
कतिपय विज्ञहरू भने भ्रष्टाचारको आरोप लागेकाहरूले राजीनामापछि उन्मुक्ति पाउँदा गलत परम्परा स्थापित भएको ठान्छन्।
त्यस्तै मध्येका एक पूर्व मुख्य सचिव विमल कोइराला भन्छन्, "राजीनामाले के एउटा सजिलोचाहिँ बनाउँछ भने दैनिकरूपमा उनको सम्लग्नता नहुँदा प्रमाण नष्ट गरिने सम्भावना कम हुन्छ। तर राजीनामा नै अन्तिम समाधानका रूपमा लिनु हुँदैन।"
पाठकको राजीनामापछि उनीमाथि कस्तो छानबिन गर्ने वा नगर्ने बारे अहिले नै निर्णय भइनसकेको अख्तियारका अधिकारीहरूले बताए।
प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिने सत्तारूढ दल नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले भने उनीमाथि थप छानबिनको सम्भावना नसकिएको दाबी गरे।
के भन्छ सत्तापक्ष?
उनले भने, "यो विषय त्यसै मर्दैन तर सम्बन्धित कानुनले आफ्नो बाटो लिनु पर्यो।"
कानुन कार्यान्वयन गर्न तपाईंहरूले पहल गर्नुहुन्छ भनेर सोध्दा नेम्वाङले भने, "मैले त तपाईंमार्फत् नै ध्यानाकर्षण गराइसकेँ।"
आलोचकहरू भने पहिलेका उस्तै प्रकृतिका घटनाहरू स्मरण गर्दै पाठकको हकमा पनि छानबिन हुनेमा शंका व्यक्त गर्छन्।
तर यसपटक अख्तियार दुरुपयोगको छानबिन गर्ने निकायका आयुक्तले नै घुस लिएको समाचारहरू आइरहेका बेला उसमाथि आफ्नो छवि जोगाउने चुनौतीसमेत थपिएको देखिन्छ।









