थाईल्याण्डकी राजकुमारी प्रधानमन्त्री पदमा चुनाव लड्ने

उबोलरत्ना

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, सन् २०१० मा खिचिएको राजकुमारी उबोलरत्नाको तस्बिर

अभूतपूर्व निर्णय लिदैँ थाईल्याण्डमा राजकुमारी उबोलरत्ना माहिडोलले प्रधानमन्त्रीको चुनाव लड्ने भएकी छन्।

थाई राजाकी ६७ वर्षिया दिदीले पूर्वप्रधानमन्त्री थाकसिन सिनावत नजिक रहेको दलबाट चुनाव लड्ने भएकी हुन्।

यो निर्णयले थाई राजपरिवारको राजनीतिबाट टाढै रहने परम्परालाई तोडेको छ।

थाईल्याण्डमा मार्च २४ गते प्रधानमन्त्रीका लागि निर्वाचन हुँदैछ। पाँच वर्षको सेनाको शासनपछि हुन लागेको यो निर्वाचनले थाईल्याण्डलाई प्रजातन्त्रमा फर्काउन सक्नेछ।

राजकुमारी उबोलरत्ना को हुन?

राजकुमारी उबोलरत्ना राजकन्या श्रीबन्दना बर्नाभदी सन् १९५१ मा स्वर्गीय राजा पुमिपोन अदुन्यदेतको पहिलो सन्तानको रूपमा जन्मिएकी थिइन्।

उनले मासाट्युट्स इन्सटिट्युट अफ टेक्नोलोजीमा पढेकी थिइन् र सन् १९७२ मा अमेरिकी नागरिकसँग विवाह गर्न राजपरिवार त्यागेकी थिइन्।

परापाचुके गरेपछि उनी सन् २००१ मा थाईल्याण्ड फर्किएर राजपरिवारका कार्यक्रममा देखिन थालेकी थिइन्।

उनी सामाजिक सञ्जालमा अभ्यस्त छिन् र केही थाई सिनेमाहरूमा पनि देखिएकी थिइन्।

उनको तीन सन्तान थिए, जसमध्ये एकजना सन् २००४ को सुनामीमा मारिएका थिए।

राजकुमारी थाई रक्षा चार्ट पार्टीको तर्फबाट उम्मेदवार बनेकी हुन्।

निर्वाचनमा अन्य उम्मेदवार

वर्तमान प्रधानमन्त्री प्रयुथ चान-औचाले पनि निर्वाचनमा उम्मेदवार हुने घोषणा गरेका छन्।

Prayuth Chan-O-Cha delivers a speech in Tokyo on February 9, 2015

तस्बिर स्रोत, Getty Images

सन् २०१४ को कूबाट शक्तिमा आएका उनी पालुङ प्रचारत पार्टीको उम्मेदवार हुनेछन्।

यो निर्वाचनलाई सिनावत परिवार र सैनिक शक्तिबीचको टकरावको रूपमा हेरिएको छ। प्रयुथ शक्तिमा आउँदा थाकसिन सिनावतकी बहिनी यिङ्लक सिनावत प्रधानमन्त्री थिइन्।

सिनावत र उनकी बहिनी अहिले स्वघोषित निर्वासनमा छन्।