क्रिकेट: यूएईमा सफलतापछि नेपालमा एकदिवसीय अन्तर्राष्ट्रिय कहिले होला

नेपाली क्रिकेट दर्शक
    • Author, निर‌ञ्जन राजवंशी
    • Role, बीबीसी नेपाली सेवा

दुई हप्ता लामो यूएई भ्रमणमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकदिवसीय र २० ओभरको अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला कब्जा गरेपछि दर्शकहरूको घरेलु मैदानमा एकदिवसीय श्रृङ्खला हुनुपर्ने अपेक्षा बढेको छ।

एकदिवसीय अन्तर्राष्ट्रियको विश्व वरीयताक्रममा उक्लिन नेपालले अरु खेल जित्नुपर्ने आवश्यकता छ। नेपालमा खेल्न सके जित्न सजिलो हुन्छ।

नेपाली क्रिकेटका समर्थक भानु सिग्देल भन्छन्, "संसारभरी नेपाली क्रिकेटका समर्थक छन्। नेपालमै एकदिवसीय अन्तर्राष्ट्रिय खेल हेर्ने हामी समर्थकहरूको अधिकार हो।"

तर नेपालका क्रिकेट मैदानहरू अन्तर्राष्ट्रिय स्तरको नभएकोले समस्या हुने अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसी प्रतिनिधिले बताएकी छिन्।

खेलाडीको हौसलाको कारण

दुबईस्थित आइसीसी एकेडेमी ओभलको घरेलु मैदानको नेपाल समर्थन दर्शकहरूको उपस्थिति यूएई टोलीको लागि बिल्कुलै फरक अनुभव थियो।

यूएईको आफ्नै मैदान भएपनि उनीहरूलाई समर्थन गर्ने दर्शकहरू शून्य थिए भने नेपाली दर्शकहरू सयौंको सङ्ख्यामा थिए।

दर्शकको उपस्थितिले नेपाली खेलाडीहरूले हौसला बढाउन सकेको देखियो।

कप्तान पारस खड्काले एकदिवसीय शृङ्खता जितेपछि दर्शकको साथलाई जितको एक कारक भनेका थिए।

क्रिकेट
तस्बिरको क्याप्शन, कीर्तिपुर क्रिकेट मैदान नेपालमा उपलब्ध सबैभन्दा स्तरीय मैदान हो तर यो पनि एकदिवसीय अन्तर्राष्ट्रियका लागि सुविधासम्पन्न छैन

"हाम्रो उत्साहको एउटा सबैभन्दा ठूलो कारक समर्थकहरू नै हुन्। जहाँ खेल्न गएपनि हामी समर्थन पाउँछौँ," खड्काले भनेका थिए।

कीर्तिपुरको त्रिवि हातामा रहेको क्रिकेट मैदानमा ओइरिने दर्शकहरू पनि नेपाली क्रिकेटको एउटा प्रमुख बल रहँदै आएको आइसीसीलाई राम्ररी थाहा छ।

त्यसैले नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट राष्ट्रको मान्यता पाएसँगै नेपालमै विदेशी राष्ट्रलाई निम्त्याएर प्रतियोगिता आयोजना गर्ने पहल भइरहेको बताइन्छ।

खेल मैदान

तस्बिर स्रोत, NSJF

नेपाल क्रिकेट संघ निलम्बनमा रहेको अप्ठेरो अवस्थामा त्यस्तो खेलको आयोजना गर्ने अधिकार आइसीसीसँग मात्र छ।

आइसीसीकी नेपाल प्रतिनिधि भावना घिमिरेका अनुसार कीर्तिपुर मैदान अझै पनि एकदिवसीयका लागि योग्य भइसकेको छैन।

नेपालको मैदानको हालत

घिमिरेले भनिन्, "मैदानको स्तरोन्नति आवश्यक छ भन्ने कुरा सबैलाई थाहा छ। पिचपनि राम्रो छैन। तर त्यसको निरीक्षण गर्न टोलीहरू आउने कुरा भइरहेको छ।

"त्यसपछि मात्रै त्यो एकदिवसीय खेल्न योग्य छ कि छैन भनेर थाहा हुन्छ।"

क्रिकेट समर्थकहरू क्रिकेट पूर्वाधार सुधार्न सरकारीस्तरमै सक्रियता र तत्परताको आवश्यकता देख्छन्।

सिग्देल भन्छन्,"नेपाल क्रिकेट संघ नभएको अवस्थामा सरकारले नै कीर्तिपुर र मूलपानी मैदानको स्तरोन्नती गर्नुपर्छ। कीर्तिपुर मैदानमा केही आधारभूत सुविधा थप्ने र सुरक्षा ब्यवस्था सुढृढ गर्नसके एकदिवसीयको लागि योग्य छ।"

अडिओ क्याप्शन सुरु हुँदैछ, 'फाप्ला रंगशालाको निर्माण कार्य अघि बढाऊ'

यूएईसँग तीन एकदिवसीय खेलेसँगै एकदिवसीय वरीयतामा नाम लेखाएको नेपाल अहिले पुछारमा १५ औँ स्थानमा छ।

टी-२० क्रिकेट वरीयतामा भने नेपाल आयरल्याण्डलाई पछि पार्दै १७ औं स्थानमा उक्लिसकेको छ।

नेपालको खेल सङ्ख्या थपिए र विजयी नतिजाहरू आए नेपाल वरीयतामा उक्लिँदै जानेछ।

अडिओ क्याप्शन सुरु हुँदैछ, पर्खाइमा क्रिकेट रंगशाला निर्माण