प्रधानमन्त्री केपीओलीले सरकार गठनको एक वर्ष पुगेका बेला आलोचकलाई सम्बोधन् गर्दै भने, "जग हेरेर खै छाना भन्ने?"

तस्बिर स्रोत, RSS
आफ्नो नेतृत्त्वमा सरकार गठन भएको एक वर्ष पुगेका अवसरमा बिहीवार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका उपलब्धीहरूको विवरण सुनाउँदै प्रतिपक्षी र आलोचकहरूप्रति कडा टिप्पणी गरेका छन्।
बितेको एक वर्षलाई आफूले विकास र समृद्धिको आधार वर्ष मानेको भन्दै उनले त्यही आधारमा टेकेर आगामी विकास अघि बढ्ने दाबी समेत गरे।
लामो समयपछि झण्डै दुई तिहाई मत पाएर गठन भएको नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले प्रभावकारी रूपमा काम नगरेको आरोप लागिरहेका बेला ओलीले भने त्यस्तो आरोपलाई 'मुलुकको समृद्धि नचाहनेहरूको निराधार हल्ला' को रूपमा अर्थ्याए।
शुरुवातमा नै पूर्ववर्ती सरकारको आलोचना गरेका ओलीले झण्डै एक घण्टा लामो सम्बोधन गरेका थिए।
नौ महिने कटाक्ष
सम्बोधनको अधिकांश समय आफ्नो सरकारले गरेका कामहरूको फेहरिस्त सुनाउन खर्चेका उनले आलोचकहरूप्रति व्यङ्ग्य मिश्रित कडा टिप्णणी गरे।
उनले भने, "हाम्रो एउटा नौलो बानी छ, नौ-नौ महिनामा नयाँ सरकार हेर्ने। सरकार बनेको तीन महिना चुप लाग्ने अर्को तीन महिना खै त काम? भन्ने अनि नौ महिनामा सरकार फेर्ने। त्यस्तो बानी परेका हामीलाई सरकारले कामै गरेर एक वर्ष कटायो भन्दा पनि अनौठो लागेको हुनसक्छ।"
उनले अहिले सरकारप्रति उठ्ने प्रश्नहरूलाई नौ महिने अनुभवमा आधारित प्रश्नका सार पो हुन् कि? भन्दै व्यङ्ग्य गरे।
ओलीले भने, "त्यस्तो बानी छ भने फेर्नुपर्छ अब सरकार फेरिँदैन।"

तस्बिर स्रोत, RSS
फेहरिस्त
लगभग सबै मन्त्रालयहरूको प्रगति विवरण समेटिएको लिखित सम्बोधनमा ओलीले गएको एक वर्ष नेपालको समृद्धिका लागि आधार मात्र भएको बताए।
उनले समृद्धिको आधारलाई घरको जगसँग तुलना गर्दै सरकारले काम गरेन भन्नेहरूप्रति लक्षित गर्दै भने, "जग खन्दा तला र छानाको परिकल्पना त गरिन्छ तर कसैले जगलाई नै हेरेर खै चोटा? खै कोठा? खै छाना? भन्यो भने कस्को के लाग्छ? मैदान सम्याउन र जग बसाउन अवरोध गर्नेहरूले नै खै घर बनाएको भन्दै गरेका प्रश्नहरू हामीले अहिले सामना गरिरहेका छौँ।"
सरकारका कामप्रति असन्तुष्टि व्यक्त गर्नेलाई आलोचना गरेका ओलीले आफ्नो सरकारले जनअपेक्षा अनुरूप विकासको गति बढाउन नसकेको भने स्वीकार गरे।
त्यसको कारणबारे उनले भने, "जनताको चाहना छ, विकासको गाडी ५ नम्बरमा पुगोस् तर गेयर क्रमश: मात्र बढाउन सकिन्छ भन्ने विनम्र आग्रह गर्न सकिन्छ।"
ओलीले गएको एक वर्षमा सरकारले धेरै राम्रा र उपलब्धिमुलक काम गरेको भन्दै नेपालको समृद्धि नचाहनेले मात्र विरोध गर्ने गरेको आरोप लगाएका थिए।
सम्बोधन अवधिभर प्रधानमन्त्री ओलीले उनी र उनको सरकारलाई विवादमा पारेका कतिपय घटनाहरूलाई उल्लेख त गरेनन् तर त्यस्ता विवादबाट उब्जेका प्रश्नहरूको जवाफ दिने प्रयत्न चाँहि गरे।








